logo
२०८१ बैशाख २६ बुधवार



प्रदेश १ एमाले संसदीय दलको बैठक बस्दै, नेता परिवर्तन हुन सक्ने

प्रदेश |


प्रदेश १ एमाले संसदीय दलको बैठक बस्दै, नेता परिवर्तन हुन सक्ने


गोकुल पराजुली
विराटगनर, भदौ १० गते । नेकपा एमाले विभाजन भए लगतै प्रदेश १ मा सरकार परिवर्तनको संकेत देखिएको छ । प्रदेशसभामा बहुमतप्राप्त पार्टी नेकपा एमालेले प्रदेशसभाका सांसदहरुले विभाजित दल रोज्नुभन्दा पहिले नै मुख्यमन्त्री परिवर्तन गर्ने उद्देश्यले बैठक बोलाएको छ ।
मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की प्रदेशसभा सदस्य तथा एमालेका केन्द्रीय सचिव भीम आचार्यलगायतका नेताहरु काठमाडौमा भएकै बेला हतारमा संसदीय दलको बैठक बोलाइएको हो । बैठकमा सहभागी हुन एमाले सचिव भीम आचार्य केही बेर अघि विराटनगर आइपुग्नुभएको छ । मुख्यमन्त्री राई लगायतका नेताहरु  भने केही समयपछि विराटनगर आइपुग्नुहुने र त्यसपछि दलको बैठक बस्ने तयारी भइरहेको नेता आचार्यका स्वकीय सचिव अनिल राजधामीले जानकारी दिनुभयो ।
सांसदलहरुले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बैठकमा उपस्थित हुन सूचना जारी गर्नुभए 5पनि बैठकको एजेण्डा जानकारी नगराइएको प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले बताउनुभयो । संसदीय दलको बैठक हतारमा राख्नुले संसदीय दलको नेता परिवर्तन गर्न खोजेको अनुमान सांसदहरुले गरेका छन् ।
संसदीय दलमा बहुमत रहेको एमाले विभाजित भएर गठन भएको दलमा केही सांसदहरु जाने देखिएपछि त्यसलाई रोक्न र सांसदहरुले दल रोज्नुभन्दा पहिले नै मुख्यमन्त्री परिवर्तन गर्दा विभाजनको प्रभाव कम गर्न सकिन्छ भन्ने उद्देश्यले मुख्यमन्त्री परिवर्तनको तयारी भएको हुनसक्ने बताइएको छ ।
नेकपा एमालेले प्रदेश १ संसदीय दलको नेतामा आचार्यलाई निर्वाचित गर्ने तयारी गरेको छ । आचार्य दलको नेता निर्वाचित भएपछि मुख्यमन्त्री राईले पदबाट राजिनामा गरी आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी छ । यद्यपि मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बैठकको एजेण्डा बैठकमै तय हुने अहिलेसम्म मुख्यमन्त्रीले राजिनामा गर्ने विषय स्पष्ट भइनसकेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?