logo
२०८१ बैशाख १७ सोमवार



राजनीतिक दरारको पीडा

विचार/दृष्टिकोण |


राजनीतिक दरारको पीडा


 

डा. खगेन्द्र राई (साम्पाङ)

नेपालको राजनीतिक व्यवस्था राजतन्त्रात्मक रूपमा सुरु भएको देखिन्छ । जसअनुसार नेपाल (काठमाडौँ उपत्यका) बाट पहिलो राज्य व्यवस्थाको अस्तित्व किरात जातिले स्थापित गरेका थिए भन्ने बुझिन्छ । किरात वंशको राज्यपछि क्रमशः लिच्छवि, मल्ल र शाहवंशका राजाहरूबाट राज्य सञ्चालन भइआयो । त्यसरी यहाँ प्राचीनकालदेखि सुरु भएको राजतन्त्रात्मक व्यवस्था शाह वंशको समयमा विक्रम संवत् २०६५ सालमा मात्र अन्त्य भयो ।
राज्य एकीकरणपूर्वको राजनीतिक अवस्थालाई हेर्दा आजको सिङ्गो नेपालभित्र बाइसे, चौबीसेलगायतका विभिन्न स–साना र कमजोर राज्यहरू स्थापित थिए भन्ने बुझिन्छ । पछिल्लोकालमा गोरखाका राजा पृथ्वीनारायण शाहबाट विशाल नेपालको निर्माण गर्ने महŒवाकाङ्क्षाअनुरूप ती साना राज्यहरूलाई एकीकरण गरी आजको विशाल नेपाल स्थापना गरेपछि देशको राजधानी काठमाडौँ कायम गरियो । विशाल नेपाल निर्माणपछि देशमा शाह वंशको राज सुरु भएर १३ पुस्तासम्म करिब २५० वर्ष लामो राज्य शासन व्यवस्था कायम रह्यो ।
त्यसरी स्थापित शाहवंशीय राज्यकालको केही कमजोर अवस्थालाई मौका पारेर राणा (कुँवर)हरूले विसं १९०३ मा कोतपर्व घटनामार्फत राज्यको शासन शक्ति आफ्नो हातमा लिएपछि देशमा जहाँनिया राणा शासन १०४ वर्षसम्म कायम रह्यो । त्यही राणाहरूको एकतन्त्रीय शासन समाप्त गरी देशमा असल राजनीतिक व्यवस्था स्थापना गर्ने ध्येयले देशमा पहिलोपटक राजनीतिक आन्दोलन सुरु भयो । फलतः राजा र जनताको संयुक्त आन्दोलनको प्रयासबाट विसं २००७ मा जहाँनिया राणा शासनको अन्त्य भई देशमा बहुदलीय व्यवस्थाको स्थापना गरियो । तर, दलीय व्यवस्थाले जनइच्छानुसार काम गर्नको साटो दलगत स्वार्थ बढ्दै गएको भनी विसं २०१७ मा राजा महेन्द्रबाट दलीय व्यवस्थाको अन्त्य गरेर निर्दलीय शासन पञ्चायती व्यवस्था स्थापित गरियो । त्यो व्यवस्था करिब ३० वर्ष कायम रह्यो । तथापि, यस व्यवस्थाको विरोध बढ्दै गएपछि राजा वीरेन्द्रबाट विसं २०३६ मा बहुदलीय व्यवस्था कि निर्दलीय व्यवस्था उचित भन्नेसम्बन्धमा जनमतसङ्ग्रह गराउँदा जनमतअनुसार निर्दलीय व्यवस्था नै उचित भन्ने ठहर भयो । तर, जनमतसङ्ग्रहबाट स्थापित निर्दलीय व्यवस्थाप्रतिको नकारात्मक भावना हट्न सकेन । नेताहरूले जनतामा निर्दलीय व्यवस्थाको विरुद्धमा आन्दोलन गर्न जनतालाई जागृत गरिरहे । विसं २०५८ सालमा दरबार हत्याकाण्डबाट राजा वीरेन्द्रसहित राजपरिवारका वंशनाश भएपछि स्व. राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्रबाट राजगद्दी सम्हालियो । तर, देशमा शान्ति सु–व्यवस्था कायम भएन । देशमा आन्दोलन मच्चियो । राजतन्त्रको अन्त्य गरी पहिलोपटक गणतान्त्रिक व्यवस्था स्थापना गरियो । जुन गणतान्त्रिक व्यवस्थाको अभ्यासले एक दशक
