logo
२०८१ बैशाख २० बिहीवार



रोजगारी पाउँदै अपाङ्गता भएका व्यक्ति

प्रदेश |


रोजगारी पाउँदै अपाङ्गता भएका व्यक्ति
सांकेतिक तस्वीर


नवराज कट्टेल

विराटनगर, साउन २१ गते । अपाङ्गता भएका व्यक्तिलाई औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा रोजगार तथा स्वरोजगारको अवसर दिन थालिएसँगै उनीहरूको दैनिक जीवनयापन सहज बन्न थालेको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका औद्योगिक तथा व्यापारिक प्रतिष्ठानले यस्ता व्यक्तिलाई क्षमताका आधारमा रोजगारको अवसर दिन थालेका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १, राष्ट्रिय अपाङ्ग महासङ्घ र द लेप्रोसी मिसन अफ नेपालको त्रिपक्षीय साझेदारीमा स्वरोजगार तथा रोजगारको अवसरका लागि फाउन्ड परियोजनाले काम गरिरहेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ का उपाध्यक्ष एवं महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राउतका अनुसार अपाङ्गता भएका व्यक्तिलाई परियोजनामार्फत रोजगारी दिलाउन महासङ्घले सहजीकरणको भूमिका निर्वाह गरिरहेको हो ।

करिडोरअन्तर्गत मोरङ र सुनसरीमा हालसम्म १९० जना अपाङ्गता भएका व्यक्तिले रोजगार पाएका छन् । जसमध्ये ६७ जनालाई बीउ पुँजी लगानी गरेर स्वरोजगार बनाइएको छ । उनीहरूले सिटी रिक्सा चलाउने, चिया पसल सञ्चालन गर्ने, ब्युटीपार्लर, मौरीपालन, अगरबत्ती उत्पादन, मसला उद्योग सञ्चालन गर्नेजस्ता काम गरिरहेका छन् ।
यसैगरी क्षमताका आधारमा १४ जनाले औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा रोजगारी पाएको उपाध्यक्ष राउतले जानकारी दिनुभयो । राउतले स्वरोजगार बन्न व्यवसाय गर्नेलाई राज्यले विशेष सुविधा दिनुपर्ने गरी आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन गराउन महासङ्घले पहल गर्ने बताउनुभयो । रोजगारविहीन अपाङ्गता भएका व्यक्तिका लागि ऊर्जाशील अवसर फाउन्ड परियोजना कार्यान्वयनमा आएसँगै दैनिक जीवनयापन सहज बन्दै गएको राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश १ अध्यक्ष पार्वता श्रेष्ठले बताउनुभयो । यस्तो अवसरका लागि रोजगारदाता र रोजगार पोर्टलबीच अन्तक्र्रिया गराएर अपाङ्गता भएका व्यक्ति वा उसका परिवारका सदस्यलाई अवसरमा जोड्ने कार्य भइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । स्थानीय तहमा समेत उनीहरूको रोजगार सुनिश्चितताका लागि महासङ्घले छलफल गरिरहेको छ । यस्ता व्यक्तिलाई रोजगारी दिँदा कार्यस्थलमा केही समस्या हुने भए पनि त्यस्ता समस्याको समाधानका लागि राष्ट्रिय अपाङ्ग महासङ्घले पहल लिने गरेको छ । प्रदेश १ मा मात्रै १० प्रकारका अपाङ्गता भएका व्यक्तिको सङ्ख्या ९५ हजार छ ।

कतिपय औद्योगिक प्रतिष्ठानका प्रतिनिधिले अपाङ्गता भएका व्यक्तिहरूको काम गर्ने तरिका सहज रहेको बताएका छन् । अरिहन्त मल्टिफाइबर्सका एचआर नारायणप्रसाद लामिछानेका अनुसार अपाङ्गता भएका व्यक्तिलाई तोकिएको जिम्मेवारी कार्यस्थलमा सहज रूपमा पालना गर्ने गरेको बताउनुभयो । अरिहन्तले हाल ११ जना अपाङ्गता भएका व्यक्तिलाई विभिन्न विधाको काममा जोडेको उहाँले बताउनुभयो । शारीरिक अपाङ्गता भई रोजगारीमा जोडिनुभएकी रुचि मगरले कार्यस्थलमा अपाङ्गतामैत्री संरचना नहुँदा कतिपय अवस्था असहज नभए पनि व्यवस्थापन पक्षले अन्य कामदारको तुलनामा बढी नै सहजीकरण र माया देखाउने गरेको अनुभव सुनाउनुभयो ।

फाउन्ड परियोजनाका प्रबन्धक विपिन दासले अपाङ्गता भएका व्यक्तिलाई सबल बनाउन सक्दा मात्रै उनीहरूको परिचय बदलिने बताउनुभयो । फाउन्ड परियोजनाले रोजगारदाता र रोजगार पोर्टलबीच विभिन्न चरणका छलफल गरेर रोजगारीको अवसर सिर्जनाका लागि पहिलो तीन महिना परीक्षणका रूपमा कार्यस्थलमा खटाउने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?