logo
२०८१ जेष्ठ १ मंगलवार



सरकारीस्तरका सुधार केन्द्र सञ्चालनमा ल्याउने तयारी

प्रदेश |


सरकारीस्तरका सुधार केन्द्र सञ्चालनमा ल्याउने तयारी


लक्ष्मी चौधरी
जनकपुरधाम, असोज ४ गते । प्रदेश नं. २ को आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले लागुऔषध दुव्र्यसनीमा सुधार ल्याउन प्रदेश २ मा सरकारी सुधार केन्द्र स्थापना गर्ने तयारी भइरहेको बताउनुभएको छ । सोमबार गोरखापत्रसंग संक्षिप्त कुरा गर्नुहुँदै मन्त्री साहले लागुपदार्थ दुव्र्यसनका कारण प्रदेशमा ठूलो समस्या आउन सक्ने देखिएकाले सुधारगृह स्थापनाका लागि गृहकार्य थालिएको बताउनुभयो ।

प्रदेश नं. २ मा दुव्र्यसनीको सञ्जाल फस्टाउदैं गएकाकारण आगामी दिनमा ठूलो संकट आउन सक्ने सम्भावनालाई आँकलन गर्दै प्रदेश सरकारले त्यसलाई न्यूनीकरण गर्ने योजना र कार्यक्रम ल्याउन लागेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री साहले भन्नुभयो, “अहिलेका युवा तीव्र गतिमा दुव्र्यसनीतिर फस्दैगएका छन्, यही गतिमा दुव्र्यसनी फैलिने हो भने आउने दिनमा प्रदेश २ मा घर–घरमा दुव्र्यसनीले समस्या निम्त्याउने छ । त्यसैले लागुऔषधको ओसारपसार, सेवन, बिक्रीवितरणमा कडाइकासाथ आनीबानी सुधार गर्नुपर्ने आवश्यकता छ ।”

उहाँले भन्नुभयो, “युरोपमा एक पुस्ता अन्तरालपछि जहाँ हरेक व्यक्तिले ट्याब्लेट इन्जेक्सन प्रयोग गर्न थाले, त्यस्तो अवस्था हाम्रो देशमा नआओस् ।” यसको रोकथामका लागि विगतमा पनि कार्यक्रमहरु भएको उहाँले बताउनुभयो । दुव्र्यसनमुक्त समाजको निर्माण गर्न, दुव्र्यसनविरुद्धको कार्यक्रम अझ प्रभावकारी बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

‘निजीस्तरका सुधार केन्द्रमा दुव्र्यसनीलाई राख्न निम्नवर्गीय परिवारकालागि सम्भव हुँदैन । जहाँ छाक टार्न समस्या भइरहेको हुन्छ, त्यस्तो परिवारले ठूलो रकम तिरेर सुधार केन्द्रमा राख्न सक्दैनन्,’ आन्तरिक मामिला तथा सञ्चारमन्त्री साहले भन्नुभयो, ‘त्यसको विकल्प सरकारी सुधार केन्द्र नै हो । त्यसैले सरकारीस्तरको सुधार केन्द्र सञ्चालनको तयारी भइरहेको छ ।’

मन्त्री साहकाअनुसार लागुऔषधको समस्या समाधानका लागि प्रभावित क्षेत्रमा सबैको पायक पर्ने स्थानमा सरकारी सुधार केन्द्रको स्थापना गर्ने लक्ष्य छ । त्यसको लागि ठाउँ छनोट भइरहेको छ । अगामी दिनमा यसका लागि विद्यार्थी संगठनका प्रदेश प्रमुख, सुरक्षा निकायका प्रमुख दुव्र्यसनीसम्बन्धी खोज अनुसन्धान गर्ने विज्ञ, प्रदेश २ का पत्रकारलगायतका व्यक्तिसँग अन्तरक्रिया गरेर प्रभावकारी योजना र कार्यक्रम लागु गरिने मन्त्री साहले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?