logo
२०८१ बैशाख २३ आईतवार



सिन्धुलीमा जताततै पहिरोले यातायात अबरुद्ध

प्रदेश |


सिन्धुलीमा जताततै पहिरोले यातायात अबरुद्ध


बाबुराम देवकाेटा 
सिन्धुलीमाढी, भदौ ११ गते । दुई दिनदेखिको अबिरल बर्षाका कारण ठाँउ–ठाँउमा खसेको पहिरोले सिन्धुली जिल्लामा तीन ठूला राजमार्ग सहित ग्रामीण सडकमा शुक्रबार बिहानदेखि जताततै यातायात सेवा अबरुद्ध बनेको छ ।
प्रहरी अनुसार बीपी राजमार्गको सुनकोसी गाँउपालिका–२ कमेरेफाँटमा माथिबाट लेदो माटो बगेर आई सडकमा थुप्रिएर यातायात अबरुद्ध भएको छ । मध्य पहाडी लोकमार्गको गोलन्जोर गाँउपालिका अन्तर्गत हैबार, कालिआँप, खुकुरेटार, कुँडुले र सुम्नामबेसीमा माथिबाट पहिरो आई सडकमा थुप्रिएर सबारी साधान आवागमन नै रोकिएको छ ।
बीपी राजमार्ग अन्तर्गत कमेरेफाँटको लेदोमाटो बेलाबेलामा स्काभेटर लगाएर पन्छाई जसोतसो यातायातका साधन आवतजावत गरेको भएपनि पूर्ण रुपमा सञ्चालन हुन नसकेको ईलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरिक्षक बुद्धिमणी नेपालले जानकारी दिनुभयो ।
बीपी राजमार्गको वर्दिवास–सिन्धुलीमाढी खण्ड अन्तर्गत कमलामाइ नगरपालिका–९ भिमान क्षेत्रको छ ठाँउभन्दा बढीमा खहरेहरुमा आएको बाढीले लच्कामा ढुंगा सहितको गेगर (रोडा) थुपार्दा राजमार्ग अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सडकमा खहरेले थुपारेको रोडा मेशिनको प्रयोग गरेर हटाइ यातायात सुचारु गर्न सडक आयोजनालाई जानकारी गराएको प्रहरीले जनाएको छ ।
त्यस्तै मध्यपहाडी लोकमार्गमा खसेको पहिरो बर्षा भईरहेका कारण पन्छाउन नसकिएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘पाँच ठाँउभन्दा बढी पहिरो गएको छ । बर्षा नरोकिई स्काभेटरले काम गर्ने अवस्था पनि छैन ।’
मध्य पहाडी लोकमार्गको ६१ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्ड अबरुद्ध हुँदा पहाडी जिल्लाहरु खोटाङ, ओखलढुंगा, सोलुखुम्बुबाट राजधानी काठमाडांै हिडेका सबारी साधन र राजधानीबाट ती जिल्लामा आएका सबारी साधन बीच बाटोमा नै रोकिएर अलपत्र परेका स्थानीयले बताएका छन् ।
मदन भण्डारी राजमार्गको सिन्धुलीमाढी–हरिहरपुरगढी खण्डमा पहिरो खस्दा अवरुद्ध बनेको छ । हरिहरपुरगढीको हाक्पारा नजिक ठूलो पहिरो खसेकाले राजमार्ग अवरुद्ध बनेको स्थानीयको भनाई छ ।
उता ४० किलोमिटर लम्बाईको सदरमुकाम सिन्धुलीमाढी–चकमके सडक पनि बाढी र पहिरोका कारण सबारी साधन आबागमन ठप्प भएको सुनौलो बीपी यातायात प्रालिले जनाएको छ । उक्त प्रालिका अध्यक्ष कान्छामान बलका अनुसार सिन्धुलीमाढी–चकमके सडकको बीचमा पर्ने भालुखोलामा बाढी आई सबारी साधान आवतजावत ठप्प भएको छ भने विभिन्न ठाँउमा पहिरोले सडक अबरुद्ध भएको छ ।
बिहिबार रातीदेखि भएको अबिरल बर्षा नरोकिदा सिन्धुली जिल्लामा जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?