logo
२०८१ मंसिर ८ शनिवार



बेंसीसहर–चामे सडक पुनः सुचारु, पर्यटक र स्थानीयलाई सहज

प्रदेश |


बेंसीसहर–चामे सडक पुनः सुचारु, पर्यटक र स्थानीयलाई सहज


बेलिना थापा
लमजुङ, कात्तिक १२ गते । अविरल वर्षापछिको बाढीपहिरोले क्षतविक्षत बनाएको हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडक सुचारु भएको छ ।
सडकखण्डको विभिन्न ठाउँमा बाढीपहिरोले अवरुद्ध बनाएकोमा उक्त अवरोध हटेपछि सडक पूर्णरुपमा सञ्चालनमा आएको हो ।
मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार बिहीबार साँझबाट बेंसीसहर–चामे सडक सुचारु भएको छ । बेंसीसहरदेखि चामे र चामेदेखि खाङ्सारसम्म सडक सुचारु भएको उहाँले बताउनुभयो ।
बिहीबार तिमाङ झरनाको पुल मर्मत कार्य सम्पन्न भएपछि सडक पूर्ण रुपमा सुचारु भएको हो । सडक खुलाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, डुम्रे बेंसीशहर चामे सडक योजनाका कर्मचारी, जनप्रतिनिधि खटिएका थिए । सडक पूर्णरुपमा सुचारु भएपछि अन्नपूर्ण पदमार्गमा आउने पर्यटकलाई पनि सहज भएको बताउनुभयो । प्रशासनले अन्नपूर्ण पदमार्ग सुरक्षित रहेको सन्देश पर्यटकलाई दिएको छ ।
असोज ३१ गते बेलुकादेखि निरन्तर परेको बर्षाका कारण मनाङ पुग्ने एकमात्र सडकखण्डको ठाउँठाउँमा बाढीपहिरो जाँदा सडक अवरुद्ध भएको थियो । मनाङतर्फको खण्डमा बाह्र स्थानमा बाढी पहिरो गएर सडक अवरुद्ध भएको थियो । बाढीपहिरोले सडकखण्डको अस्थायी पुल तथा अस्थायी सडकहरु बगाएको थियो । केही ठाउँमा मस्र्याङ्दीमा आएको बाढीले कटान गरेको थियो । स्याल्क्युखोलाको अस्थायी काठे पुल र तिमाङखोलाको अस्थायी काठे पुलमा क्षति पु¥याएको थियो । सबै ठाउँमा मर्मत भएपछि सडक पूर्ण रुपमा सञ्चालन आएको हो । सडक खुलेपछि सामान ढुवानीमा नागरिकलाई सहज भएको छ ।
मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काले बर्षाका कारण चामे गाउँपालिकाको कोतो नजिकैको भीर, थान्चोक र तिमाङबीचको ठाउँमा पहिरो खसेकोको ठाउँमा अवरोध हटाइएको बताउनुभयो । माथिल्लो मनाङ जाने सडक तलेखुको माथिल्लो क्षेत्रमा मस्र्याङ्दी नदीले कटान गरेको ठाउँमा सडक मर्मत भएको छ ।
गएको जेठ ३१ गतेपछिको भीषण बाढीपहिरोले क्षतविक्षत बनाएको मनाङतर्फको सडक दसैंअघिमात्रै खुलेको थियो । करीब चार महिनापछि खुलेको सडक बेमौसमी बर्षाका कारण आएको बाढीपहिरोले पुनःअवरुद्ध बनाएको थियो । अहिले सडक पूर्णरुपमा सञ्चालनमा आएको हो । बेंसीसहरदेखि मनाङसम्मको ६५ किलोमिटरमध्ये लमजुङ खण्डको म्यार्दीसम्म ३५ किलोमिटर छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?