logo
२०८१ मंसिर ७ शुक्रवार

  बाजुराकाे 'दलित' बस्तीकाे पीडा  



परदेशीले पैसा नपठाए, चुल्होमा बल्दैन आगो

प्रदेश |
समाज |


परदेशीले पैसा नपठाए, चुल्होमा बल्दैन आगो
भारतको रोजगारीको भरमा बदेडाको दलितबस्ती । तस्बिर - शेरबहादुर सार्की 


शेरबहादुर सार्की
बाजुरा, मङसिर १४ गते । बाजुराको बूढीगङ्गा नगरपालिका–१० दलित परिवार पुस्तौंदेखि अहिलेसम्म भारतकै रोजगारीको भरमा जिउँदै आएका छन् । पहिलेका पुस्ता अशिक्षित हुँदा परदेश गएको भए पनि पढेलेखेका अहिलेको नयाँ पुस्तालाई पनि रोजगारीका लागि भारतमै जानुपर्ने बाध्यता छ ।

बावुबाजेले भारतबाट नै चौकिदारी गरेर घरमा पठाएको पैसाले उनीहरुले नेपालमा राम्रोसँग पढाइ गरे पनि पढे अनुसारको गाउँमा कुनै रोजगारी नमिलेपछि नयाँ पुस्ता पनि रोजगारीका लागि भारतमै जान बाध्य भएका हुन् ।

बूढीगङ्गा नगरपालिका १० बदेडाका दलित बस्तीका युवा रमेश सार्कीले भन्नुभयो, “ यो दलित बस्तीमा झण्डै ५५ भन्दा बढी घरपरिवार छन् । यो दलित बस्तीका मानिसले पहिलेदेखि अहिलेसम्म भारतको रोजगारी गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

पहिलो पुस्ताले आफ्नो सबै जीवन भारतमै रोजागरी गर्दा बिताएको भए पनि छोराछोरीले त जीवनमा केही गरी खाउन भनी पढाउँदै आयौँ, लेखायौँ तर पढेर पनि उनीहरुलाई गाउँमा केही रोजगारी मिल्दैन, त्यसैले नयाँ पुस्ता पनि हाम्रो जस्तै भारतमा बस्नुपर्ने अवस्था आएको स्थानीय दले नेपालीले भन्नुभयो ।

उहाँले भन्नुभयो, “यहाँका दलित परिवारका सबै युवा भारतमा गएका छन् । उनीहरु उतै चौकीदारी गर्छन्, घरमा छोराछोरीलाई पैसा पठाउँछन् । भारतमा गएकाहरुले प्रत्येक महिना घर पैसा दिने गर्छन्, नेपालीले भन्नुभयो, “यदि उनीहरुले प्रत्येक महिना घरमा पैसा नदिएपछि गाउँमै आगो बल्न छोड्छ । ”

भारतमा गएपछि महिनामा अनिवार्य दश हजार रुपियाँ घरमा पठाउने गरेको स्थानीय भागी नेपालीले बताउनुभयो ।‘केही दलितहरुको गाउँमा थोरै जमिन भए पनि त्यो जमिनमा न कुलो छ, न त पानी छ, वर्षाको भरमा उनीहरु खेती त गर्छन्, त्यो खेती पनि कहीले बाढीले बगाउँछ, कहिले पहिरोले पुर्छ, कहिले जङ्गली जनावरले सखाप पार्छन्, परदेशीले पैसा नदिएपछि खर्च त के घरमा आगो पनि बल्दैन,’ ७५ वर्षीया भागी नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो दलित बस्तीको तल माथि राम्रो जमिन छ, बाहिरका देख्नेले यो सबै दलित परिवारको हो भन्छन्, तर हाम्रो भने घरबाहेक केही छैन ।अधिकांश दलित सुमदायको केही जमिन भए पनि त्यो ठाउँमा कुलाेको सुविधा छैन । त्यहाँका दलित परिवारले त्यो ठाउँमा कुलो माग गर्दै आए पनि स्थानीय सरकारले सुनाइ गरिदिएको छैन ।

स्थानीय रमेश सार्कीले भन्नुभयो, “दलितको जमिन थोरै छ, यो भन्दा तलमाथि सडक लिनुप¥यो, जमिन बचाइ दिनुप¥यो भन्दा उल्टै, भएको जमिन सबै सडकले काटिदियो, अहिले सडककै कारण अधिकांश दलित सुकुम्बासी बनेका छन् ।”

बूढीगङ्गा नगरपालिका –१० बदेडा दलित बस्तीमा अन्य गाउँ भन्दा बढी जनसङ्ख्या भएकाले चुनावका समयमा सबै राजनीतिक दलको ध्यान दलित टोलमा केन्द्रित हुन्छ । त्यति बेला उनीहरुलाई ठूलो सपना देखाएर मत लिने गर्छन् । तर विजय भएपछि भने त्यो बस्तीमा कोही नफर्किने गरेको स्थानीयको दुःखेसो छ ।

त्यो बस्तीमा अहिले झण्डै २५० जनसङ्ख्या छ । त्यो गाउँमा अहिले पाँच एसइइ, तीन आइए र एक जना बी.एड. पास गरेका व्यक्ति छन् ।
पढेलेखेका सबैलाई नौकरी दिनुभन्दा कृषि क्षेत्रमा उनीहरुलाई उत्प्रेरित गर्दै आएको बूढीगङ्गा नगरपालिका–१० का वडा अध्यक्ष धर्मराज जैसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यो दलित बस्तीको वास्तविक पीडा हो, पुस्तौंदेखि अहिलेसम्म रोजगार त के त्यो बस्तीका दलितले खानेपानीसमेत पाएका थिएनन् ।’ अहिले बल्ल यो वर्ष गाउँमा खानेपानीको व्यवस्था भयो । अबका केही दिनमा त्यहाँका बेरोजगार दलित युवालाई गाउँमै रोजगार दिने कृषि कार्यक्रम सुरु गर्ने तयारी रहेको उहाँ बताउनुहुन्छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?