logo
२०८१ मंसिर ८ शनिवार



पूर्वी नवलपरासीमा पर्ने पूर्वपश्चिम राजमार्गको मर्मत सुरु

प्रदेश |


पूर्वी नवलपरासीमा पर्ने पूर्वपश्चिम राजमार्गको मर्मत सुरु


ज्ञानु पंगेनी
कावासोती, असोज ७ गते । पूर्वी नवलपरासीमा पर्ने पूर्व पश्चिम राजमार्ग मर्मत गर्न सुरु गरिएको हो । जीर्ण बनेर यात्रा गर्ने सास्ति हुने गरेको यस सडकखण्डमा कालोपत्रे गरेरै मर्मत गर्न थालिएको हो । राजमार्गमा परेका खाल्डा खुल्डी सबै कालोपत्रे गरेर मर्मत गरिने आयोजनाले जनाएको छ । यस अघि राजमार्गमा परेका खाडलमा गिट्टी र ग्राभेल राखेर पुर्ने गरिएको थियो । तर , पानी परेपछि उप्कने र घाम लाग्दा धुलोले हैरान बनाउने गर्दा यस सडक खण्डबाट आवतजावत गर्ने यात्रुहरुले निकै सकसपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । गैंडाकोटमा डाइभर्सन बगाएर समेत सास्ति भएको थियो । सडकको दुरवस्था हुँदा समेत सम्बन्धित निकायले वास्ता नगरेको भन्दै सर्वत्र विरोध भएपछि आयोजनाले कालोपत्रे गर्न सुरु गरेको छ । अहिले कावासोती सहितका स्थानमा कालोपत्रे गर्ने काम भईरहेको छ ।

अहिले राजमार्ग विस्तारको जिम्मा पाएको चिनिँया कम्पनीले कालोपत्रे सहित मर्मत सुरु गरेको नारायणगढ बुटवल सडक विस्तार आयोजनाका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो । नारायणगढ –बुटवल सडक खण्ड विस्तार सुरु भएयता झण्डै दुई वर्षदेखि राजमार्ग मर्मत गरिएको थिएन । निर्माणको जिम्मा पाएको चिनिँया कम्पनीले मर्मत नगर्ने र सडक विभागले ठेक्का लागि सकेको सडक भनेर बेवास्ता गर्दा पूर्वी नवलपरासीमा पर्ने पूर्वपश्चिम राजमार्ग सबै जिर्ण बनेको थियो ।

दशैँसम्ममा नवलपुर खण्डमा सबै जीर्ण रहेको सडक मर्मत गरी सक्ने निर्माण कम्पनीले जनाएको सूचना अधिकारी आचार्यले बताउनुभयो । डाइभर्सन निर्माण गरिएका क्षेत्र बाहेक नवलपुरको दाउन्ने लागयत सबै क्षेत्रमा कालोपत्रे सहित मर्मत गर्ने सडक विस्तारको जिम्मा पाएको निर्माण कम्पनीले जनाएको आचार्यले बताउनुभयो । दशैँ सम्ममा सडक मर्मत गरिसक्ने जनाएको उहाँले बताउनुभयो ।

जिल्लाको गैँडाकोटदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकखण्ड अधिकाशं भाग जीर्ण बनेको छ । कालोपत्रे सबै उप्किएर कच्ची सडकमा परिणत भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?