logo
२०८१ मंसिर ८ शनिवार



अन्नपूर्ण पदमार्ग आएका पर्यटकहरुलाई स्वागत

प्रदेश |
पर्यटन |


अन्नपूर्ण पदमार्ग आएका पर्यटकहरुलाई स्वागत


बेलिना थापा
लमजुङ, असोज ११ गते । चक्रीय अन्नपूर्ण पदमार्गमा घुम्न आएका पर्यटकलाई हिमाली जिल्ला मनाङमा स्वागत गरिएको छ । ४२ आंै विश्व पर्यटन दिवसको अवसरमा सोमबार विदेशी तथा स्वदेशी पाहुनालाई स्वागत गरिएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमकाअनुसार विश्व पर्यटन दिवसको दिन इलाका संरक्षण कार्यालय मनाङ र पर्यटक चेकजाँच केन्द्र धारापानीमा पर्यटकलाई टीका र खादा लगाएर स्वागत गरिएको छ ।

मनाङ गाउँमा चार जना विदेशी पर्यटक र ६ जना नेपाली पर्यटक, धारापानीमा २ जना विदेशी पर्यटकलाई स्वागत गरिएको गौतमले बताउनुभयो । उहाँकाअनुसार पर्यटकको साथमा आएका गाइडलाई पनि स्वागत गरिएको छ । उहाँहरुलाई चिया विस्कुटको व्यवस्था समेत गरिएको थियो ।

आइतबार बेलुका मनाङ प्रवेश गरेका पाहुनालाई सोमबार बोलाएर स्वागत कार्यक्रम गरिएको एक्यापले जनाएको छ । पर्यटन व्यवसायी विनोद गुरुङ, कर्मा गुरुङ, जनप्रतिनिधिलगायतको उपस्थितिमा स्वागत गरिएको हो । कोभिडको जोखिमबीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरुपमा दिवस मनाइएको हो ।

कोरोना संक्रमण शून्य रहेको मनाङमा केही समयदेखि पर्यटकको आगमन हुन थालेको एक्यापले जनाएको छ । मनाङमा सेप्टेम्बरदेखि ६५ जना पर्यटक आइसकेका छन् । दैनिक २ देखि ५ जनाका दरले पर्यटक आउनेगरेको एक्याप मनाङले जनाएको छ ।

मौसम उपयुक्त रहेको र बाटो पनि मर्मत भएकाले पर्यटक आउन थालेका हुन् । “अहिले मौसम खुलेको छ । बाढीपहिरोले भत्केका बाटोहरु बन्दैछन् । केही सहज भएको छ । पर्यटक पनि आउन थालेका छन्” गौतमले भन्नुभयो, “मनाङ जिल्लामा आउने पर्यटकलाई स्वागत गर्न स्थानीय आतुर छन् ।”

मनाङमा सेप्टेम्बरबाट पर्यटकका लागि खुला गरिएको हो । कोभिड संक्रमणको दर घटेपछि पर्यटकलाई प्रवेश गर्न दिइएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । उहाँकाअनुसार मनाङ प्रवेश गर्ने पाहुनालाई ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोपकार्ड आवश्यक पर्नेछ ।

पर्यटन दिवसमा लमजुङमा भने कुनै कार्यक्रम छैन । कोभिड संक्रमण जोखिमै रहेकाले कुनै कार्यक्रम नभएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?