logo
२०८२ भाद्र २४ मंगलवार



कोरोनाविरुद्धको खोप अभाव नहुने

प्रदेश |


कोरोनाविरुद्धको खोप अभाव नहुने


मकवानपुर समाचारदाता

हेटौँडा, माघ ६ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको अभाव नहुने बताउनुभएको छ । मन्त्रालयको खोप अभियान द्रुत कार्य सञ्चालन टोलीको नेतृत्व गर्दै तराईका जिल्लाको भ्रमणपछि हेटौँडा आइपुग्नुभएका मन्त्री खतिवडाले कोरोनाविरुद्धको खोप मौज्दात रहेको र थप खोप आउँदै गरेकोले खोप केन्द्रको दायरा बढाएर खोप लगाउनसमेत निर्देशन दिनुभएको छ ।

बागमती प्रदेशमा कोरोना सङ्क्रमणको अवस्था न्यूनीकरण, रोकथाम एवं उपचारमा प्रदेश सरकारको तयारीबारे जानकारी लिँदै मन्त्री खतिवडाले कोरोनाको जोखिम न्यूनीकरणका लागि खोप अभियानलाई सबै क्षेत्रमा पु¥याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, खोप लगाउनेको दर वृद्धि र प्रभावकारिताका लागि तालिका बनाएर खोप अभियान सञ्चालन गर्नु आवश्यक छ ।

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डको पालना पूर्ण रूपमा गर्न भन्दैै उहाँले सरकारसँग कोरोनाविरुद्धको खोप पर्याप्त रहेकाले सबैलाई दुई मात्रा खोप दिएर लक्षित समुदायलाई थप मात्रा अर्थात् बुस्टरडोज उपलब्ध गराउन निर्देशन दिनुभयो । उहाँले सम्भावित जोखिमबारे ध्यान दिनुपर्ने बताउँदै विगतको जस्तो जनजीवन ठप्प हुनेगरी बन्दाबन्दी गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, नेपाल सरकार तत्काल बन्दाबन्दी गरेर आर्थिक गतिविधिलाई रोकेर देशको अर्थ व्यवस्थालाई अस्तव्यस्त बनाउन चाहँदैन कोभिड–१९ विरुद्ध लड्दै आर्थिक गतिविधिलाई सुचारु राख्नु आवश्यक छ ।

उहाँले सम्भावित महामारीको खतरासँग जुध्नका लागि पूर्वतयारीका कार्यक्रम सञ्चालन गर्ने भन्दै उहाँले निर्माण गरिएका स्वास्थ्यका पूर्वाधारहरू आइसोलेसन सेन्टर, अक्सिजन प्लान्ट, आईसीयू, एचडीयू अक्सिजन प्लान्ट चालू अवस्थामा राख्न र सञ्चालन गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कोरोनाविरुद्धको अभियानका लागि बजेट अभाव नहुने भन्दै खोप अभियानमा सबैको सहयोगमा मात्र सफलता प्राप्त हुने बताउनुभयो । उहाँले आर्थिक गतिविधिलाई बन्द गरेर अघि बढन् नसकिने भएकोले कोभिड–१९ विरुद्ध पूर्वतयारी गर्दै विकास निर्माणका कार्यहरू र व्यापार व्यवसाय सञ्चालन गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले बागमती प्रदेशमा कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन प्रदेशस्तरको कोभिड–१९ व्यवस्थापन निर्देशक समितिले गरिरहेको कामको बारेमा जानकारी गराउनुभएको थियो । यस्तै प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बागमती प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं उपचारमा भइरहेका कार्यबारे जानकारी गराउनुभएको थियो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनिराम शर्माले हालसम्मको अवस्थामा भएको तयारी सन्तोषजनक भए तापनि महामारीविरुद्धको लडाइँका लागि आवश्यक पर्ने स्वास्थ्यका पूर्वाधार तथा जनशक्तिको व्यवस्थापन गर्नुपर्ने कुरामा जोड दिँदै कोभिड–१९ विरुद्धको स्वास्थ्य सुरक्षाका कार्यक्रम सञ्चालन गर्न बजेट अभाव नहुने बताउनुभएको थियो ।

प्रदेश सरकारका कानुन सचिव विनोदकुमार भट्टराईले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने जनशक्तिले पाउनुपर्ने रकम निकासा कुनै पनि कारणबाट रोक्नु नहुने र बीमा रकम भुक्तानीलाई समयमा नै गराउनुपर्ने बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले खोप अभियानलाई व्यवस्थित बनाउनका लागि जिल्लाले नै निर्णय गरी खोप केन्द्र स्थापना तथा सञ्चालन गर्नसक्ने भएकोले कार्ययोजना निर्माण गरी खोप अभियान अघि बढाउन आग्रह गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?