logo
२०८१ जेष्ठ १ मंगलवार



चार महिनामा करेन्ट लागेर पाँच जनाको मृत्यु

प्रदेश |
समाज |


चार महिनामा करेन्ट लागेर पाँच जनाको मृत्यु


शिवशंङ्कर मिश्र
बारा, असोज ८ गते । विगत चार महिनाको अन्तरालमा बारा जिल्लामा पाँच जनाको करेन्ट लागेर मृत्यु भएको छ । सावधानी नअपनाउँदा अनाहकमा सो मानिसको ज्यान गएको बारा प्रहरीले बताएको छ ।

विद्युतीय वायरिङ्को काम तालिम प्राप्त ब्यक्तिबाट नहुनु तथा गुणस्तरहीन विद्युतीय समानको प्रयोग र असावधानीपूर्वक बिछाइएको तारका कारण करेन्ट लागेर व्यक्तिहरुको मृत्यु हुनेगरेको प्रहरी अनुसन्धान अधिकृतहरुको भनाइ छ ।

आफ्नै घरमा मोटरबाट पानी तान्ने क्रममा बिहीबार बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ लक्ष्मी टोलमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षीय सर्फुदिन अंसारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । मोटर चलाउन लाग्दा करेन्ट लागेर घाइते भएका अंसारीलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्जमा लग्ने क्रममा बाटैमा मृत्यु भएको उहाँले बताउनुभयो ।

मृतकको शव नारायणी अस्पतालमा परीक्षण गरी परिवारको जिम्मा लगाएर घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ । यसैगरी गत भदौ १६ गते सिम्रौनगढ नगरपालिका ४ गंगानगर निवासी ४८ वर्षे तेजलालप्रसाद यादवको पनि करेन्ट लागेर मृत्यु भएको थियो । मृतक यादवले आफ्नै खेतमा काम गरिरहेकाबेला खेतमा सिंचाइ गर्नका लागि मोटरमा जडान गर्न बिछ्याइएको तारमा करेन्ट प्रवाह भई यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

यसैगरी गत साउन २५ गते कलैया उपमहानगरपालिका ७ बरेवा टोल बस्ने ६० वर्षीय राजाराम भगत मालीको करेन्ट लागेर मृत्युभएको थियो । सोही ठाउँका स्थानीय रविन्द्र सिहंको घर ढलान गर्ने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर घाइते भएका मालीलाई उपचार गराउन वीरगंज लैजाँदा बाटैमा मृत्यु भएको थियो ।

त्यस्तै, गत साउन १९ गते महागढीमाई नगरपालिका ८ बेतौना टोल बस्ने ३२ वर्षे श्यामबाबु साहको करेन्ट लागेर मृत्यु भएको थियो । साह खेतमा शौच गरी सफा गर्ने क्रममा खेतमा सिंचाइका लागि जडान गरिएको मोटरको तारबाट पानीमा करेन्ट प्रवाह भई उहाँको मृत्यु भएको थियो ।

यसैगरी गत असार १७ गते कलैया उपमहानगरपालिका १४ बघवन टोल बस्ने ४५ वर्षे मदन जैसवालको करेन्ट लागेर मृत्यु भएको थियो । आफ्नै घरको चापाकलमा जडान भएको मोटर चलाउन जाँदा जैसवाललाई करेन्ट लागेर घाइते हुनुभएको थियो । उपचारका लागि कलैया अस्पताल लैजादै गर्दा बाटोमै उहाँको ज्यान गएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?