logo
२०८१ बैशाख ११ मंगलवार



नयाँ दुलहीले मनाउने मधुश्रावणी पर्व सुरु

प्रदेश |
समाज |


नयाँ दुलहीले मनाउने मधुश्रावणी पर्व सुरु



माला कर्ण
सप्तरी, साउन १३ गते । मिथिलाञ्चल क्षेत्रका नवविवाहिता महिलाले मनाउने मधुश्रावणी पर्व बुधबारदेखि सुरु भएको छ । १५ दिनसम्म मनाइने यो पर्व विशेष गरी ब्राह्मण, कायस्थ र सोनार जातिका नवविवाहिताहरुले मनाउने गर्छन् ।
यस पर्वमा बेहुलीहरुले एक दिन पहिले टिपेर ल्याएको फूलले बिषहाराको (नागनागिन) प्रतिमा स्थापना गरी पूजा अर्चना गर्ने गर्छन् । पर्व मनाउने नवविवाहिताले १५ दिनसम्म चोखो भई बस्नुपर्ने हुन्छ । नुन, लसुन र प्याज समेत खान नपाइने र अरु नियमहरु पनि पालना गर्नुपर्ने भएकाले बेलुहीहरुको लागि यो पर्व कठोर मानिन्छ ।
यो पर्वको अवधिभर बेहुलीहरुले माइतीबाट ल्याएको अन्नमात्र खाने परम्परा रहेको छ भने लुगा पनि माइतीलेनै दिएको लगाउनुपर्छ । पर्व सुरु हुनुभन्दा एक दिन पहिलै पूजा सामग्री, बेहुलीको लागि भोजन अन्न, वस्त्रलगायतका कुरा माइतीले कोसेली (भार) को रुपमा पठाउँछन् ।
पूजाको बेला बेहुलीहरुले नाग नागिन, शिव पार्वतीका विभिन्न समयमा भएको लिलाहरुको वर्णनको कथाहरु सुन्ने गर्छन् ।
साउनमा सर्पको बिगबिगी बढ्ने भएकाले सर्प (नागनागिन) को पूजा गर्नाले श्रीमान्माथि कुनै प्रकारको संकट नआउने विश्वासका कारण बेहुलीहरुले पूजा गर्ने गर्छन् । त्यस्तै महिलालाई यस पर्वको अन्तिम दिन अर्थात मधुश्रावणी भनिने १५ औं दिन बलिरहेको दियो (टेमी) ले दाग्ने प्रचलन रहेको समेत कर्णले बताउनुभयो ।
फोटो क्याप्सन ः मधुश्रावणी पूजागर्दे नवविवाहिता। तस्विर ः माला कर्ण

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?