logo
२०८१ बैशाख २८ शुक्रवार



बागमती प्रदेशको मन्त्रिपरिषद् आज विस्तार गर्ने तयारी

प्रदेश |


बागमती प्रदेशको मन्त्रिपरिषद् आज विस्तार गर्ने तयारी


राममणि दाहाल
हेटौँडा, भदौ २३ गते । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्ने हुनुभएको छ । मुख्यमन्त्री शाक्यले बुधबार मन्त्रिपरिषद् विस्तार गरी ११ सदस्यीय मन्त्रिपरिषद् बनाउन लाग्नुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले ) भएर नेकपा( एकीकृत समाजवादी) नयाँ दर्ता भएसँगै अल्पमतमा पर्नुभएका मुख्यमन्त्री शाक्यले यसअघिनै मङ्गलबारसम्मको अवस्था हेरेर मन्त्रिपरिषद् विस्तार गर्नसक्ने बताउनुभएको थियो ।
एमाले बागमती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले मन्त्रिपरिषद्मा पाँच मन्त्री र चार राज्यमन्त्री थप गर्न लागेको जानकारी दिनुभयो । उहाँले बुधबार साँझसम्ममा मन्त्रीहरुको नियुक्तसँगै सपथ ग्रहण गर्ने तय भएको बताउँदै को कसलाई मन्त्रीमा नियुक्त गर्ने पछिमात्र थाहा हुने बताउनुभयो ।
नयाँ नियुक्त हुने मन्त्रीमा एमालेको ओली पक्षमा नै रहेका र विगतमा माधव नेपाल पक्षमा रहेर एमाले विभाजनपछि एकीकृत समाजवादी सनाखत नगर्ने प्रदेश सभाका सदस्यहरुले मन्त्री र राज्यमन्त्रीमा अवसर पाउने भएका छन् । यसअघि मन्त्रिपरिषद् विस्तार नाम चर्चामा आएर अन्तिममा नाम काटिएका प्रदीपकुमार कटुवाल, रचना खड्का, शान्तिप्रसाद पौडेललगायतका नाम विस्तारित मन्त्रिपरिषद्मा पर्ने चर्चामा रहेको छ । भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएसँगै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएका शाक्यको मन्त्रिमण्डलबाट सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले राजीनामा दिएसँगै दुई सदस्यीय मन्त्रिपरिषद् मात्र रहेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात वटा मन्त्रालय रहेकोमा प्रदेशामा पाँच वटा मन्त्रालय शाक्यले र आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय केशवराज पाण्डेले सम्हाल्दै आउनुभएको छ ।
प्रदेश सभामा हाल कायम रहेको १०९ जना सदस्यमा एमाले एक्लैको स्पष्ट बहुमत अर्थात ५५ जना प्रदेश सभा सदस्य रहनुभएको थियो । तर एमाले विभाजन भएर १३ जनाले एकीकृत समाजवादीमा सनाखत गरेपछि एमालेमा ४२ जना प्रदेश सभा सदस्य रहेका छन् । १३ जनाले एकीकृत समाजवादी रोज्दै सनाखत गरेपछि एमाले उपाध्यक्षसमेत रहनुभएका शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । बहुमतको एकल सरकार गठनका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक हुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?