logo
२०८१ बैशाख २५ मंगलवार



प्रदेश १ का एमाले सांसदहरु नयाँ दलकाे सनाखतका लागि निर्वाचन कार्यालय जाँदै

प्रदेश |


प्रदेश १ का एमाले सांसदहरु नयाँ दलकाे सनाखतका लागि निर्वाचन कार्यालय जाँदै


गाेकुल पराजुली 
विराटगनर, भदौ १६ गते । नेकपा एमालेबाट विभाजित भई नेकपा (एकीकृत समाजवादी)मा जाने प्रदेशसभा सांसदहरु सनाखतका लागि केही बेरमा प्रदेश निर्वाचन कार्यालयमा सनाखतका लागि उपस्थित हुने तयारी गरेका छन् ।
तीन दिनदेखि सुनसरीको धरानस्थित निर्माणा कन्ट्री क्लबमा सामूहिक रुपमा बस्दै आउनुभएका सांसदहरु केही बेरमा विराटनगरका लागि हिंड्ने तयारीमा रहेको बताइएको छ । धरानबाट सिधै निर्वाचन कार्यालयमा पुग्ने तयारी भएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले जानकारी दिनुभयो ।
समाजवादी रोज्ने तयारीमा १० जना सांसदहरु सामूहिकरुपमा बसेको भए पनि आज ९ जनाले मात्र नयाँ दल रोज्ने बताइएको छ । एकजना सांसदले भने अझैपनि नयाँ दल रोज्ने कि नरोज्ने भन्ने निर्णय नगरिसकेको बताइएको छ ।
मंगलबार नै नयाँदल रोज्न औपचारिक निवेदन दिने तयारी गरेका सांसदहरु प्रदेश १ का तीन जिल्लामा सार्वजनिक बिदा परेका कारण रोकिनुपरेको थियो ।
‘हामीले नयाँ दल रोज्नका लागि सम्पूर्ण कागजपत्र तयार पारिसकेका छौं, दिउँसो निर्वाचन कार्यालय जान्छौं,’ सांसद राईले भन्नुभयो ‘ आज पहिलो चरणमा १० जनाले सनाखत गर्ने तयारी गरेका छौं ।’
नेकपा एमालेमा माधवकुमार नेपाल समूहमा रहँदै आउनुभएका १८ जना सांसदमध्ये अहिलेसम्म १० जना सांसद नयाँ पार्टीमा खुल्नुभएको छ । त्यसमध्ये एक जनाले केही दिनपछि मात्र सनाखत गर्ने बुझिएको छ ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्यद्वय राजेन्द्रकुमार राई, गणेश काङ्माङ, सांसदहरु राजन राई, उपेन्द्र घिमिरे, सरिता थापा, खिनु लङ्वा लिम्बु, पदमकुमारी गुरुङ, सावित्राकुमारी रेग्मी, र सुनीता चौधरीले बुधबार निर्वाचन कार्यालयमा नयाँ पार्टीमा आबद्ध भएको जानकारी गराउने करिव निश्चित भएको छ । केन्द्रीय सदस्य कृष्णकुमारी राईले भने निर्णय नगरिसकेको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?