विजयकुमार साह
ढल्केबर, असोज २२ गते । धनुषाधाम नगरपालिका ९ मुर्गियास्थित मुर्गिया सामुदायिक वन परिसरको १२ हेक्टर जमिनमा २० हजार वृक्षरोपण गरिएको छ ।
चुरेभित्रका खाली जग्गामा प्राकृतिक वनको रुपमा पनस्र्थापना गर्ने उद्देश्यले मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषा र डिभिजन वन कार्यालय धनुषाले वृक्षरोपणको काम गरेको हो ।
प्रदेश २ को पूर्वमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षणदेखि पश्चिममा पर्सा राष्ट्रिय निकञ्जसम्म आवतजावत गर्ने वन्यजन्तु र सो क्षेत्रमा बसोबास गरिरहेका समुदायबीचको द्वन्द्व न्यूनीकरण गर्न वनले सहयोग गर्ने विश्वास लिइएको छ ।
मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषाका अध्यक्ष देवनारायण मण्डलले समुदायसँग सहकार्य गरी समुदायमा आधारित संरक्षणमुखी कार्यक्रमहरु गर्ने उद्देश्यले वृक्षरोपण गरिएको बताउनुभयो ।
वृक्षारोपण सिमल, सिसाै, मसला र टिकलगायत स्थानीय वातावरणमा पाइने बोट प्रजातिका बिरुवाहरु वृक्षरोपण गरिएको छ । वृक्रोपणका अवसरमा प्रदेश २ वन प्राविधिक समाजका महासचिव तथा पर्यावरण अभियानकर्ता सुरेश शर्माले वृक्रोपणले स्थानीयलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वृक्षरोपणको अवसरमा डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत सुनिलकुमार कर्ण, मुर्गिया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विनोद नायकलगायत स्थानीयवासीको सहभागिता थियो ।