logo
२०८१ बैशाख २३ आईतवार

  दृश्य समाचार  



मूर्ति बगैँचामा २५ फिट अग्लो बुद्ध मूर्ति निर्माण

प्रदेश |


मूर्ति बगैँचामा २५ फिट अग्लो बुद्ध मूर्ति निर्माण


राममणि दाहाल
हेटौँडा, साउन १६ गते । हेटौँडा उपमहानगरपालिका वडा नं. १८ को गुम्बाडाँडास्थित मूर्ति बगैँचामा २५ फिट अग्लो बुद्धको ढुङ्गाको मूर्ति निर्माण गरिएको छ ।
पर्यटकीय पार्क मूर्ति बगैँचामा समुदायको सहभागितामा ३० टन बराबरको ढुङ्गाको शाक्यमुनि गौतम बुद्धको मूर्ति निर्माण गरिएको हो ।


बुद्धमूर्ति निर्माण समन्वय समितिका संयोजक कमलचन्द्र सुमनले ललितपुरको बालकुमारीका मूर्तिकार अमर शाक्यले ढुङ्गामा बुद्ध भगवानको मुखाकृति कुँदेको जानकारी दिँदै ढुङ्गाको नेपालकै दोश्रो ठूलो बुद्ध मूर्ति निर्माणमा दुई करोड रुपियाँ खर्च भइसकेको र थप २५ लाख लाग्ने बताउनुभयो ।
गुम्बाडाँडामा निर्माण गरिएको बुद्ध मूर्ति परिसरमा नौ वटा स्तुपा निर्माणसँगै ९० केजीको घण्ट राखिने भएको छ । शाक्यमुनि गौतम बुद्धको मूर्ति निर्माण गर्न मूर्तिकार शाक्यसँग ४५ लाख रुपियाँमा सम्झौता भएको थियो ।
काठमाडौँका समाजसेवीहरु सूर्यवज्र लामा, सम्पूर्णकुमार लामा, दुर्गामान शाक्य, शान्तरत्न शाक्य, किरणरत्न शाक्य, राजेश्वरी श्रेष्ठ, डा. वसन्तमान श्रेष्ठ, सुभाषराज शाक्य र हेटौँडाका ज्योतिरत्न ब्रजाचार्यबाट मूर्ति निर्माणका लागि करिब दुई करोड बढी जुटाइएको थियो ।
यस्तै, ‘कलागाउँ’ को पहिचान बनाउँदै गरेको गुम्बाडाँडामा २०६९ सालमा हर्नामाडी कला प्रतिष्ठानद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा छ जना विदेशी र नेपालीसहित २३ मूर्तिकारले कुँदेका २३ वटा मूर्त र अमूर्त मूर्ति रहेका छन् । हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलले गत वर्ष भएको राष्ट्रिय मूर्तिकला कार्यशालामा मूर्तिकारहरुबाट कुँदेका ११ वटा मूर्त र अमूर्त मूर्ति ज्योति माध्यामिक विद्यालय परिसरमा रहेको जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा कलाकार लक्ष्मण भुजेल, डा. तारालाल श्रेष्ठ, प्राज्ञ ओम खत्रीको महत्वपूर्ण योगदान रहेको बताउँदै रम्तेलले हर्नामाडीलाई कलागाउँको रुपमा स्थापित गर्न अध्यापनसमेत सुरु गर्ने तयारी गरेको बताउनुभयो ।
विद्यालयले ११ र १२ कक्षामा ललितकला अध्यापन गर्ने गरी स्वीकृतिसमेत प्राप्त गरिसकेको छ । विद्यालयका अध्यक्षसमेत रहनुभएका रम्तेले चालू शैक्षिक शत्रबाट अध्यापन सुरु गर्ने तयारी गरेपनि कोरोना कहरका कारण असम्भव भएको बताउँदै आगामी शैक्षिक शत्रबाट अध्यापन थालिने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?