logo
२०८२ भाद्र २१ शनिवार



हात्तीको वितण्डा बढेपछि स्थानीय त्रसित

प्रदेश |


हात्तीको वितण्डा बढेपछि स्थानीय त्रसित


सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, माघ १५ गते । सिन्धुली जिल्लामा झन्डै डेढ महिनाको अवधिमा जङ्गली हात्तीको समूहले ९५ वटा घर भत्काएको छ । जिल्लाको दुधौली नगरपालिकाको विभिन्न वडामा ६५ वटा र कमलामाई नगरपालिकाको रानीवासमा ३३ वटा घर तीनवटाको समूहमा रहेका जङ्गली हात्तीले भत्काएको पालिकाले जनाएका छन् ।

दुधौली नगरपालिकाको वडा नं. २ मा मात्रै बिहीबार राति जङ्गली हात्तीले चारवटा घर भत्काएर क्षति पु-याएको वडा नं. २ का वडाध्यक्ष रितेश राउतले जानकारी दिनुभयो । जङ्गली हात्तीको समूहले मानिसको घर भत्काइदिनुका साथै अन्नपात, खाद्यान्न बाली र फलफूल नष्ट गर्दै आएको उहाँले सुनाउनुभयो ।

नगरपालिकाका अनुसार वडा नं. ३ मा २१ घर, वडा नं. ४ मा एक घर, वडा नं ६ मा आठ घर, र वडा नं. ११ मा २८ घर हात्तीले भत्काइसकेको छ । हात्ती पीडित परिवारलाई घर मर्मत गर्न नगरपालिकाले क्षतिको अवस्था हेरी बढीमा २० हजार रुपियाँसम्म नगदसहित प्रतिपरिवार ३० केजी चामल, दुई लिटर तेल, दुई केजी सोयाबिन मस्यौरा, नुन एक केजी, दाल दुई केजी र आलु तीन केजी राहतस्वरूप दिने गरेको वडाध्यक्ष राउतले जानकारी दिनुभयो ।

यो वर्ष गत पुस ३ गतेदेखि दुधौली नगरपालिकाको वडा नं. ११ बाट उक्त हात्तीको समूहले उपद्रो मच्चाएर जनजीवनलाई आतङ्कित बनाउँदै आएको स्थानीयको भनाइ छ । दुधौली नगरपालिका–३, कालापानीका बासिन्दा तेजनाथ अधिकारीले भन्नुभयो, “बस्तीमा हात्ती छिरेको जानकारी पाएपछि डेढ महिनादेखि त्रास बोकेर बसेका छौँ । हात्ती धपाइदिन हारगुहार गरे पनि कुनै पनि निकायले सुनेको छैन ।”
हात्तीपीडित परिवार केही छिमेकको घरमा त कोही घर मर्मत गरी बस्न सुरु गरेको उहाँको भनाइ छ । पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी त्रिपाललगायत गैरखाद्य सामग्री सहयोग गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?