चाँदनी आचार्य
लम्की (कैलाली) चैत्र २४ गते । कैलालीको घोडाघोडी नगरपालिका ७ करैचा गाउँमा रहेको अल्पना चौधरीको घर पुग्दा भर्खरै अस्पतालबाट घर आउनुभएकी अल्पनाको दुबै हात काटिएका थिए । काखमा डेढ बर्षीया छोराले दूध चुसिरहेका थिए । नजिकै उभिएका श्रीमानले बोत्तलबाट अल्पनालाई पानी खुवाउँदै हुनुहुन्थ्यो ।
एका बिहानै रक्सीले मातेका उनका श्रीमानको नशाका कारण बोलेको बुझ्न गारो थियो । नजिकै पिँढीमा अल्पनाकी वृद्ध सासु गहभरी अाँसु लिएर एकोहोरो टोलाइरहनुभएको थियो ।
यो दृश्य हो गत पुसमा आगो ताप्ने क्रममा आगोमा परेर दुबै हात गुमाउनुपरेको अल्पना चौधरीकाे । घरमा राती आगो ताप्दै गरेकी अल्पना त्यही रात आगो ताप्ने क्रममा दुबै हात जलेपछि अहिले छोरालाई सुम्सुमाउने ती हात सधैका लागि गुमाइसक्नुभएको छ ।
घटनाको दिनलाई सम्झदै कल्पनाले पुस १३ गते साँझ श्रीमान , सासु र आफूले खाना खाएपछि सासु छिमेकीको घरमा गएको र श्रीमान पनि गाउँमा गएपछि आफूले आगो ताप्दैगर्दा घटना भएको बताउनुभयो ।
घटनाको त्यो रात सम्झँदै कल्पनाले भन्नुभयो ‘छोरालाई काखमा राखेर दूध खुवाउँदै आगो ताप्दै थिएँ एक्कासि रिंगाटा लागे जस्तो भयो अनि मैले केही थाहा पाइँन, पछि होस आउँदा छोराको टाउको जलेछ मेरो दुबै हात पूरै जलेछ ।’
छारे रोगकी बिरामी अल्पना बेहोसमै रहेकी र छोरा रोएको आवाज सुनेपछि मात्र छिमेकी र सासुले उनीहरुलाई आगोबाट निकालेका थिए ।
अल्पना र उनको छोरा आर्यनको जलेको घाउको उपचारका लागि स्थानीय अस्पतालदेखि नेपालगञ्ज कोहलपुर हुँदै काठमाण्डौ सम्म नपुगेको भने होईन आर्थिक अभावका कारण उपचारको माया मार्दै घरमा बस्न बाध्य भएको अल्पनाले बताउनुभयो ।
जलेको घाउको लामो समय उपचार नहुँदाको पीडालाई अल्पनाले यसरी सुनाउनुभयो ‘जलेको तीन महिनासम्म घरमै बस्दा एका तिर छोरा छट्पटाएर रुने गर्दथ्यो भने अर्कातिर मेरो हात पाकेर दिनप्रतिदिन दुःख सहनै मुस्किल भएको थियो ।’ लामो सासफेर्दै उहाँले अगाडि थप्नुभयो ‘मर्छु की सोचेको थिए बाँचे दुैबै हात काटिए पनि दुखाई र पोलाईको पीडा त कम भएको छ ।अब अगाडि को जीवन कस्तो हुन्छ सम्झदा भक्कानो छुट्छ ’एक्कासि भक्कानिनुभयो ।
अस्पतालमा पुनः परीक्षणका लागि एकमहिना पछि बोलाएको बताउने अल्पनाले भन्नुभयो ‘श्रीमान सधैं रक्सी खानुहुन्छ बुढी सासु हुनुहुन्छ छोरा र म आफै बिरामी छौँ अहिलेसम्म त सहयोगी संघसंस्थाले गर्दा यहाँसम्मको उपचार भयो अब कस्ले सहयोग गर्छ थाहा छैने ।’
५ कट्ठा ऐलानी जमिन र सानो घर बाहेक सम्पति नरहेको अल्पनाको परिवारमा श्रीमान ज्यालामजदुरी गर्न गए पनि उहाँले कमाएको आफैले रक्सी खाएर सक्ने गरेको परिवारको गुनासो छ ।
