बागमती प्रदेश ब्युरो
हेटौँडा, पुस १५ गते । बागमती प्रदेशको विभिन्न जिल्लामा बिहानैबाट वर्षा भएको छ । पानी परेसँगै हिमपातसमेत भएपछि स्थानीय जनजीवन प्रभावित भएको छ । वर्षा र हिमपातका कारण चिसो बढ्नु बालिबालिका, अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समेत चुनौती थपिएको छ । कतिपय स्थानमा हिमपातपछि पर्यटक आगमन बढेको छ भने सवारी आवागमन ठप्प पाएको छ ।
सिन्धुपाल्चोक समाचारदाता चित्र मिजारका अनुसार निरन्तरको झरीपछि सिन्धुपाल्चोकको हिमाली क्षेत्रमा हिमपात परेका कारण जनजीवन अस्तव्यस्त भएको छ । हेलम्बु गाउँपालिकाको पर्यटकीय क्षेत्र हेलम्बु, शेर्माथान, लिसंखुपाखर गाउँपालिकाको मुडे, जेठल, त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली, जलजले, पिस्कर, बाह्रबिसे नगरपालिकाको दोलाङ्सा, बिगु, घोर्थलीमा बाक्लो हिमपात भएको छ ।
त्यस्तै भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार तातोपानी क्षेत्र, दुगुनागढी, लिस्तिमाईमा हिउँ परेको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी, भोताङ, बरुवालगायतको स्थान र जुगल गाउँपालिकाको तेम्बाथान, गुम्बामा हिमपात भएको छ ।
निरन्तरको झरी र हिमपातका कारण सिन्धुपाल्चोकमा चिसो बढेको प्रमुख जिल्ला अधिकारीले वेदनिधि खनालले बताउनुभएको छ । चिसोबाट जोगिन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले स्थानीयलाई आग्रह गरेको छ । हिमपातका कारण सवारीसाधन सञ्चालनमा समस्या भएको छ । विद्यालयमा विद्यार्थी आउन सकेका छैनन् ।
एक हप्ता विद्यालय बिदा
काभ्रे समाचारदाता मधुसूदन तिमिल्सिनाका अनुसार जिल्लाको धुलिखेल नगरपालिकाले पानी परेका कारण चिसो बढ्ेको भन्दै एक हप्ता विद्यालय बन्द गर्न निर्देशन दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बुधबार एक सूचनामार्फत पुस १५ देखि २१ गतेसम्म सबै विद्यालय बन्द गर्न निर्देशन दिनुभएको छ ।
मङ्गलबार बेलुकाबाट पानी प¥यो । बेथानचोक नारायणस्थानलगायत क्षेत्रमा हिमपात भएको छ । धुलिखेल नगरपालिकाले चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले एक हप्ता विद्यालय बन्द गरिएको जनाएको छ । नगरपालिकाले कतिपय विद्यालयमा सञ्चालन भइरहेको त्रैमासिक परीक्षासमेत स्थगित गर्न निर्देशन दिएको छ । स्थगित परीक्षा विद्यालय खुलेपछि हुने नगरपालिकाले जनाएको छ ।
चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी बिरामीलाई सास्ती भएको छ ।
होटल व्यवसायी हर्षित
दोलखा समाचारदाता बाबुराम शर्माका अनुसार दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोकमा यस वर्ष दोस्रो चोटि हिमपात भएपछि कुरीका होटल व्यवसायी हर्षित भएका छन् ।
भूकम्प तथा दुई दुई पटकको कोरोनाले थलिएको व्यवसाय सुरु हुने भएपछि उनीहरू हर्षित बनेका होटल व्यवसायी यम पाख्रिनले बताउनुभयो ।
अहिले कुरी कालिञ्चोक सेताम्मै भएको छ । अझै हिमपात हुने देखिएको छ । होटल व्यवसायी पाख्रिनले भन्नुभयो, हाम्रा लागि हिमपात हुनु व्यवसायको वरदान हो । हिउँ नपरी खासै पर्यटकहरू आउँदैनन् । गत मङ्सिर १० गते भएको हिमपातले केही दिन त पर्यटक आएका थिए तर बीचमा हिउँ नपर्दा व्यवसाय चौपट भएको थियो । अब आशा पलाएको छ ।
हिमपातसँगै जाडो भए पनि हिमपातको दृश्य हेर्न धार्मिक पर्यटकसमेत आएका छन् । अर्का होटल व्यवसायी नवराज पाख्रिनले खुसी व्यक्त गर्दै भन्नुभयो, अब भने व्यवसायले लय लिन्छ कि जस्तो छ । हिउँ पर्ने चार महिनाको व्यवसायले वर्ष धान्नु पर्छ । अघिपछि खासै आगन्तुक हुँदैनन् । कहिले आउला भनेर हिउँ नै पर्खनु पर्छ, होटल व्यवसायका लागि ।
जिल्लाको उच्च क्षेत्र कालिञ्चोक, हनुमन्ते, खरिढुङ्गा सैलुङलगायतका उच्च ठाउँमा हिमपात भएको छ । जिल्लाका तल्लो क्षेत्रमा भने आंशिक भएको छ । जिल्ला सदरमुकाम चरीकोट बजारमा गत बुधबारदेखि धुम्म भई जाडो वृद्धि हुँदै गएको स्थानीयवासीले बताएका छन् ।
राजपथ अवरूद्ध
मकवानपुर समाचारदाता राममणि दाहालका अनुसार मङ्गलबार रातिदेखि भएको वर्षापछि उत्तरी मकवानपुरको दामन–सिमभञ्ज्याङ क्षेत्रमा बुधबार बिहानदेखि हिमपात भएको छ । हिमपातपछि दामन–सिमभञ्ज्याङ क्षेत्रको डाँडाकाँडा, बोटबिरुवा र घर तथा अन्य सार्वजनिक संरचनाका छाना सेताम्मै देखिएका छन् । यस क्षेत्रमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । हिमपातपछि बिहानैबाट त्रिभुवन राजपथको दामन–सिमभञ्ज्याङ अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिमपात रोकिएपछि सडकमा जमेको हिउँका कारण सवारीसाधन ठप्प भएको जनाएको छ । प्रहरी कार्यालयका अनुसार सडकमा जमेको हिउँ पन्छाएर सडक सञ्चालन गर्ने प्रयास भइरहेको छ । सिमभञ्ज्याङदेखि दामनसम्म हिमपात भएपछि हिउँ परेको हेर्न र हिउँ खेल्न जाने स्थानीय एवं आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ ।
जिल्लाभर पानी परेपछि चिसो बढेको छ । वर्षाका कारण चिसो बढेपछि हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले बुधबार नगर क्षेत्रका सबै विद्यालयको पठनपाठन बन्द गरेको छ । कतिपय विद्यालयमा बुधबार हुने परीक्षासमेत प्रभावित भएको छ । उपमहानगरको शिक्षा विकास महाशाखाले तापक्रम घटेको र पानी परेकोले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूूल असरलाई दृष्टिगत गरी विद्यालय बन्द गरिएको जनाएको छ ।