सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, माघ ५ गते । तीनवटा जङ्गली हात्तीले गाउँ नछाड्दा सिन्धुलीको कमलाखुँज क्षेत्रका बासिन्दा आतङ्कित बनेका छन् । उक्त हात्तीको समूहले सोमबार राति कमलामाई नगरपालिकाको–१४ का वडा सदस्य लक्ष्मी विक र कुमार विकको घर भत्काएर क्षति पु-याएको वडाध्यक्ष जितलाल माझीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि हात्ती राति बस्तीमा र दिउँसो जङ्गलमा बस्ने गरेको छ । ”
हात्तीकै त्रासले स्थानीयले थाल ठटाएर र धुनी बालेर रातभरि जाग्राम बस्ने गरेका उहाँले सुनाउनुभयो । वडाध्यक्ष माझीका अनुसार उक्त हात्तीको समूहले पाँच/छ दिनभित्रमा वडामा मात्रै १५ वटाभन्दा बढी घर भत्काएर भण्डारण गरिराखेको धानसँगै खेतमा लगाएको गहँु, आलु र फलफूल नस्ट गरेको छ ।
हात्ती धपाउन प्रहरी, वन कार्यालय र रानीवासमा रहेको नेपाली सेनाको पर्यावरण गणलाई जानकारी गराएको भए पनि कुनै उपाय नलागेको उहाँले दुःखेसो गर्नुभयो । हात्तीको समूहले एक महिनाभित्रमा कमलाखुँज क्षेत्रअन्तर्गत पर्ने दुधौली नगरपालिकाको वडा नं. ३ मा सात, ११ मा २८ र कमलामाई नगरपालिकाको वडा नं. १४ मा १५ गरी ५० वटाभन्दा बढी घर भत्काउनुका साथै भण्डारण गरिराखेको अन्नबाली, तरकारी, फलफूल क्षति पु-याइसकेको स्थानीयले जनाएका छन् ।
डिभिजन वन कार्यालय सिन्धुलीले भने कोसीटप्पु राष्ट्रि निकुञ्जबाट पर्सा राष्ट्रि निकुञ्जमा बसाईं जाने क्रममा ती हात्ती अहिले दुधौली नगरपालिकाको विभिन्न ठाउँमा देखा परेको जनाएको छ ।