logo
२०८१ बैशाख २५ मंगलवार



प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा शपथ

प्रदेश |


प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा शपथ


सचिन पोखरेल / गाेकुल पराजुली 
सुनसरी, भदौ १० गते । नेकपा एमाले प्रदेश १ प्रदेशसभा संसदीय दलका नेता भीम आचार्य मुख्यमन्त्री नियुक्त हुनुभएको छ । बिहान साढे ११ बजे बसेको संसदीय दलको बैठकबाट दलको नेता बन्नुभएका आचार्यले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।

निवर्तमान मुख्यमन्त्री शेरधन राईले बिहीबार बिहान बसेको संसदीय दलको बैठकमा संसदीय दलको नेताबाट राजिनामा दिए लगतै आचार्य दलको नेताको रुपमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनीयताको शपथ गराउनुभयो । प्रदेश प्रमुख अधिकारीले आचार्यलाई नेपालको संविधानको धारा १६८ (१) बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
नवनियुक्त मुख्यमन्त्री आचार्यले कोभिडबाट अाक्रान्त जनताको उपचार र खोप व्यवस्थापन नै सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभयो । उहाँले पार्टीलाई एकताबद्ध बनाइराख्न प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने निर्णय भएको भन्दै प्रदेशमा एमालेको बहुमत कायम रहने बताउनुभयो । उहाँले एक दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी दिनुभयो ।

प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ५१ जना सांसद छन् । नेकपा एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) गठन भएपछि फुटका प्रभावलाई कम गर्ने उद्देश्यले प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन गरिएको बताइएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?