logo
२०८० चैत्र १५ बिहीवार



प्रदेश-२ प्रमुख हरिशंकर मिश्रद्वारा पदभार ग्रहण

प्रदेश |


प्रदेश-२ प्रमुख हरिशंकर मिश्रद्वारा पदभार ग्रहण


लक्ष्मी चौधरी
जनकपुरधाम, भदौ २ गते । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार पदभार ग्रहण गर्नुभएको छ । प्रदेश सरकारको मुख्यालय रहेको मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालय पुगेर उहाँले पदभार ग्रहण गर्नुभयो ।
मंगलबार अपराह्न संघीय राजधानी काठमाडौंस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएका मिश्र प्रदेश प्रमुखको कार्यभार सम्हाल्न बुधबार मध्याह्न प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम आउनुभएको हो ।
उहाँलाई मन्त्रिपरिषद् बैठकले प्रदेश २ का प्रमुखमा नियुक्तिका लागि गत मंगलबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका निवासी मिश्रलाई जनकपुर विमानस्थलमा सयौंको संख्यामासर्वसाधारणले भव्य स्वागत गरेका थिए । विमानस्थलबाट सोझैसो अवसरमा प्रदेश प्रमुख मिश्रले प्रदेश सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । अहिलेको समयमा शान्ति, स्थिरता र अमनचयन आवश्यक भएको उल्लेख गर्दै उहाँले अब आफू अमुक पार्टीका व्यक्ति नभएर देश र जनताका मानिस भएको प्रस्ट पार्नुभयो ।
‘मेरो राजनीतिक पृष्ठभूमिमा नेपाली कांग्रेस छ । तर, प्रदेश प्रमुखको संवैधानिक महत्व, गरिमा र भूमिका निर्वाह गर्न मैले दलीय भावनाभन्दा माथि उठेर काम गर्नुपर्ने हुन्छ,’ प्रदेश प्रमुख मिश्रले भन्नुभयो ।
प्रदेश प्रमुख मिश्रले आजै मधेस भवन परिसरमा रहेको नेपाली कांग्रेसका दिवंगत नेता रामनारायण मिश्रको शालिकमा माल्यापर्ण गर्नुभयो । २०१६ सालको बिपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारमा स्व.मिश्र उद्योग तथा वाणिज्य मन्त्री हुनुहुन्थ्यो । मधेस भवन नामकरण गरिएको जनकपुर चुरोट कारखाना लिमिटेड स्थापनामा स्व.मिश्रको योगदान अतुल्य मानिन्छ । प्रदेश प्रमुख मिश्र स्व.रामनारायणका छोरा हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?