लक्ष्मी चौधरी
जनकपुरधाम भदौ २८ गते । प्राचीन मिथिलाको राजधानी एवम् प्रदेश २ को अस्थायी राजधानीसमेत रहेको जनकपुरधाम मैथिली सभ्यताको केन्द्रबिन्दुका रूपमा रहँदै आएको छ । धार्मिक आस्था र विश्वासले भरिपूर्ण यसक्षेत्रमा उल्लेख्य सङ्ख्यामा मठमन्दिर र पोखरी छन् । बर्सेनि यसक्षेत्रका पोखरीमा पवित्र स्नानका लागि लाखौं धार्मिक पर्यटक आउने गर्छन् ।
यहाँको अर्को परिचय हो, “बावन कुटी बहत्तर कुण्ड” अर्थात् जनकपुरका विभिन्न स्थानमा ५२ मठमन्दिर र ७२ पोखरी छन् । जनकपुर उपमहानगरपालिका क्षेत्रभित्रका ती सार्वजनिक पोखरीहरू अधिकांश पौराणिक र केही आधुनिक छन् । पुराण र अन्य धार्मिक ग्रन्थमा चर्चा गरिरएका केही पोखरी भने अतिक्रमणको चपेटामा परी लुप्त भइसकेका छन् ।
विहारकुण्ड, अग्निकुण्ड, रत्नसागर, सूर्यकुण्ड, पापमोचनी सर, परशुरामकुण्ड, रूक्मिनीसर, मुरलीसर, रामसर, तेलहा–मरहा, दशरथ तलाउ, अरगज्जा पोखरी, गंगासागर, धनुष सागरलगायतका यहाँका महत्वपूर्ण पोखरीहरू अझै अस्तित्वमा छन् । वृहत्तर जनकपुर विकास क्षेत्र परिषद्ले २०६२ सालमा गरेको एक अध्ययनको प्रतिवेदनअनुसार लुप्त भएका पोखरीहरूमा जनक सरोवर, अमृतकुण्ड, गोपालसर, यसस्विनी सर र बलदेव सर छन् ।
जनकपुरका यी पोखरी तथा मठमन्दिरमा वर्षोंदेखि आन्तरिक तथा बाह्य श्रद्धालु भक्तजनहरू स्नान र दर्शनका लागि आउने गर्दछन् । यी स्थानको जल तथा माटोलाई पवित्र मान्ने गरिएको छ । यहाँका पोखरीको प्राचीन, धार्मिक तथा ऐतिहासिक महत्व पनि उत्तिकै छ ।
जनकपुरधामको मध्यभागमा रहेका धनुषसागर, गङ्गासागर र अङ्गराजसरजस्ता पोखरीहरूमा पूर्णिमा तिथिका दिन श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । यसबाहेक अन्य धार्मिक उत्सवहरूमा समेत यी पोखरीहरूमा ठूलो सङ्ख्यामा श्रद्धालु पुग्ने गर्दछन् । दशरथ तलाउमा जेठमा दशहराको दिन मेला लाग्ने गरेको छ ।
धार्मिक तथा पौराणिक महत्वका यी पोखरीहरूको जीर्णेद्धार तथा सौन्दर्यीकरण गर्ने काम केही समययता हुँदै आएको छ । पोखरीहरूलाई अतिक्रमणमुक्त गराई घाट तथा पर्खाल निर्माण गरी पोखरी संरक्षित गर्ने र संरक्षित पोखरीमा डुङ्गा सञ्चालन गर्ने योजना रहेको बृहत्तर जनकपुर विकासक्षेत्र परिषद्का वरिष्ठ प्रशासकीय अधिकृत चिरन्जीवीराज ढुङ्गानाले बताउनुभयो । उहाँले पोखरीको सौन्दर्यीकरणमार्फत सहरप्रति धार्मिक पर्यटकहरूको आकर्षण बढ्ने र उनीहरूको बसाइअवधि समेत लम्बिने प्रस्ट पार्नुभयो ।
जनकपुरधामका हरेक पोखरीको आफ्नो छुट्टै खालको धार्मिक महत्व र विश्वास छ । तिनै लोकविश्वासका आधारमा विभिन्न पर्वमा फरक–फरक पोखरीमा स्नान गर्नेको घुइँचो लाग्नेगर्छ । नेपालमा धेरे पोखरीहरू भएको ठाउँमा जनकपुरधामको गणणा हुने गरेको परिषद्का प्रशासकीय अधिकृत ढुङ्गानाले बताउनुभयो ।
