logo
२०८० चैत्र १६ शुक्रवार



लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन गर्न विपक्षी दलहरुको आग्रह

प्रदेश |


लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन गर्न  विपक्षी दलहरुको आग्रह


छवि पाण्डे 
बुटवल, साउन १८ गते । लुम्बिनी प्रदेशमा काँग्रेससहितका विपक्षी गठवन्धन दलका सांसदहरुले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखसँग आग्रह गरेका छन् ।

सोमवार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर दलका सांसदहरुले १६८ को २ अनुसार नयाँ सरकार गठन गर्न समावेदनसहित माग गरेका हुन् ।

गठवन्धनले मुख्यमन्त्री नेतृत्वको वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा १ बमोजिम गठन भए पनि सरकार संयुक्त रहेको र त्यो अवैधानिक र अल्पमतमा परेकाले २ बमोजिम सरकार गठन गर्न माग गरेका हुन् ।

विपक्षी गठवन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले संविधान, मूल्य मान्यता, विधि अनुसार सरकार गठन नभएकाले संविधानको १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रक्रिया अघि बढाउनु माग गरेका हुन् ।

लुम्बिनी प्रदेश सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले ज्ञापनपत्र बुझाउँदै प्रदेश सभामा कुनै पनि दलको बहुमत नरहेकाले संविधानको १६८ को उपधारा २ बमोजिमको सरकार गठन गर्न माग गर्नुभयो । प्रदेश सभामा विपक्षी गठबन्धनमा रहेका ४१ सांसदले हस्ताक्षर गरेको पत्र बुझाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?