अमृतप्रसाद पौडेल
बेनी, भदौ १३ गते । लगातारको वर्षाका कारण बेनी नगरपालिका १ रत्नेचौरमा एउटा घर भत्किएको छ । वर्षाले गए राती रत्नेचौरका प्रीतिबहादुर खत्री (सापकोटा)को ढुङ्गा माटोले बनेको एक तले घर भत्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
घरको एकातर्फको गाह्रो भत्किएपछि बस्न नमिल्ने अवस्था भएको जिल्ला प्रहरी कार्यालयका म्याग्दीका इन्स्पेक्टर वीरेन्द्रराज गुरुङले बताउनुभयो । घर भत्किए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
वर्षाकै कारण पहिरो खसेपछि उत्तरी म्याग्दी हुँदै हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक पुनः अवरुद्ध भएको छ । गत भदौ ८ गते बन्द भएर १० गते बाट सञ्चालनमा आएको बेनी–जोमसोम सडक खण्डको म्याग्दीतर्फको अन्नपूर्ण गाउँपालिका–३, दानाको जलथले, गुईँठे, ढुङ्गाखानी, रुप्से तथा मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने काभ्रे भीर एवम् घोप्टे भीर अवरुद्ध बनेको हो ।
सडकभन्दा माथिबाट ठूल्ठूला चट्टानसहितको ढुङ्गा, लेदो माटो र गेगरसहित पहिरो खसेर सडक अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्थानीय सुपरभाइजर एवम् अन्नपूर्ण गाउँपालिका–३, दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । उहाँले पहिरो पन्छाउनका लागि सडक आयोजनाको डोजरलगायत मेसिनहरु तयारी अवस्थामा राखिएको भए पनि निरन्तर पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकोले जोखिम भएको हुँदा काम गर्न नसकिएको शेरचनले बताउनुभयो ।
पहिरो खसेर सडक अवरुद्ध बनेपछि मुस्ताङको सदरमुकाम जोमसोमबाट छुटेका सवारी साधनहरु अहिले काभ्रे भीरमा रोकिएका छन् । यसै गरी म्याग्दीको बेनी हुँदै देशका विभिन्न स्थानबाट मुस्ताङका लागि छुटेका सवारीसाधन दानाको जलथलेमा रोकिएको होटेल व्यवसायी समेत रहनुभएका स्थानीय सुपरभाइजर शेरचनले बताउनुभयो ।
त्यस्तै वर्षाकै कारण बेनी–बागलुङ सडकखण्ड अन्तर्गत बेनीको खबरास्थित रुइनडाँडामा सडकभन्दा माथिबाट लेदोसहितको माटो र पहिरो खसेर सडक अवरुद्ध बनेको बेनी नगरपालिका–१, रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । पहिरो खसेर अवरुद्ध बनेको सडक खुलाउनका लागि स्थानीय निकाय र सम्बन्धित आयोजना पक्षसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।