logo
२०८१ बैशाख २० बिहीवार



बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री खनालको राजीनामा स्वीकृत

प्रदेश |


बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री खनालको राजीनामा स्वीकृत


राममणि दाहाल
हेटौँडा, भदौ १६ गते । बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले राजीनामा दिनुभएको र सो राजीनामा मुख्यमन्त्री शाक्यले स्वीकृत गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री खनालले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई राजीनामा दिनुभएको हो । मन्त्रालयको वेभसाइटबाट समेत मन्त्री खनालको नाम हटाइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) को पक्षमा मन्त्री खनालले मङ्गलबार प्रदेश निर्वाचन कार्यालय, हेटौँडा पुगेर सनाखत गर्नुभएको थियो ।
खनालसहित १२ जना प्रदेश सभाका सदस्यहरुले एमाले छाडेर एकीकृत समाजवादी रोजेका हुन् ।
प्रदेश सभाका सदस्यहरु राजेन्द्र पाण्डे, माधव पौडेल, राजेन्द्रमान श्रेष्ठ, वसन्तप्रसाद मानन्धर, लक्ष्मण लम्साल, रमा आले मगर, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईँ र पार्वती सिलवालले एमाले छाडेर एकीकृत समाजवादी रोज्दै सनाखत गर्नुभएको हो ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री भएकै दिन भदौ २ गते खनाललाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो । खनालसहित १२ जना प्रदेश सभाका सदस्यहरुले एकीकृत समाजवादीमा सनाखत गरेसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नुभएको छ । प्रदेश सभामा हाल कायम रहेको १०९ प्रदेश सभा सदस्यमा एमालेका ५५ जना प्रदेश सभा सदस्य छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?