logo
२०८१ बैशाख ७ शुक्रवार



बागमती प्रदेशमा गठबन्धनका पाैडेल र तिमिल्सिना विजयी

प्रदेश |


बागमती प्रदेशमा गठबन्धनका पाैडेल र तिमिल्सिना विजयी


राममणि दाहाल
हेटौँडा, माघ १२ गते । राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु विजयी हुनुभएको छ । हेटौँडा औद्योगिक क्षेत्रको सभाहल परिसरमा बुधबार मतदान भएको अन्य समुहतर्फ नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र महिला समुहतर्फ नेकपा (एकीकृत समाजवादी) का गोमादेवी तिमिल्सिना निर्वाचित हुनुभएको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचन २०७८ निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले पौडेल र तिमिल्सिना विजयी भएको घोषणा गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
पौडेलले चार हजार ७९४ मतभार र उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका गोपाल शाक्ले चार हजार ३४४ मतभार प्राप्त गर्नुभएको छ । यस्तै तिमिल्सिनाले चार हजार ८२४ र उहाँका निकटम प्रतिद्धन्द्धी एमालेका निरकुमारी कुँवर चार हजार ३६२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनमा प्रदेश सभाका १०६ जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३७ जना गरी ३४३ जनाले मतदान गरेका थिए । प्रदेश सभातर्फ खसेको मतको एक र स्थानीय तहतर्फको दुई मत बदर भएको थियो ।
निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ र गीता काफ्ले राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बन्नुभएको थियो ।
यसैबीच राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत बागमती प्रदेशमा हुने मतदानमा विवेकशील साझा पार्टी सहभागी भएन । उता मङ्गलबार मतदानमा सहभागी नहुने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी बनेको छ ।
बागमती प्रदेश सभामा विवेकशील साझा पार्टीका तीन जना प्रदेश सभाका सदस्य रहेका छन् । प्रदेश सभाका सदस्यको मतभार ४८ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १८ रहने व्यवस्था रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?