logo
२०८१ मंसिर ७ शुक्रवार



हावाहुरीमा मृत्यु भएका आफन्तलाई मधेस सरकारले एक लाख राहत दिने

प्रदेश |
समाज |


हावाहुरीमा मृत्यु भएका आफन्तलाई मधेस सरकारले एक लाख राहत दिने
मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह मृतकका आफन्तसँगको भेटघाटको क्रममा । तस्बिर - विजयकुमार साह, ढल्केवर



विजयकुमार साह
ढल्केवर, माघ २३ गते । मधेस प्रदेश सरकारले हावाहुरीका कारण मृत्यु भएका परिवारलाई जनही एक एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद्को निर्णयले गत शुक्रबार चलेको हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवारलाई राहत दिने निर्णय गरेको हो ।

मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले हावाहुरीजस्ता प्राकृतिक विपत्तका कारण धनुषा र रौतहटमा ज्यान गुमाएका आफन्तलाई तत्काल जनही एक–एक लाख क्षतिपूर्ति दिने निर्णय भएको बताउनुभयो ।

गत शुक्रबार हावाहुरीका कारण धनुषाको सबैला नगरपालिका–१२ निवासी महेन्द्र सदाका आठ वर्षीया छोरी प्रतिमाकुमारी सदा र चन्देश्वर सदाको सात वर्षीय छोरा अरविन्द सदाको मृत्यु भएको थियो । फकिरचन्द माध्यमिक विद्यालय वरकुर्वाको प्राङ्गणमा रहेको मसलाको रुख ढल्दा ती दुबै जना बालक च्यापिएर घाइते भएकोमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यसैगरी, रौतहटको बौद्धिमाई नगरपालिका–१ अजगैवामा हावाहुरीसँगै आएको वर्षाले घर भत्कँदा राममङ्गलराय यादवको ४५ वर्षीया श्रीमती फूलमतिया देवीको च्यापिएर मृत्यु भएको थियो ।
मन्त्री साहले मृतकका आफन्तहरुलाई भेटेर थप मद्दत गराउन प्रदेश सरकारले स्थानीय सरकार र सङ्घ सरकारसँग समन्वय गरिरहेको समेत जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?