सासु बुहारिले घरमै खनीखोस्री गरेर जसोतसो गुजारा चलाउने गरेका थिए । बुहारीको दुबै हात गुमेपछि अब अल्पनाको सासुलाई खानाको जोहो गर्ने कि बुहारी र नातिको हेरचाह गर्ने भन्ने चिन्ताले पिरोलिरहन्छ ।
नेपाली भाषा बोल्न समेत नजान्ने अल्पनाको ७० बर्षीया सासु भुक्नीदेवी चौधरीले आफू पनि बृद्ध भैसकेको र छोराको पनि भर नभएकाले उपचारमा जसरी संघसंस्थाले सहयोग गरे त्यसैगरी कृतिम हात हाल्न सहयोग गरिदिए दुःखी गरिब परिवारको उद्धार हुने बताउनुभयो ।
आर्थिक अभावमै उपचार नपाई घरमै बसेकी अल्पनाको बारेमा विभिन्न सञ्चारमाध्यम र सहयोगी व्यक्तिहरुको पहलमा काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उनको र डेढ बर्षीय छोराको तीन महिनापछि आप्रेसन सम्भव भएको थियो ।
लामो समयपछि उपचार गराउँदा जलेको घाउँमा पाकेर भित्रसम्म संक्रमण भएपछि हातै काटेर फाल्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ ।
ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने अल्पनाको परिवारमा आर्थिक अभाव भएकै कारण उपचारमा ढिलाइ भएको अल्पनाको जेठानी फुलमाया देवी डंगौराले बताउनुभयो । छोराको टाउकोमा समेत गहिरो घाउ भएकाले अप्रेसन भएपनि घाउ पुरिन र थप उपचारका लागि रकमको खाँचो रहेको परिवारले बताएका छन् ।
‘आफूसँग भएको डेढ दुईलाख पहिला नै यता र उता गर्दा गर्दै सकियो अब कुनै उपाय छैन नगरपालिका संघसंस्थाले सहयोग गरे केही हुन्थ्यो कि’ अल्पनाकी सासु भुक्नीदेवीले भन्नुभयो ।
थप उपचार र कृत्रिम हात लगाउन एसओएस बालग्रामले पहल गर्ने
आगोबाट जलेर समयमै उपचार नपाई दुबै हात गुमाएकी अल्पना चौधरी र उनका डेढ बर्षीय छोरा आर्यनको थप उपचारका लागि एसओएस बालग्राम नेपालले जिम्मा लिने बताएको छ ।
एसओएस बालग्राम धनगढीका निर्देशक पदम हमालले अल्पनाको घरमै पुगेर उनको बारेमा बुझेपछि अल्पनाको काठमाडाैंमै थपउपचार र कृत्रिम हात हाल्नका लागि एसओएसबाट पहल हुने बताउनुभयो ।
यसअघि कल्पनाको बारेमा जानकारी पाएपछि एसओएस बालग्राम सानोठिमिले अस्पतालसँग समन्वय गरी अल्पना र आर्यनको उपचार निःशुल्क गराउन पहल गरेको बताउँदै निर्देशक हमालले अझै पनि पीडितको फलोअप उपचारमा सहयोग गर्नुका साथै कृत्रिम हात राख्न पहलग र्ने बताउनुभयो ।
पीडितका बारेमा जानकारी गराउने सञ्चारमाध्यम र उपचारमा सहयोग गर्ने अस्पताललाई धन्यबाद दिदै निर्देशक हमालले उपचारबाट निको भएपछि पनि बच्चाको शिक्षाको सम्पूर्ण जिम्मेवारी एसओएस बालग्राम नेपालले लिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
‘घरको अवस्था दुःखदायी नै रहेछ सेन्सरसहितको कृत्रिम हात राख्न सकिएमा अल्पनाले सामान्य हातले गर्ने काम गर्न सहज हुनेछ ’ निर्देशक हमालले बताउनुभयो ।