शिवशङ्कर मिश्र
बारा, माघ १६ गते । कलैया उपमहानगररपालिका–७ बैरिया टोलका ३२ वर्षीय रामकिशोर रामले यस वर्ष तीसवटाभन्दा बढी सरस्वतीको मूर्ति बिक्री गर्नुभयो । एक महिनाको मिहिनेतले लाखौँ रुपियाँ कमाउने लक्ष्य उहाँको छ । ग्रामीण भेगका कालिगढले शहरी क्षेत्रमा आएर सिजन अनुसार सरस्वती, विश्वकर्मा, दुर्गा, गणेश लगायतका मूर्ति बनाएर राम्रो आम्दानी गर्नुहुन्छ
उहाँ कामको खोजीमा हुनुहुन्थ्यो तर कुनै सोचे जस्तो रोजगारी मिलेन त्यस छि यस्तो मूर्ति बनाउने सोच आयो । विगत आठ वर्षदेखि रामले बिना गुरु आफैले विभिन्न सिजनमा माटोको मूर्ति बनाएर आठ जनाको परिवार पाल्दै आउनुभएको छ ।
यस्तै सोही ठाउँ वडा नम्बर–१ बस्ने सुरेन्द्रप्रसादले यसपाली ५० वटाभन्दा बढी सरस्वतीको मूर्ति बनाउनुभयो । एउटा मूर्ति दुईदेखि तीन हजार रुपियाँसम्म विक्री हुन्छ
यसैगरी पर्सा धोबिनी गाउँपालिका–६ लंगडी टोल निवासी नरेश बैठाले वीरगंजमा यसवर्ष तीन जनाको समूहमा सामूहिक सयभन्दा बढी सरस्वतीको मूर्ति बनाएर थोरै मिहिनेतले तीन लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेको बताउनुभयो ।
कम्तिमा डेढ हजारदेखि २५ हजारसम्मको सरस्वतीको मूर्ति सरकारी स्कूल तथा निजी विद्यालयहरुका विद्यार्थीलाई बिक्री गर्ने सम्झौता दैनिक भइरहेको बैठाले बताउनुभयो ।
यसैगरी सोही ठाउँ भिखमपुर निवासी कमलेश महतोले पनि रानीघाटमा ५० बढी सरस्वतीका मूर्ति बनाउनुभएको छ । मूर्तिको आम्दानीबाट नै ५ जनाको परिवार पाल्दै २ छोरी तथा एक छोरालाई निजी विद्यालयमा पढाइरहेको महतोले बताउनुभयो ।
सरस्वतीको मूर्ति बनाउने कार्यमा महतो, बैठा मात्र नभएर उनीहरु जस्तै कलैया, वीरगंज लगायतका ठाउँमा नेपाली तथा भारतीय कालिगढहरुले सिजन अनुसार मूर्ति बनाएर परिवार पालेर राम्रो आम्दानी गर्दै आएका छन् ।
यसरी प्रत्येक सिजनमा कलैया, वीरगंज, गौर लगायतका ठाउँमा सरस्वती, विश्वकर्मा, दुर्गा भवानी, गणेश लगायतका माटो तथा सिमेन्टका मूर्ति बनाएर स्थानीय (मूर्तिकार) कालीगढहरुले आम्दानी गर्ने गरेका छन् ।
कमाउनेले जसरी पनि थोरै लगानीमा मिहिनेत परिश्रम गरे विदेशभन्दा आफ्नै मुलुकमा हजारौ, लाखौ आम्दनी गर्न सकिने धेरै यस्ता उदाहरण भेटिने गरेका छन् ।
क्याप्सनका लागि कलैया उपमहानगररपालिका–७ का रामकिशोर राम मूर्ति बनाउँदै ।