उर्लाबारी समाचारदाता
उर्लाबारी, मङ्सिर २५ गते । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरमा रहेर संघर्षपूर्ण जीवन यापन गर्दै स्वरोजगार बन्न सफल छ जना महिलाहरूलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा वडा नम्बर ३ की आशा बराइली, ४ की हरिमाया राई, ७ की इन्द्रकुमारी राई, ८ की तीर्थकुमारी विष्ट, ९ की सन्दिपा धिमाल र १० की उमा विश्वकर्मा हुनुहुन्छ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बुधबार नगरको कीर्तिपुर बजारमा आयोजित कार्यक्रम उहाँहरू न्यानो कपडा सहित सम्मान गरिएको हो । ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति, समाज र सवैको ऐक्यवद्धता’ को मुल नारा सहित अभियानको अन्तिम दिनका रुपमा आयोजित कार्यक्रममा प्रदेश सांसद कृष्णकुमारी राईले यसखाले हिंसा अन्त्य गर्न सवैको सहकार्य आवश्यक रहेको बताउनु भयो । राईले महिलाहरुको थप जागरणबाट महिला हिंसा सहितका लैगिक हिंसा अन्त्य हुने धारण राख्नुभयो ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, नगर प्रमुख दिलीपकुमार राई, वडा नम्बर १ का अध्यक्ष बाबुराम एङदेन, ७ का अध्यक्ष कपिलमणि ढकाल, समाजसेवी सीता रायामाझी, बाल अभियानकर्मी सञ्जिव भण्डारीले मन्तव्य व्यक्त गर्नुभयो । उता लेटाङमा आयोजित कार्यक्रममा तत्कालिन लेटाङ गाउँ पञ्चायतका प्रधानपञ्च नीरबिक्रम किराँती, गाविस अध्यक्ष चन्द्रप्रसाद गौतम् , महिला अधिकारकर्मी शान्ति पाख्रिन लगायतलाई सम्मान गरियो ।