logo
२०८१ बैशाख १७ सोमवार



बहसमा खुवालुङ

विचार/दृष्टिकोण |


बहसमा खुवालुङ


डा. खगेन्द्र राई (साम्पाङ)

नेपाल भौगोलिक रूपमा धेरै विशाल छैन । तर, यहाँ बसोवास गर्ने विविध जातजाति, धर्म, भाषा, संस्कार, संस्कृति, प्रथा–परम्परा विशाल रहेका छन् । त्यही भएर यिनै विविधताभित्रका अनेक पक्षमा समय–समयमा कुनै न कुनै विवाद देखापर्ने गर्छ । त्यसैको एउटा उदाहरण किरातले आफूहरूको एक प्राचीन धार्मिक थलो मानेको ‘खुवालुङ’ पनि हो । यसबारे केही समय निकै ठूलो बहस भयो, जुन अहिल पनि जारी छ ।
भौगोलिक अवस्थिति हेर्दा यो ‘खुवालुङ’ देशको पूर्वी क्षेत्रमा पर्ने मुख्यतः उदयपुर, भोजपुर र धनकुटा जिल्लाको दक्षिणी सिमानातिर सुनकोसी, अरुण र तमोर नदीको संगमस्थलमा थोरै सुनकोसी नदीतर्फ अवस्थित एउटा ढुङ्गाका रूपमा रहेको देखिन्छ । खुवालुङ खुवाल यो ‘खुवालुङ’का बारेमा समय–समयमा विवाद चर्कनुको प्रमुख कारण भनेको राज्यको तर्फबाट कोसी नदी हुँदै पहाडी भेगतिर जलमार्गमार्फत यातायात व्यवस्था सञ्चालन गर्ने र त्यसका लागि ‘खुवालुङ’ बाधक भएको भन्ने थियो । किरात समुदायका जातिले त्यो ‘खुवालुङ’ आफूहरूको प्राचीन पुर्खाले पुजेर राखेको ऐतिहासिक र धार्मिक प्रतीक भएकाले यसलाई फुटाउने, मास्ने होइन, संरक्षण सम्बद्र्धन गर्नुपर्छ भन्दै आएका छन् । यसो हुँदा किरात समुदायले राज्यको यो नीतिलाई आफूहरूको धार्मिक तथा इतिहासमाथि राज्यको तर्फबाट दमन गरिएको मान्छन् भने राज्यको तर्फबाट किरात समुदायलाई राज्यको नीति र विकासको बाधक मान्ने गरेको बुझिन्छ ।
वास्तवमा के हो त ‘खुवालुङ’ ? लिखित रूपमा कुनै दस्तावेज नपाइने भएकाले किरातको प्राचीन कुराको प्रमुख स्रोत भनेकै कुबिमी÷नक्छो÷बिजुवा (धामी) नै हुन् । कुबिमी (साम्पाङभित्र)का अनुसार सुम्निमा पारुहाङले यस संसारमा मानव सृष्टि गरेपछि सल्पा र रिब्रिमाका तीन सन्तान भए । उनीहरू मुकामबुङ, हर्कबुङ र रिबल्बुङ हुन् । उनीहरूले बसोवासका लागि उचित स्थान खोज्दै हिँड्नेक्रममा अहिले विवादमा रहेको ढुङ्गालाई देखे र अब यही ‘खुवालुङ्’ पार गरेर जानुपर्छ भन्ने निधोमा पुगे ।
‘खुवालुङ’को अर्थ जुन ढुङ्गाको रङजस्तो छ, त्यही हो । अलि टल्कने पारदर्शी सेतो ढुङ्गालाई रुवालुङ भन्छन् । तर, यो ढुङ्गा न त चम्कने पारदर्शी नै थिए, त्यसैले ‘खुवालुङ’ भनेको हुनुपर्छ । किनभने खुवाको अर्थ हुन्छ न खैरो न सेतो र लुङको अर्थ ढुङ्गा हो । त्यसरी ‘खुवालुङ’ पार गर्न भने धेरै अप्ठ्यारो भएकाले अगाडि जानेलाई पछाडिकाले ‘कसरी ‘खुवालुङ’ पार गरेर गयौ ?’ भनेर सोध्दा कसैले बाख्रा त कसैले कुखुराको बलि दिएर पार ग¥यौँ भन्ने जवाफ दिए । त्यसपछि साम्पाङले पनि जुरेली चरा बलि दिएर ‘खुवालुङ’ पार गरे भनिन्छ । त्यसरी ‘खुवालुङ’ पार गरेपछि कोही सुनकोसी नदीलाई आधार लिएर अघि बढे र उनीहरूलाई सुनुवार भनियो । अरूण नदीलाई आधार लिएर अघि बढेकालाई राई भनियो र तमोरखोलातर्फ जानेलाई लिम्बू भनियो भन्ने विश्वास रहेको छ । आखिरमा सबै ‘खुवालुङ’ पार गरिसकेपछि मात्र आइपुगेका रिबल्बुङले अगाडि जानेहरू धेरै पर गइसकेकाले ‘खुवालुङ’ कसरी पार गर्ने भनेर सोध्न पनि नभ्याएको र आफैँ पनि पार गरेर जान नसकेकाले उनीहरूको बसोवास तराईतिरै हुन गयो, जसलाई अहिले धिमाल, थारू र दनुवार भनिन्छ भन्ने विश्वास रहेको पाइन्छ ।
