logo
२०८१ बैशाख २५ मंगलवार

  महाकाली तुनइ प्रकरण  



छानबिन समितिले आगामी साता प्रतिवेदन बुझाउने

प्रदेश |


छानबिन समितिले आगामी साता प्रतिवेदन बुझाउने
कार्यदलका सदस्यहरू : फाइल तस्बिर


लोकेन्द्र जोशी
दार्चुला, भदौ १० गते । तुइन तर्ने क्रममा एसएसबीले तुइनको डोरी फुकालीदिएपछि महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आगामी हप्ता आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिका संयोजक एबं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले प्रतिवेदन लेखनका क्रममा घटनाको विषयमा समितिका सदस्यबीच छलफल जारी रहेको र केही नयाँ सन्दर्भ आउँदा जिल्लासँग छलफल र समन्वय भइरहेको जानकारी दिनुभयो ।
एक हप्तामा अनुसन्धान सकेर मन्त्रालयलाई प्रतिवेदन बुझाउने गरी तयारी भइरहेको गौतमको भनाई छ । गत साउन १७ गते गठित उक्त समितिलाई सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न मन्त्रालयले १० दिनको समय दिएको थियो । साउन १८ गते टोली स्थलगत अध्ययनका लागि दार्चुला प्रस्थान गरेर एक हप्तासम्म सरोकारवालाहरुसँग छलफल, प्रत्यदर्शीको बयान, घटनास्थलको अवलोकन र पीडित परिवारसंग भेटघाट गरेर धनगढी हुँदै काठमाण्डौँ फर्किएको थियो । समितिले निर्धारित समयमा छानबिन प्रतिवेदन बुझाउन नसकेपछि गत मंगलबार तेस्रो पटक समय थप गरिएको छ । यसअघि साउन २५ र यही भदौ १ गते पनि समितिको म्याद थप गरिएको थियो । अहिले १५ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको गृह मन्त्रालयले जनाएको छ ।
छानबिन टोलीले राजनीतिक दल, सरकारी अधिकारी, पत्रकार, स्थानीयवासी, पीडित परिवार, जनप्रतिनिधिसँग छलफल गर्नुका साथै घटनास्थलदेखि खोजबिनका सिलसिलामा बैतडी, कञ्चनपुरसमेत पुगेको संयोजक गौतमले बताउनुभयो । अहिले समितिका दुई जना सदस्य आकस्मिक बिदामा बस्नुपरेकोले प्रतिवेदन लेखनमा ढिलाइ भएको बताइएको छ । उक्त घटनाको अध्ययनका लागि सहसचिव गौतमको संयोजकत्व सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहनु भएको छ ।
साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट तुइन तरेर भारत जाने क्रममा खसेर ३३ वर्षीय जयसिह धामी महाकालीमा बेपत्ता हुनुभएको थियो । पीडित पक्ष तथा स्थानीयवासीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकालिदिदा नदीमा खसेको बताउँदै आएपनि भारतीय पक्षले तुइन फुकालेको कुरा स्वीकार गरेको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?