logo
२०८१ जेष्ठ ४ शुक्रवार



बागमती प्रदेशसभामा नेकपा(एस)लाई मान्यता दिइएको औपचारिक पत्र पठाइयो

प्रदेश |


बागमती प्रदेशसभामा नेकपा(एस)लाई मान्यता दिइएको औपचारिक पत्र पठाइयो


राममणि दाहाल
हेटौँडा, भदौ २७ गते । बागमती प्रदेश प्रदेश सभामा स्पष्ट बहुमत रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) औपचारिक रुपमा विभाजित भएको छ ।
निर्वाचन आयोगले बागमती प्रदेश सभा सचिवालयलाई राजनीतिक दल सम्बन्धी अध्यायदेश अनुसार एमालेका प्रदेश सभाका सदस्यहरुले दल त्याग गरेको पत्र पठाएपछि एमाले विभाजनले औपचारिकता पाएको हो ।
प्रदेश निर्वाचन कार्यालय, हेटौँडामा एमाले छाड्दै नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्न १३ जना प्रदेश सभाका सदस्यले सनाखत गरेका थिए ।
आयोगले शुक्रबारको निर्णय अनुसार भन्दै प्रदेश निर्वाचन कार्यालय, हेटौँडामा पुगेर सनाखत गरेका प्रदेश सभाका सदस्यहरुको नामावलीसहितको पत्र आइतबार पठाएको हो ।
एमालेका १२ जना प्रदेश सभाका सदस्यले भदौ १५ गते र एक जनाले भदौ १८ गते एकीकृत समाजवादी रोज्दै सनाखत गरेका थिए ।
प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले आयोगबाट प्रदेश सभाका सदस्य नयाँ दलमा प्रवेश गरेको पत्र प्रदेश सभा सचिवालयमा दर्ता भएको बताउँदै अब सोही अनुसार प्रदेश सभा भवनमा बस्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो ।
भदौ २२ गतेसम्म सनाखत गर्ने समय निर्वाचन आयोगले तय गरेको थियो ।
आयोगका अनुसार प्रदेश सभाका सदस्यहरु कृष्णप्रसाद शर्मा खनाल, राजेन्द्र पाण्डे, माधवप्रसाद पौडेल, राजेन्द्रमान श्रेष्ठ, वसन्तप्रसाद मानन्धर, लक्ष्मण लम्साल, रमा आले मगर, ईन्द्रमाया गुरुङ, मुनु सिग्देल, कुसुमकुमार कार्की, मीना ज्ञवाली(नेपाल), बसुन्धरा हुमागाईँ र पार्वती सिलवालले एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।
एमालेबाट सामाजिक विकास मन्त्री बन्नुभएका खनालले एकीकृत समाजवादीमा सनाखत गरेपछि मन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
१३ जना प्रदेश सभाका सदस्यको एकीकृत समाजवादी दल रोज्ने निर्णयसँगै एमाले उपाध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ ।
नेपाली काँग्रेस बागमती प्रदेश सभाका सचेतक छिरिङ दोर्जे लामाले पछिल्लो राजनीतिक घटना क्रम अनुसार दलहरुसँग छलफल गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, शाक्य नेतृत्वको सरकार अल्पमतमा परेकोले अब विश्वासको मत लिनुपर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?