logo
२०८१ बैशाख १८ मंगलवार



पर्यटक भित्र्याउन लुम्बिनीका व्यवसायीद्वारा सस्तो प्याकेज घोषणा

प्रदेश |
पर्यटन |


पर्यटक भित्र्याउन लुम्बिनीका व्यवसायीद्वारा सस्तो प्याकेज घोषणा


लक्ष्मण पौडेल
भैरहवा, असोज १४ गते । कोभिड–१९ का कारण थलिएको पर्यटन व्यवसाय उकास्न लुम्बिनीका पर्यटन व्यवसायीले सस्तो प्याकेज घोषणा गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी धेरैभन्दा धेरै पर्यटक लुम्बिनी आउने वातावरण बनाउन उनीहरुले सस्तो प्याकेज ल्याएका हुन् ।

सस्तो प्याकेज सार्वजनिक गरेपछि आन्तरिक पर्यटक बढ्ने अपेक्षा व्यवसायीको छ । तत्कालका लागि लुम्बिनी होटेल संघले एक रात दुई दिनको भ्रमण प्याकेज सार्वजनिक गरेको छ । असोज १५ देखि लागू हुनेगरी दुई हजार १९९ रुपियाँमा लुम्बिनीको गाइडेड प्याकेज टुर कार्यक्रम घोषणा गरिएको सङ्घका महासचिव लीलामणि शर्माले जानकारी दिनुभयो ।

लुम्बिनी होटल एशोसिएशनले आवासमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिनुभयो । “लुम्बिनी घुम्न आउने पर्यटकका लागि यो अफर सार्वजनिक गरिएको हो”–उहाँले भन्नुभयो । कोभिडका कारण कमजोर अवस्थामा पुगेको पर्यटन बजारलाई सहयोग पुग्ने उद्देश्यकासाथ अफर सार्वजनिक गरिएको उहाँले बताउनुभयो । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायीले यो अफर सार्वजनिक गरेपछि पर्यटक आउने अपेक्षा गरेका छन् ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा करिब १८ महिनादेखि विदेशी पर्यटकको आगमन लुम्बिनीमा शून्य रहेको उहाँहरुको भनाई छ । धार्मिक पर्यटकको रूपमा भारतबाट आउने पर्यटकसमेत नाकाबन्दका कारण आउन नसकिरहेको अवस्थामा व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी सस्तो प्याकेज घोषणा गरेको बताएका छन् ।

होटल बन्द अवस्थामा रहेपनि सफा गर्नुपर्ने, बिजुली, पानी तथा केही कर्मचारी राख्नुपर्ने, घरभाडा तिर्नुपर्ने बाध्यता रहेकाले यो अफरले केही सहयोग पुग्ने उनीहरुको विश्वास छ । महामानव गौतमबुद्धको जन्मस्थान लुम्बिनी आउने बौद्धमार्गीलाई समेत यो अफरले सहयोग पुग्ने पर्यटन व्यवसायीले बताएका छन् ।

सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठकाअनुसार प्याकेजको पहिलो दिन पर्यटकलाई बसपार्कबाट पिकअप गरी होटेलमा स्वागत गरिने छ । सोही दिन लुम्बिनीबारे जानकारी दिई केहीबेरको विश्रामपछि साँझ लुम्बिनी तथा बुद्धग्राम रोबोटिक थिएटर भ्रमण गराई रात्रिभोजन गराई विश्राम दिइने योजना बनाएको छ ।

प्याकेजको दोस्रो दिनमा बिहानको खाजादेखि मायादेवी मन्दिर र गुम्बा भ्रमण, अन्तर्राष्ट्रिय विहार क्षेत्र भ्रमण, दिउँसोको खाना तथा विश्राम र बिदाइ  छ । उक्त प्याकेजमा दुई बेड भएको कोठा, साँझको खाना, बिहान ब्रेकफास्ट, धूपबत्ती, गाइड, बुद्धग्राम रोबोटिक थिएटर टिकट, लन्च, मायादेवी मन्दिर प्रवेश टिकट र अन्तर्राष्ट्रिय विहारक्षेत्र भ्रमणका लागि यातायातको व्यवस्था गरिएको सङ्घका महासचिव लीलामणि शर्माले जानकारी दिनुभयो ।

पर्यटन व्यवसायीले मायादेवी मन्दिर अलि ढिलो समयसम्म खोल्न आग्रह गरेका छन् । मायादेवी मन्दिरलाई राति ११ बजेसम्म खोल्न पर्यटन व्यवसायीले माग गरेका छन् । यसले लुम्बिनीमा पर्यटकको बसाई अवधि लम्ब्याउन सकिने उनीहरुको तर्क छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले यहाँ आउने पर्यटकले सौहार्दता खोज्ने भएकाले व्यवसायीले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो । महामारीपछि लुम्बिनीमा आध्यात्मिक पर्यटक उतार्न लुम्बिनी बिकास कोषले पनि पहल गरिरहेको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?