दोलखा समाचारदाता
चरीकोट, माघ २३ गते । जैविक विविधतायुक्त, जिल्लाकै गौरव एवं पालिकाको पहिचान दिने शैलुङको धार्मिक एवं पर्यटन प्रवद्र्धनका लागि शैलुङ गाउँपालिकाले विकासका विभिन्न संरचना निर्माण गरेको छ । समुद्र सतहदेखि करिब तीन हजार मिटर उचाइमा रहेको शैलुङको विकासका लागि कालापानीलाई बेस क्याम्प बनाई विभिन्न संरचना निर्माण गरिएको गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार शैलुङले बुद्धलाई नै परिचित गराएको छ । यसलाई मध्यनजर गरी बेस क्याम्पमा ७० लाख रुपियाँको लगानीमा २५ फिट अग्लो बुद्धको स्तूपा र गुप्तेश्वर महादेवको मूर्ति स्थापना गरिएको छ । पर्यटकका लागि ५० जना क्षमताको गोलघर निर्माण भएको छ ।
यातायात सुविधाका लागि ढुङ्गेबाट करिब चार करोड रुपियाँको लगानीमा सोलिङसहितको सडक स्तरोन्नति गरिएको गाउँपालिका अध्यक्ष दुलालले जानकारी दिनुभयो । बेस क्याम्पमा जग्गा विकास गरी भाडामा दिएपछि साना ठूला गरी चारवटा होटल र एक रिसोर्ट सञ्चालनमा आएको उहाँले बताउनुभयो । पर्यटक सुविधाका लागि यहाँ प्र्रतीक्षालय र सार्वजनिक शौचालय निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
बहुवर्षीय योजनामा बेस क्याम्प कालापानीबाट शैलुङसम्म पैदल जान चालू आर्थिक वर्षमा पाँच करोड लगानीमा तीन मिटर फराकिलो, दुवैतर्फ पर्खालसहितको पाँच सय मिटर लम्बाइको मिनी ग्रेटवाल निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष दुलालले बताउनुभयो । शैलुङ डाँडासम्म विद्युत् र पिउने पानी, वाइफाईको व्यवस्थासँगै आकर्षक बनाउन ठूलो घण्टी पनि राखिएको छ ।