नाघेको छ ।
यसप्रकार इतिहासकालदेखि वर्तमान अवस्थासम्म नेपालको राज्य शासनको महŒवाकाङ्क्षा परिवार र दलगत स्वार्थमा केन्द्रित हुँदै गएको देखिन्छ । जुन दलीय र व्यक्तिगत स्वार्थका कारण देशमा विकास तथा समृद्धिको साटो आपसी राजनीतिक दरार सुरु गयो । प्राचीन राजवंश गोपाल, महिषपाल, किरात, लिच्छवि, मल्ल र शाह वंशका राज्य व्यवस्थाहरू पनि आपसी राज्य सत्ताको दरारबाटै स्थापित हुँदै आएका हुन् । तर, उसबेलाका राजनीतिक दरारहरू वंशगत र पछिल्लोकालमा दलगत रूपमा थिए । किन भने एक वंशको शासन खोसेर आफ्नो वंशको शासन स्थापना गर्नु थियो । पछिल्लोकालमा दलगत र व्यक्तिगत स्वार्थ बढ्दै गएपछि त्यसैबाट राजनीतिक दरार बढ्दै गएका हुन् ।
गणतान्त्रिक व्यवस्थाको दोस्रो संसदीय निर्वाचनको सङ्घारमा आइपुग्दा कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले आफूहरूले सोचेअनुसार पर्याप्त सिटहरू जित्ने सम्भावना नदेखेपछि आपसी मिलापमा आ–आफ्नो दललाई मेटाएर एउटै नयाँ दल स्थापना गरे । त्यसरी यी दुई दलहरू कम्युनिस्टकै खोल भए तापनि उत्तरी ध्रुव र दक्षिणी धु्रवका जस्ता देखिने व्यवहार थिए । एउटै दलमा सहभागी भए पनि आपसी स्वार्थगत शक्ति विवादको दरारले कुनै पनि समयमा फुट्ने निश्चितै हो । एउटै दल बनाएर आपसमा खिचातानीको दरार जोगाउन दुई अध्यक्षको व्यवस्था गरेको भए तापनि पछिल्लोकालमा नेतृत्वको व्यक्तिगत व्यवहारका कारण दुई अध्यक्षबीचको दरारले उत्कर्षको चुली नाघ्न लागेको र पार्टी विभाजनको सङ्घारमा पुगेको आभास देखिन्छ । यस्तो दरारबाट उत्पन्न हुने राजनीतिक अस्थिरताका कारण आमनागरिकले चाहेको समृद्धिको चाहनामा गम्भीर ठेस लाग्नेछ । यसरी दलीय तथा व्यक्तिगत दरारले देशलाई पिरोल्नु भनेको देश र नागरिकलाई नेताहरूबाट घात
हुनु हो ।
अतः नेपालको प्राचीन इतिहास गोपाल, महिषपाल, किरात, लिच्छवि, मल्ल र शाह वंशको राज्य शासनकै समयदेखि आपसी शक्तिको खिचातानीको दरार देखिए तापनि ती दरार राज्य शासन सत्तामा आफ्नो वंशमा निहित गर्ने थिए भने २००७ पछि दलीय शक्ति प्राप्तिका लागि आपसी दरार मच्चाउने गरेको देखिन्छ । तर, पछिल्लोकालमा दलगत दरार केवल व्यक्ति–व्यक्तिमा निहित भई उत्कर्षमा पुगेको देखिन्छ । जसकारण पहिले दुई दल एक भए पनि फेरि अलग–अलग हुने अवस्थामा पुगेको देखिन्छ । यस्तो दलगत वा व्यक्तिगत स्वार्थबाट उत्पन्न दरारले देशको समृद्धिलाई पछाडि धकेल्ने नभएर पटक–पटकको जनआन्दोलन र हजारौँको बलिदानलाई नै उपहास गर्ने कुरामा विवाद छैन । यसकारण दल र दलका नेता भनिएकाहरूले सधैँ आफ्ना व्यक्तिगत स्वार्थपूर्तिका लागि आपसी दरारले देशलाई पिरोलिरहने हो भने देशमा यस्तो राजनीतिक प्रणाली आवश्यक छ कि छैन भन्नेसम्बन्धमा बहस गर्नुपर्ने अवस्था आउन सक्नेछ । 
(लेखक अधिवक्ता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?