राममणि दाहाल
हेटौँडा, माघ २४ गते । हेटौँडा उपमहानगरपालिका–६ स्थित चित्रेपानीमा निर्माणाधीन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानको निर्माणमा ढिलाइ भएको छ । प्रतिष्ठान निर्माणको क्रममा निर्माण सामग्रीको अभाव र भुक्तानीमा भएको ढिलाइका कारण निर्माणले गति लिन नसकेको हो । प्रतिष्ठान भवन दुई वर्षभित्र सम्पन्न गर्ने गरी भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन्स् कन्सल्ट्यान्ट्स इन्डिया लिमिटेड (टीसीआईएल)ले २०७६ भदौ १४ गते निर्माण सम्झौता गरेको थियो । निर्माण सम्पन्न गर्ने सम्झौता अवधि सकिएर पाँच महिना बितिसक्दासमेत प्रतिष्ठानको भवन निर्माणको कामको भौतिक प्रगति ५० प्रतिशतसम्म पनि भएको छैन ।
टीसीआईएलको तर्फबाट निर्माणको काम गर्दै आएको नेपाली निर्माण कम्पनी शान्ति आरोग्य जेभीले आगामी जुलाई महिनासम्मका लागि म्याद थपिएको जानकारी दिएको छ । शान्ति आरोग्यका प्रोजेक्ट म्यानेजर अभिषेक बरालले सुरुमा निर्माण सामग्री भारतीय निर्माण कम्पनीमार्फत भारतबाट नै आउने सम्झौताअनुसार समयमा निर्माण सामग्री नआउने र भन्सारमा प्रक्रियागत झन्झटलगायतका कारण समयमा निर्माण सामग्री उपलब्ध नभएकाले निर्माणले गति लिन नसकेको जानकारी दिनुभयो ।
उहाँले पछिल्लो समय नेपालमा नै निर्माण सामग्री खरिद गरेर प्रयोग गर्ने सहमति भए पनि निर्माणको काममा भएको खर्चको भुक्तानी भारतीय कम्पनीबाट आउन ढिलाइ हुने गरेकाले काम प्रभावित भएको बताउनुभयो । निर्माण सामग्री खरिद गर्दाको र मजदुरलाई दिएको भुक्तानीको बिलको भारतीय कम्पनीबाट भुक्तानी दिन ढिलाइ हुने गरेको छ, उहाँले भन्नुभयो, “बिल पास भएर भुक्तानी आउन हप्तौँ लाग्छ समयमा भुक्तानी नपाउँदा निर्माण सामग्री खरिद र मजदुरको भुक्तानीमा समस्या भएको छ, त्यसैले आयोजनाको निर्माणमा पनि ढिलाइ हुन पुगेको हो । ” २३ वटा ब्लकमा काम भइरहेको र अधिकांश भवनको बेसको काम पूरा भएको जानकारी दिँदै उहाँले हालसम्म आयोजनाको ४९ प्रतिशत काम सकिएको र आयोजनाको सम्पूर्ण काम पूरा गर्न अझै दुई वर्ष लाग्ने बताउनुभयो ।
बहुप्राविधिक महाविद्यालय निर्माण गर्न नेपाल सरकार र भारत सरकारबीच सम्झौता भएको १० वर्षमा २०७६ माघ १९ गते बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल र भारतीय दूतावासका चार्ज डिअफेयर्स डा. अजयप्रसादले प्रतिष्ठानको संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको २०६६ फागुन ४ गते भएको पहिलो औपचारिक भारत भ्रमणका क्रममा शिक्षालय स्थापनाका लागि नेपाल सरकार र भारत सरकारबीच सहयोगसम्बन्धी द्विपक्षीय सम्झौता भएको थियो । भारत सरकारको ५८ करोड ४८ लाख रुपियाँ आर्थिक सहयोग स्थापना हुने शिक्षालयमा प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक एवं कम्युनिकेसन इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङलगायतका तीन वर्षे डिप्लोमा कोर्ष सञ्चालन हुने गरी प्रतिष्ठान निर्माण गरिएको हो । साढे १७ हेक्टर क्षेत्रफलमा निर्माण हुन लागेको प्रतिष्ठानको सुरक्षाका लागि भारतीय दुई करोड ७८ लाख रुपियाँको लागतमा सुरक्षा पर्खाल निर्माण भइरहेको छ ।
नेपाल–भारत मैत्री महाविद्यालयका प्राचार्य रामनारायण चौधरीले नेपाली निर्माण कम्पनीलाई भुक्तानीमा भएको ढिलाइका कारण निर्माणको कामले गति लिन नसकेको भन्दै आफूले निर्माणमा आएका समस्यामा समन्वय गर्ने र गुनासोका बारेमा माथिल्लो निकायमा जानकारी गराउने गरेको बताउनुभयो । सहमतिअनुसार इन्स्टिच्युट सञ्चालनको पहिलो पाँच वर्षसम्म भारत र नेपालका समान सङ्ख्यामा कर्मचारीको व्यवस्था गर्ने र पाँच वर्षपछि भारतले आफ्ना कर्मचारीको सङ्ख्या आधा घटाई १० वर्षपछि पोलिटेक्निक इन्स्टिच्युट नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।
मध्यमस्तरका औद्योगिकसहित प्राविधिक जनशक्ति माग पूर्ति गर्न हेटौँडामा वि.सं. २०५१ सालबाट सुरुमा हेटौँडा बहुप्राविधिक महाविद्यालय निर्माणका लागि पहल गरिएको होे । महाविद्यालयमा २०७६ सालबाट तीन वर्षे मेकानिकल इन्जिनियरिङको पढाइ सुरु गरिएको छ । शिक्षालयमा कक्षाकोठा, छात्रावास, खेलकुद मैदान, पुस्तकालय, वर्कसप, प्रशासनिक भवन, बहुउद्देश्यीय सभाहल, व्यावसायिक तालिम भवनलगायत संरचना निर्माण हुने भएका छन् ।