logo
२०८१ मंसिर ७ शुक्रवार



काम छोडेका ठेकेदार फर्किए, बेनी–तातोपानी सडक कालोपत्रे गरिँदै

प्रदेश |


काम छोडेका ठेकेदार फर्किए,  बेनी–तातोपानी सडक कालोपत्रे गरिँदै


बेनी समाचारदाता

बेनी (म्याग्दी), माघ १० गते । बेनीदेखि तातोपानी सडक कालोपत्रे गर्ने तयारी थालिएको छ । सदरमुकामसँग पश्चिम म्याग्दीलाई जोड्ने बेनी–दरबाङ सडकखण्डअन्तर्गत पर्ने बेनीदेखि तातोपानीसम्मको नौ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी गरिएको हो ।
दुई वर्षअघि सक्ने यो योजनाको निर्माण ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण प्रभावित बन्दै आएको थियो । जिल्लाका सरोकारवाला पक्षहरूको निरन्तर खबरदारी र दबाबपछि ठेकेदार कार्यस्थलमा फर्किएर सडक बनाउन थालेको हो ।

उक्त सडक चार वर्षअघि समानान्तर जेभीसँग २०७६ माघ ४ गते सम्पन्न गर्ने गरी ४५ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का लिएको सुरुका वर्षमा केही काम गरे पनि पछिल्ला दुई वर्षयता काम भएको थिएन । निर्माणको जिम्मा लिएको सहायक ठेकेदारले काम छाडेर भागेपछि अलपत्र बनेको थियो ।

सडक निर्माणको जिम्मा लिएको मुख्य ठेकेदारले नै निरन्तरको दबाबपछि कार्यस्थलमा फर्किएर काम थालेको पूर्वधार विकास कार्यालय म्याग्दीका प्रमुख सन्तोष अर्यालले बताउनुभयो । फागुन पहिलो हप्तादेखि कालोपत्रे थाल्ने गरी सडक फराकिलो, नाली, पर्खाल निर्माण र पहिरो पन्छाउने काम भइरहेको उहाँले बताउनुभयो ।

कालोपत्रेका लागि निर्माण व्यवसायीले मजदुर र उपकरण परिचालन गरेको छ । ठूलोखोलामा अस्थायी क्रसर स्थापना गरेर बेस र सब बेस बिछ्याउन थालिएको छ । जम्मा ११ किलोमिटर सडक सात मिटर चौडाइसहित कालोपत्रे गर्ने योजना रहेको प्रमुख अर्यालले बताउनुभयो ।
चौथो पटक चैत मसान्तसम्म ठेक्काको म्याद थपिएको कार्यालय प्रमुख अर्यालले बताउनुभयो । म्याग्दीको पश्चिम भेगलाई सदरमुकामसँग जोड्न २०६३ मा सडकको ट्र्याक खोलिएको थियो । यो सडकले पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकामसँग जोड्छ । सडक निर्माण ढिला हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?