logo
२०८१ बैशाख ३० आईतवार



विद्युत पोल ढल्दा च्वाँगढका बासिन्दाको घरमा बत्ती बलेन

प्रदेश |
समाज |


विद्युत पोल ढल्दा च्वाँगढका बासिन्दाको घरमा बत्ती बलेन


गोकर्ण दयाल
बैतडी, असोज १० गते । दलका नेता–कार्यकर्ताको निर्माण समितिले गाडेका बिजुलीका पोल वर्षैपिच्छे ढल्न थालेपछि बैतडीको च्वाँगढ क्षेत्रका ३० हजार वासिन्दाको बिजुली बाल्ने धोको अधुरै रहेको छ । च्वाँगढ क्षेत्रमा विद्युत विस्तार गर्न तीन आर्थिक वर्षदेखि राज्यकोषको करोडौ रुपियाँ खर्च भइसक्दा पनि च्वाँगढ क्षेत्रको सिगास गाउँपालिकामा बिजुली बल्न सकेको छैन ।

च्वँगढ क्षेत्रमा विद्युत विस्तार गर्न सिगास गाउँपालिकाले मात्र एक करोड रुपियाँ खर्च गरिसकेको वडा नम्बर १ का अध्यक्ष गगनसिंह धामीले बताउनुभयो । अध्यक्ष धामीले भन्नुभयो, “सिगास गाउँपालिकाको १ र २ हुँदै गाउँपालिका केन्द्रसम्म बिजुली बिस्तार गर्न तीन आर्थिक वर्षमा करोड जति खर्च भइसकेको छ । निर्माण समितिले गाडेका बिजुलीका पोल ढलेका ढल्यै छन् । तार पनि चुडिँएका छन् ।”

दलका नेताको अगुवाईमा निर्माण समिति गठन गर्नु नै भुल भएको अध्यक्ष धामीले बताउनुभयो । च्वाँगढ क्षेत्रमा विद्युत विस्तार गर्न गत तीन आर्थिक वर्षमा दलीय समितिले गुणस्तरहीन काम गर्दा बिजुली बल्न नकसको वडा अध्यक्ष धामीले बताउनुभयो । बिजुलीबाट वञ्चित रहेको सिगास गाउँपालिकामा विद्युतिकरण गर्न गाउँपालिकाले राम्रै बजेट बिनियोजित गरेपनि उपभोक्ताको कमजोरीका कारण समयमै बत्ती बाल्न नसकिएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष धामीले भन्नुभयो, “यो वर्ष विद्युत वितरण केन्द्र बैतडीसँग कुरा भइरहेकोले सिगासमा छिट्टै बत्ती बल्छ भन्ने विश्वास छ ।” यता, विद्युत वितरण केन्द्र बैतडीमार्फत पनि सोही क्षेत्रमा बिजुली बाल्ने कार्यक्रमअनुसार काम भइरहेको कार्यालय प्रमुख अनिलकुमार चौधरीले बताउनुभयो । यो वर्ष सिगास गाउँपालिका १ र २ मा विद्युत पहुँच बढाउन ३० लाख रुपियाँको टेण्डर आह्वान भएको विद्युत वितरण केन्द्र बैतडीका प्रमुख चौधरीले बताउनभयो ।

गाउँपालिका र विद्युत वितरण केन्द्रले एउटै ठाउँमा काम गर्दा पनि तीन वर्षदेखि बिजुलीका पोल ढल्ने गरेको विषयमा जिज्ञासा राख्दा कार्यालय प्रमुख चौधरीले भन्नुभयो, “गाउँपालिकाको बजेटको बारेमा हामीलाई थाहा भएन । प्राधिकरणमार्फत भईरहेको काम गुणस्तरीय नै छ । जतिसक्दो चाँडो सिगासमा बिजुली पुर्याउन जोड दिएका छौं ।” गाउँपालिकाबाट छुट्याएको रकममा दलका नेताको निर्माण समिति बन्दा बिजुली बल्न नसकेको स्थानीयवासी परमानन्द भट्टले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?