गत २०७२÷०७३ तिर गुठी संस्थान, बृहत्तर जनकपुरक्षेत्र विकास परिषद्, नगरपालिका, जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलयको समन्वयमा अतिक्रमित पोखरीहरूलाई अतिक्रमणमुक्त गराउने काम भएको थियो । जसमा कपालमोचनी सर, महाराजसागर, अरगज्जा पोखरी, तेलहा–मरहा पोखरी, पापप्रक्षालन सर, चन्द्रकूप (देवान पोखरी), पगधोइ पोखरी (खुट्टा धुने), रामसागर, गंगासागर, धनुष सागर, पापमोचनी सर र पग पोखरी अतिक्रमणमुक्त भएको ढुङ्गानाले जानकारी दिनुभयो । अतिक्रमुक्त भए पनि तीमध्ये अधिकांश पोखरी संरक्षणका लागि भौतिक पूर्वाधार विकास गर्न सकिएको छैन । अर्थीक अभावमा ती पोखरी संरक्षणका काम अघि बढ्न नसकेको परिषद्का प्रशासकीय अधिकृत ढुङ्गानाको भनाइ छ । जनकपुरधामका मठमन्दिर र पोखरीलगायत धार्मिक स्थलहरूको संरक्षण, सम्वद्र्धन र विकास गर्ने परिषद् संघीय विधायिकाद्वारा स्थापित संस्था हो ।
वृहत्तर जनकपुरक्षेत्र विकास समिति हुँदा गत २०५२ सालमा गङ्गासागर र धनुषसागरमा घेराबेरा गरिएको र केही वर्षयता गङ्गासागर र धनुषसागरलाई एकअर्कासँग जोडिएको छ । त्यसका अतिरिक्त केही पोखरीहरूमा घाट निर्माण गरिएका छन् ।
वृहत्तर जनकपुर विकाक्षेत्र परिषद्का कार्यकारी निर्देशक बलराम ठाकुरले परिषद् ऐन र नियममा धार्मिक धरोहरहरूलाई संरक्षण गर्ने उल्लेख भए पनि आवश्यक बजेट विनियोजन नहुँदा काम अघि बढाउन नसकिएको बताउनुभयो । पोखरी संरक्षणमा स्थानीय तह र प्रदेश सरकारले काम गरिरहेको उल्लेख गर्दै उहाँले धार्मिक सम्पदाको यथोचित संरक्षण र हेरचारका लागि सङ्घले सरकारसमक्ष योजना पेस गरेको जानकारी दिनुभयो । ‘परिषद्को बजेट एउटा वडाभन्दा पनि कम छ । त्यसैले अपेक्षित काम गर्न सकेका छैनौैं,’ कार्यकारी निर्देशक ठाकुरले भन्न्नुभयो ।
जनकपुरधामप्रति पर्यटकलाई आकर्षित गर्न पोखरी विकास र संरक्षणक्रममा दशरथ पोखरीमा पानीको पर्दा बनाई त्यसमा रामायण देखाउने र गंगा सागरको पानी सफाइका लागि परिषद्ले सङ्घ सरकारसमक्ष योजना पेस गरेको छ । ‘धार्मिक पर्यटकीय ठाउँ जनकपुरका सबै तालतलैयामा वृक्षरोपण गरी सौन्दर्यीकरण गर्ने हो भने तापक्रम पनि कम हुन्छ । पर्यटकलाई बसाइअवधि लम्ब्याउन सङ्ग्रहालय बनाउनुपर्छ । जनकपुरधाम वरपरका धनुषाधाम, परशुराम तलाउ, सतोखरजस्ता धार्मिक महत्वका स्थलसँग लिंंक गरी प्याकेजकै रूपमा पूर्वाधार विकास गर्न सकिन्छ,’ ठाकुरले भन्नुभयो ।
सरसफाइलगायत अन्य संरक्षकीय कार्य अभावले गर्द जनकपुरधामका.गंगासागर, धनुषसागर, अरगज्जा पोखरीलगायतका केही पोखरीबाहेक अन्य पोखरीको अस्तित्व भने सङ्कटमा छ । जनकपुरधामका यी सम्पदा जोगाउन तीव्र गतिमा संंरक्षण कार्य हुनुपर्ने स्थानीयको माग छ ।