logo
२०८१ जेष्ठ ६ आईतवार



खोपको दोस्रो मात्रा नपाएको गुनासो

प्रदेश |


खोपको दोस्रो मात्रा नपाएको गुनासो


हुम्ला समाचारदाता

हुम्ला, साउन २१ गते । हिमालपारिको गाउँ लिमीका ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको दोस्रो मात्रा खोप नपाएको गुनासो गरेका छन् । चार महिनाअघि कोभिसिल्डको पहिलो मात्रा लगाएको भए तापनि अहिलेसम्म दोस्रो डोज लगाउन नपाएपछि उनीहरूले गुनासो गरेका हुन् ।
नाम्खा गाउँपालिका–६, लिमीको हल्जी गाउँका ६४ वर्षीय फुर्बु तामाङले कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाए तापनि दोस्रो मात्रा लगाउन नपाएको गुनासो सुनाउनुभयो । उहाँले पहिलो डोज लगाएको चार महिना भइसक्दा पनि दोस्रो डोज लगाउने कुनै ठेगान नभएको हुँदा खोप लगाउने व्यवस्था गरिदिन माग गर्नुभयो ।
लिमीकै अर्का स्थानीय जाङ्मु तामाङले कोरोनाविरुद्धको दोस्रो मात्राको व्यवस्था गरेर पूर्ण खोप लगाउने नागरिकका रूपमा उभ्याउन माग गर्नुभयो । उहाँले नसोचेको बेला पहिलो चरणको खोप गाउँमा लगाउन पाएको बताउँदै अब दोस्रो मात्रा पनि त्यसरी नै उपलब्ध गराउन आग्रहसमेत गर्नुभयो । दोस्रो मात्राको खोप लगाएर कोरोनाबाट ढुक्क भई बस्ने वातावरण मिलाइदिन सरोकारवाला पक्षसँंग लिमीवासीले माग गरेका छन् ।

वडा अध्यक्ष पाल्जोर तामाङले लिमीका ६० देखि ६४ वर्ष उमेरका दुई सय जना ज्येष्ठ नागरिकले गत चैतको दोस्रो हप्ता कोरोनाविरुद्धको पहिलो चरणको खोप लगाएका थिए । दोस्रो चरणको खोप नआएकाले लगाउन नपाएको अध्यक्ष तामाङले बताउनुभयो ।
यसका लागि गाउँपालिका र स्वास्थ्य कार्यालयसंँग समन्वय भइरहेको तर भ्याक्सिन नआइपुगेको कारण खोप दिन नसकिएको उहाँले उल्लेख गर्नुभयो ।

पहिलो चरणमा उनीहरूले कोभिसिल्ड खोप लगाएका थिए । त्यसपछि १८ वर्षमाथिका १०९ जनाले दोस्रो चरणमा भेरोसेल खोप लगाएको भए पनि दोस्रो मात्राको खोप लगाउन नपाएको गाउँपालिकाका स्वास्थ्य संयोजक गाछ्यो लामाले बताउनुभयो ।
उहाँले खोप नभएकै कारण लिमीमा दोस्रो मात्राको खोप लगाउन नपाएको जानकारी दिनुभयो । लिमीमा सदरमुकामबाट स्वास्थ्यकर्मी पुग्न तीन दिन पैदल हिँड्नुपर्ने भौगोलिक अवस्था छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?