शशिधर पराजुली
विराटनगर, असोज २२ गते । प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिन असोज २४ गतेभित्र प्रदेशसभा सचिवालयमा प्रस्ताव पेश गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ । हिउँदे अधिवेशन सुरु भएपनि मुख्यमन्त्रीले विश्वासको मत लिने मिति भने निश्चित भएको छैन ।
हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेता तथा प्रतिनिधिहरुले दशैंको शुभकामना मन्तव्य राख्नुभयो । विपक्षी दलका नेताहरुले सरकारले संविधानको मर्म र भावनाअनुरुप ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेमा जोड दिनुभयो । संविधान मिचेर सत्ताको आयु लम्याउने प्रयत्न गर्न नहुने विपक्षी सांसदहरुले टिप्पणी गर्नुभयो ।
सभा बैठकमा दलका नेताहरुको तर्फबाट शुभकामना व्यक्त गर्ने भनिए पनि मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता आचार्यले मन्तव्य राख्नु भएन । सत्तारुढ दलकातर्फबाट पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले शुभकामना मन्तव्य राख्नुभयो । नेता कार्कीले नेकपा एमाले प्रदेशसभाको सबैभन्दा ठूलो दल रहेको र ६ जना सांसद भए सरकारले निरन्तरता पाउने दावी गर्नुभयो ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संविधानको धारा र मर्म मिचेर सरकार अघि बढेको आरोप लगाउनुभयो । सभामुखले संविधानको रक्षा गर्दै सत्यको पक्षमा उभिनु पर्ने उहाँले बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले सरकारले संविधानको गलत व्याख्या गर्न खोजेको आरोप लगाउनुभयो । पार्टी विभाजन प्रदेशमा नहुने र केन्द्रमा पार्टी विभाजन भएकै मितिमा प्रदेशमा पनि विभाजन भएको मान्नु पर्ने बताउनुभयो ।
जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले बजेट अधिवेशन जारी रहनु पर्ने बेलामा हिउँदे अधिवेशन बोलाएकोमा विरोध गर्नुभयो । प्रमुख विपक्षी दल नेपाली काँग्रेसका नेता राजीव कोइरालाले सरकारले हिउँदे अधिवेशन आव्हान गर्नु स्वभाविक रहेको बताउनुभयो । नेता कोइरालाले मुख्यमन्त्रीले संविधान विपरित काम नगर्ने विश्वास व्यक्त गर्नुभयो ।
सरकार संविधान विपरित चलेको भन्ने विपक्षी गठबन्धनका नेताहरुको भनाइमा असहमति राख्दै नेता कोइरालाले भन्नुभयो ‘मुख्यमन्त्री अनुभवी र अग्ला कदका नेता हुनुहुन्छ त्यसैले उहाँले संविधान विपरित कामहरु गर्नुहुन्छ भन्ने मलाई लाग्दैन ।’
प्रदेशसभाको अर्को बैठक असोज २४ गते आइतबार बस्ने छ । आइतबार मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुहुने जानकारी सभामुखलाई गराउनुभएको बताइएको छ । विश्वासको मत लिन दुई दिन अघिनै संसद सचिवालयमा प्रस्ताव पेश गर्नु पर्ने व्यवस्था प्रदेशसभा नियमावलीमा छ । जसले गर्दा असोज २६ गते विश्वासको मत लिनु पर्ने तर दसैं बिदा आरम्भ हुने भएकोले दसंैपछि मात्र विश्वासको मत लिने तयारी मुख्यमन्त्रीले गर्नुभएको छ ।