logo
२०८१ बैशाख २५ मंगलवार

  दृश्य समाचार  



स्थानीयकाे सजगताले जोगियाे बाढीबाट कीरतपुरको विनास

प्रदेश |


स्थानीयकाे सजगताले जोगियाे बाढीबाट कीरतपुरको विनास


लक्ष्मी चौधरी
जनकपुर, भदौ ९ गते । गत साउन महिनाको पहिलो सातामा आएका झरी र बाढीका कारण कमला नदीको बाँध भत्किन लाग्दाका डर, भय र त्रासबाट धनुषाको सबैला नगरपालिका–१३ कीरतपुरका बासिन्दा अझै मुक्त भएका छैनन् ।


मुसलधारे वर्षा र कमला खोलाको उर्लदो भेलसँगै पश्चिमतर्फ बाँध कटान हुन थालेपछि कयौं रात जाग्राम बसेर हारगुहार गर्न थालेपछि मात्र स्थानीय प्रशासन र सम्बद्ध निकायहरू बाँध मर्मत गर्न जुटेका थिए ।
साउन ४ र ५ गतेको कहालीलाग्दो समयका बारेमा स्थानीय परमेश्वरी सदा भन्नुहुन्छ, मानिसहरू आफ्ना लालाबालालाई च्यापेर रातिराति गाउँ छाडेर भाग्न थाले । कहाँ जाने भन्ने ठूलो समस्या पनि थियो । मानिसहरू रोइकराइ गरिरहेका थिए । चार दिनसम्म यस्तै अवस्था थियो ।
बच्चा र गाईवस्तुलाई कसरी हेर्ने भन्ने समस्या थियो । बर्खाले चौरीचाँचार(खोतबारी) डुबानमा थियो । धानचमल कसरी र कहाँ ओसार्ने भन्ने थियो । बाढीको पानी पश्चिमतर्फ मोडिएर बाँध कटान हुन थालेपछि गाउँलेहरूले बाँधछेउका रुख र बाँस काटी बाँध जोगाउने प्र्रयास गर्न थालेका थिए । घररिघरि आउने बाढीले रुखबाँस बगाउने र गाउँलेहरूले फेरि पनि रुखबाँस हाल्नेजस्ता छर्की जोगाउने परम्परागत अभ्यास गरि नै रहे । त्यसबीचमा गाउँलेहरूले खबर गरे पनि बाँध भत्किन लागेको कुरा सरकारी अधिकारीहरूले पत्याएनन् ।
स्थानीय सञ्चारकर्मी अयुब खानले बाँधमै गएर सामाजिक सञ्जालका माध्यमले घटनास्थलको समाचार तारन्तार प्रत्यत्क्ष प्रसारण गर्न थालेपछि ब्युतिएको स्थानीय प्रशासनमाथि पत्रकार सुरेश यादवले परिस्थितिको गम्भीरताबारे फेसबुकमा पोस्ट गरी दबाब बनाउनु भएो । त्यसपछि मात्र प्रशासनका अधिकारीहरू प्राविधिकसहित बाँधमा पुगी बाँध मर्मत सुरु भएको स्थानीय विन्देश्वर यादव भन्नुहुन्छ
उहाँ भन्नुहुन्छ, धन्न हामी गाउँलेहरूले रुखबाँस हालेर तीन दिनसम्म बाँध जोगायौं । त्यसपछि पत्रकार बाबु वर्दिबासबाट हतारिँदै आउनुभयो । हामीले भन्यौं उहाँलाई कि अवस्था यो छ, चेनवाला डोजर र ट्रयाकट्र र अरू चिजबिज मगाइदिनुस । नभए हाम्रा चारपाँचवटा टोलको बिजोक हुन्छ ।
उहाँ अगाडि भन्नु हुन्छ त्यसपछि बाबुले जहाँतहाँ फोन गर्नुभयो । समाचार फिजाउनुभयो । अनिमात्र जनकपुरबाट सरकारी अधिकारीहरू आएर बोराजाली र अर्थोक हालेर तटबन्ध मर्मत गरे । त्यसपछि बल्ल हामीलाई राहत भयो ।
बाँध कटान भएको भए कमला तटका सबैला, सहिदनगर र कमला नगरपालिका जलमग्न हुने बताउँदै पत्रकार अयुब खान भन्नुहुन्छ, ‘विपत्का बेला सामाजिक सञ्जाल नै भरपर्दो साथी भएको मेरो अनुभव छ ।’
सुरुमा आपतकालीन बजेट नरहेको भन्दै पन्छिएको कमला नदी व्यवस्थापन आयोजनाले जेसिभी स्काभेटर नै परिचालन गरी बाँध संरक्षण गर्ने संरचना बनाएको थियो । यो संरचना तयार भएपछि बाँधको अस्थायी मर्मत भएको छ र केही समयका लागि बाँध भत्किने खड्गो टरेको छ ।
हरेक वर्ष बर्खा र बाढीका बेला बाँध भत्किने र कमला नदीको प्रवाह गाउँतर्फ मोडिने सन्त्रासमा रहेका यहाँका बासिन्दाहरू पक्की बाँध बनाएर समस्याको दिगो समाधान हुने अपेक्षा गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?