अमरराज नहर्की
तनहुँ, साउन २७ गते । तनहुँको व्यास नगरपालिका–५ साँगे, कुमाल गाउँका ७० वर्र्षीय वीरबहादुर कुमाललाई कुमाल भाषा बोल्न आउँदैन । सानैदेखि गाउँमा कुमाल भाषा नबोलेको र बोल्ने कोही नहुँदा भाषा नजानेको कुमाल बताउनुहुन्छ । ‘‘सानो हुँदा हजुरबा र हजुरआमाले अलिअलि बोलेको याद आउँछ पछि उहाँहरूले बोल्न छोड्नुभयो, हामीले जानेको पनि बिर्सियौं’’ कुमालले भन्नुभयो । बीरबहादुरको तीन पुस्ता सम्मकाले यो गाउँमा कुमाल भाषा बोल्दैनन् ।
कुमाल बाहुल्य बस्ती भए पनि वीरबहादुर जस्तै गाउँमा कसैले मातृभाषा जान्दैनन् । आफ्नो मातृभाषा हराउँदै गएकामा अगुवा चिन्तित छन् तर सिकाउने मान्छे कोही पनि छैनन् । ६५ वर्षीय सरस्वती कुमाल अहिलेसम्म कुमालभाषा नबोलेको बताउनुभयो । १०८ वर्ष पहिलेदेखि नै कुमाल भाषा प्रचलनमा नरहेको पाइएको एक अनुसन्धानबाट खुलेको छ । वडा नम्बर ५ साँगेमा एक ठाउँमा १५० र अर्को ठाउँमा ७८ गरी २२८ घरपरिवारका ७०० जनसङख्या भए पनि बोलीचालीबाट हराएको पाइएको कुमाल भाषा र संस्कृतिको अध्ययन गरिरहनु भएका दमौलीस्थित भानुभक्त क्याम्पसका उपप्राध्यापक वसन्त कँडेलले जानकारी दिनुभयो ।
उपप्राध्यापक कँडेल ‘‘स्थानीय सरकार र भाषा नीति’’ मा विद्यावारिधिको अनुसन्धान गरिरहनुभएको छ । दुवै गाउँमा कुमाल भाषा बोल्न एक जनाले पनि नजानेको कँडेलले जानकारी दिनुभयो । जातिकै बाहुल्यता भएका क्षेत्रका स्थानीय तहहरुले पनि भाषा संरक्षणमा चासो दिएका छैनन् । पूराना पुस्ताले पनि कुमाल भाषा प्रयोग गर्न छाड्नु र नयाँ पुस्ताले सिक्ने चासो नदिँदा भाषा बोल्नेको सङ्ख्या न्यून हुँदै गएको हो । भौतिक विकाससँगै सामाजिक विकास नभएकाले भाषा र संस्कृतिहरु लोप हुँदै गएको कँडेलको भनाइ छ । विश्वमा छ हजार आठसय भाषा रहेकोमा प्रत्येक हप्ता एक भाषाको मृत्यु हुने गरेको जानकारी दिँदै कँडेलले कुमाल समुदायको भाषिक मृत्यु हुने खतरा भएको बताउनुहुन्छ ।
व्यास नगरपालिकाले २०७५ सालमा गरेको आर्थिक सर्वेक्षणमा एक हजार ४९७ कुमालको जनसङ्ख्यामा ४७ जनाले आफ्नो भाषा बोल्न जानेको बताएका थिए । ‘‘कुमाल भाषा सङ्कट उन्मुख पुगेको छ, संरक्षण संवर्धन गरिएन भने भाषिक मृत्यु हुनेछ’’ उपप्राध्यापक कँडेलले भन्नुभयो, स्थानीय निकाय संरक्षण संवर्धनमा चुकेको छ, खाली डोजरे विकासमा ध्यान गएको छ’’ उपप्राध्यापक कँडेलले भन्नुभयो । कँडेलका अनुसार संविधानमा राष्ट्रिय भाषा आयोगको व्यवस्था गरेको छ । स्थानीय तहको २२ वटा स्वायक्त अधिकार मध्य अन्तिम २२ मा भाषा, कला, संस्कृतिको लिपिको