logo
२०८२ भाद्र २१ शनिवार



प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिने

प्रदेश |


प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिने


गोकुल पराजुली
विराटनगर, कात्तिक ७ गते । प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावमा आज छलफल हुँदैछ । आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्तावमा छलफल गरी आजै मत विभाजन गर्ने तयारी छ ।
प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले शुक्रबारको बैठकबाटै मुख्यमन्त्रीको प्रस्तावमाथि आइतबार दिउँसो १२ः३० बजे बस्ने बैठकमा छलफल गरी मतविभाजन गर्ने घोषणा गर्नुभएको थियो ।
नेकपा एमाले संसदीय दलको नेतामा निर्वाचित भएलगतै भदौ १० गते मुख्यमन्त्री नियुक्त हुनुभएका आचार्यले ५९ दिनपछि विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल नेकपा एमालेको बिभाजनले केन्द्रमा मान्यता पाएको भोलिपल्ट मुख्यमन्त्रीमा नियुक्त हँदा प्रदेश १ मा नेकपा एमालेले बहुमत गुमाइसकेको थियो । प्रदेशसभामा दल बिभाजनको औपचारिक जानकारी भदौ २५ गते प्राप्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान भएपनि उहाँले त्यस अवधिमा प्रस्ताव मात्र दर्ता गरेर १२ दिनपछि विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रदेशसभामा विद्यमान शक्ति सन्तुलनमा नाटकीय परिवर्तन नआएमा मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्ने आधार देखिएको छैन । ९३ सदस्यीय प्रदेशसभामा हाल ९२ जना सांसदहरु कायम छन् । सत्तारुढ दल नेकपा एमालेसंग सभामुखसहित ४१ सांसद छन् भने अहिलेसम्म मुख्यमन्त्रीलाई अन्य दलले समर्थन गरेको औपचारिक निर्णय गरेका छै्रनन् । सरकारको विपक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, र लोकतान्त्रिक लिम्बुवान राष्ट्रिय मञ्च आवद्ध भएका छन् । प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको २१, माओवादी केन्द्रको १५, नेकपा एकीकृत समाजवादीको १०, जसपाको ३ र मञ्चको एकजना गरी ५० सांसद छन् । राप्रपा नेपालको एक जना सांसदभने अहिलेसम्म कुनैपनि पक्षमा खुल्नुभएको छैन ।
प्रदेशसभाबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त नगरेको खण्डमा प्रदेश प्रमुखले नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिमको सरकार गठन गर्न आव्हान गर्नुहुनेछ । प्रदेशप्रमुखले आव्हान गरेलगतै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा सरकार गठनका लागि दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?