logo
२०८१ बैशाख २२ शनिवार



८८ वर्षदेखि खस्न थालेको पहिरो अझै रोकिए,स्थानीयलाई पीडा

प्रदेश |


८८ वर्षदेखि खस्न थालेको पहिरो अझै रोकिए,स्थानीयलाई पीडा


लाकेन्द्र जोशी
दार्चुला, भदौ ४ गते । दार्चुलाको मार्मा गाउँपालिका–३ रिल पहिरोमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बिहीबार रातीको वर्षाका कारण खसेको पहिरोले सडक अवरुद्ध भएपछि यातायातका साधनहरु बीच सडकमै रोकिएका छन् । मार्माबाट गोकुलेश्वर आउने र गोकुलेश्वरबाट मार्मा जाने जीपहरु बिच सडकमै रोकिएका छन् ।
रिल पहिरो जान थालेको ८८ वर्ष भइसक्दा समेत पहिरो रोकिएको छैन् । पहिरोका कारण वडा नम्बर ३ को सल्लेथुम बस्ती जोखिममा छ । अहिले स्थानीय रनबिरसिहं बिष्टको घर पहिरोको उच्च जोखिममा रहेको वडा नम्बर ३ का वडाअध्यक्ष पुष्करसिह बिष्टले जानकारी दिनुभयो । पहिरो व्यवस्थापनमा निकै चुनौती देखिएको मार्मा गाउँपालिकाले जनाएको छ । रिल पहिरोका कारण दार्चुलाको मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकालाई जोड्ने बिटुले लटिनाथ पारिवगर खण्डेश्वरी सडक सञ्चालनमा समेत समस्या भइरहेको छ ।
स्थानीयहरुका अनुसार मार्मा गाउँपालिका–३ मा १९९० सालको भूकम्पका कारण गएको रिल पहिरो खस्ने क्रम अझै पनि नरोकिएको हो । पहिरो पन्छ्याएर सडक सञ्चालन गर्ने गरिएको भए पनि रिल पहिरो क्षेत्रमा निरन्तर ढुङ्गामाटो खसिरहेकोले नियमित यातायात सञ्चालन गर्न समस्या भइरहेको वडाध्यक्ष बिष्टले बताउनुभयो । बिटुले पारीबगड सडकखण्ड अन्तरगत विभिन्न क्षेत्रमा पहिरो खस्ने भएकाले वर्षातमा निकै समस्या हुने गरेको स्थानीय धिरेन्द्र धामीले बताउनुभयो । उहाँका अनुसार, पहिरो क्षेत्रमा यात्रु र यातायात व्यवसायीहरुले दुर्घटनाको जोखिममा पनि आवातजावत गर्ने गरेका छन् ।
पहिरोका कारण अपिहिमाल र मार्मा गाउँपालिकाका स्थानीय बेलाबेला पैदल यात्रा गर्न बाध्य छन् । टाढाबाट गएका मानिसहरु भने बीच बाटोमै अलपत्र पर्ने गरेका छन् । सडक सञ्चालन भएपछि अपि र मार्माका स्थानीयहरुलाई सहज भएको भएपनि बेलाबेला सडक अवरुद्ध हुँदा सास्ती भोग्नुपरेको स्थानीय नरेन्द्र जोशीले बताउनुभयो ।
सडक नियमित सञ्चालनका लागि मार्मा गाउँपालिका–३ को च्युरानीबाट चौलानी नदीमा पुल हालेर वडा नम्बर ४ को शेरीबाट मर्मती हुँदै लटिनाथ सडक लैजानुपर्ने वडा नम्बर ४ का स्थानीय इन्द्रसिह बिष्टले बताउनुभयो । अहिले रिल पहिरो क्षेत्रबाटै सडक गएकोले बेलाबेला सडक अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध हुदा चालक र यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।
वर्षौ पहिले ठूलो पहिरो खसेको उक्त क्षेत्रमा बेलाबेला पहिरो खसिरहने भएकाले त्यस क्षेत्रको नाम नै रिल पहिरो रहन गएको स्थानीय बिष्टले बताउनुभयो । वर्षातको समयमा मात्र हैन हावाहुरी चल्दा समेत उक्त क्षेत्रमा पहिरो खस्ने गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?