संरक्षण उल्लेख गरिएको छ । अध्ययन अनुसन्धाको क्रममा १९७० देखि नै कुमाल गाउँमा भाषा बोल्न छाडेको पाईएको कँडेलले जानकारी दिनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले नगरपालिकाले भाषा र संस्कृतिहरुको संरक्षण गर्ने उद्देश्यले व्यास नगर प्रज्ञा प्रतिष्ठानको कार्यविधि २०७८ बनाएको जानकारी दिनुभयो । २०६८ को जनगणनाअनुसार १ लाख २१ हजार १९६ जनसङ्ख्या कुमाल जातिको छ । यो जाति सीमान्तकृत वर्गमा पर्छ ।
व्यास नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले स्थानीय तहले भाषा संरक्षण गर्न चासो दिएको तर सम्बन्धित समुदाय नै जागरुक नभएको बताउनुहुन्छ । ‘‘कुमाल समुदाय सङ्गठित भएर आउनुभयो भने संरक्षण संवर्धन गर्न हामी तयार छौं’’ वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । बोल्ने कोही नहुँदा भाषिक पहिचान गुम्दै जाँदा दुःख लागेको भाषाका प्रशिक्षकहरु पनि पाउन कठिन भएको सोही ठाउँ निवासी शारदा कुमाल बताउनुहुन्छ ।
माटोको भाँडा बनाउने माछा मार्ने, जाल बुन्ने जस्ता पूख्र्यौली पेशा छाडेर हाल खेतीपातीमा सङ्लग्न हुनेको सङ्ख्या अधिक रहेको शारदा बताउनुहुन्छ । शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले शुक्लागण्डकी नगरपालिकाका कुमाल समुदायले भाषा बोल्न छाडेको बताउनुहुन्छ ।
तनहुँको घिरिङ गाउँपालिकाका कुमाल समुदायले भाषा बोल्ने गरेको पाईएपनि अन्य स्थानमा अधिकांशले बोल्न छाडेको पाएको उहाँले बताउनुभयो । दुई वर्ष अघि प्रशिक्षक मगाएर तालिम दिएपनि बोलीचालीमा प्रयोग नगरेको कारण प्रभावकारी नभएको प्रवक्ता कुमाल बताउनुहुन्छ । ‘‘भाषा विज्ञको सहयोगमा लिपी बनाएर स्थानीय तहमा कक्षा ५ सम्म अनिवार्य पढ्ने कानुनी व्यवस्था भयो भने संरक्षण गर्न सकिन्छ नत्र लोप हुने सङ्घारमा पुगेको छ’’ कुमालले भन्नुभयो । नेपाल आदिवासी जनजाति महाङ्घ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष वसुन्धरा घर्तीले अधिकांशले कुमाल भाषा नबोल्ने गरेको पाइएको जानकारी दिनुभयो । ‘‘बुढापाकाहरुले बिर्सँदै गएका छन् युवापुस्तालाई चासो नहुँदा भाषा हराउँदै गएको छ’’ अध्यक्ष वसुन्धराले भन्नुभयो । हाम्रो नेपाल भन्नको लागि भाषा, संस्कार र संस्कृतिको बचाउनुपर्ने वसुन्धरा बताउनहुन्छ । ‘‘भाषा, मौलिक संस्कृति बचाउनु राज्यको दायित्व हो, ठूलो बजेट चाहिन्छ त्यसमा ध्यान दिनु जरुरी छ’’ अध्यक्ष बसुन्धराले भन्नुभयो । कुमाल भाषालाई राज्यले राष्ट्रिय भाषाको मान्यता दिए पनि संरक्षणमा चासो नदिएको वसुन्धरा बताउनुहुन्छ ।