यसरी विशेषगरी किरात समुदाय राईहरू ‘खुवालुङ’सँग प्राचीन र पहिलो धार्मिक पूजा नै प्रकृति ढुङ्गाबाट सुरु गरेको देखिन्छ । यसैप्रकारले किरातले ढुङ्गा, खोलानाला, वन–जङ्गल, नागनगेनीजस्ता प्रकृतिको पूजा गर्ने गर्छन् । यसबाट पनि उनीहरूको सुरुवाती अवस्थादेखि नै प्रकृतिपूजक हो भन्ने ठहरिन्छ । यही पूजाबाट उनीहरूमा धार्मिक आस्था र संस्कार सुरुवात भएको अनुमान गर्न सकिन्छ । अहिले पनि कुबिमीले कुनै पनि धार्मिक संस्कारका कार्यहरू गर्दा मुन्दुमी प्रक्रियाअनुसार तन्त्रमन्त्र विधिबाट विभिन्न स्थान हुँदै ‘खुवालुङ’ नपुगी सम्पन्न हुँदैन भन्ने विश्वास रहेको छ । यही कारणले उनीहरू आफूहरूको प्राचीनकालीन धार्मिक र साँस्कृतिक आस्थाको थलो ‘खुवालुङ’को सधँै संरक्षण गर्न चाहन्छन् । तर, यता राज्य विकासको नाममा किरातीको त्यस आस्था र विश्वासको केन्द्रलाई तोड्न चाहन्छन् । अहिलेको विवादको जड नै यही हो । यद्यपि, यसबारे प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ फुटाउने हैन यसको संरक्षण गर्ने हो’ भनेर प्रदेशसभामै स्पष्ट भनेपछि विवाद साम्य भएको छ ।
राज्यले कानुनबाटै आफ्ना नागरिकको धार्मिक, सामाजिक, साँस्कृतिक, भाषिक आदि पहिचानका कुरा संवैधानिक रूपमै संरक्षण गर्ने भनेर मौलिक हकको प्रत्याभूति गरेको अवस्था छ । जसअनुसार वर्तमान नेपालको संविधानको धारा २६ को (१) मा, ‘धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुने छ’ भनिएको छ । यसैगरी, सोही धाराको उपदफा (२) मा, ‘प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ’ भनिएको छ । यसैगरी भाषा तथा संंस्कृतिको हकमा सोही संविधानको धारा ३२ को उपधारा (३) मा, ‘...प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्बद्र्धन र संरक्षण गर्ने हक हुनेछ’ भनी संविधानबाटै मौलिक हकको प्रत्याभूति गरिएको छ । त्यसैले पनि खुवालुङ संरक्षण हुन जरुरी छ ।
‘खुवालुङ’ किरातहरूको धार्मिक स्थल पनि हो, संस्कार, संस्कृति र सभ्यताको केन्द्र पनि हो । यसकारण यदि राज्यले साँच्चै नै किरात समुदायको प्राचीनकालदेखिको धार्मिक र साँस्कृतिक आस्थाका केन्द्रमा कुनै क्षति पु-याउने गतिविधि भयो भने राज्यले वास्तवमै आफूइतरका नागरिकलाई उपेक्षा गरेकै हो भन्ने पुष्टि हुनेछ ।
प्रचीनकालदेखि नै किरातसँग धार्मिक र साँस्कृतिक नाता जोडिएको त्यस ‘खुवालुङ’ ढुङ्गा के–कति प्राचीन हो ? त्यसैसँग सम्बन्धित किरातको प्राचीनता कति हो ? भनेर ‘खुवालुङ’को भौतिक र वैज्ञानिक अध्ययन गर्नुपर्छ भन्ने अभिव्यक्ति पनि आउन थालेको पाइन्छ । त्यसरी वैज्ञानिक ढङ्गबाट अध्ययन अनुसन्धान गरेर तथ्यगत कुरा पत्ता लगाउनु उचित कुरा हो । तर, त्यसप्रकारको अध्ययन अनुसन्धान एकल व्यक्ति वा संस्थाले मात्र गर्न हुँदैन । जसका लागि विभिन्न किरातजन्य सङ्घ, संस्था र राज्यसँगको संयुक्त सहभागितामा मात्र त्यो अध्ययन हुनुपर्छ किनभने भोलिका दिनमा प्रतिलिपि अधिकारको लडाइँमा कोही पनि होमिन नपरोस् । यस कुराका लागि पनि सबै चनाखो रहन जरुरी छ ।
अतः भत्काउने र संरक्षण गर्ने दुई धारको विवादमा रहेको ‘खुवालुङ’ किरातको प्राचीन धार्मिक तथा साँस्कृतिक पहिचानको ऐतिहासिक प्रतीक हो भन्नेमा विवाद छैन । यसलाई विवादमा तानेर होइन, राज्य र सम्बन्धित जातिगत संस्था साथै व्यक्तिको संयुक्त पहलमा नासिन, मासिन र विचलन हुनबाट जोगाउनु सबैको जिम्मेवारी हो । 
(लेखक साँस्कृतिक अभियन्ता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?