logo
२०८१ मंसिर १४ शुक्रवार



हिउँदे सभा कतै सुरु, कतै भएन

प्रदेश |


हिउँदे सभा कतै सुरु, कतै भएन


काभ्रे समाचारदाता

काभ्रे, माघ २५ गते । जिल्लाका स्थानीय तहले हिउँदे अधिवेशन कतै सुरु गरेका छन् भने कतै सुरुवात नै नगरेको पाइएको छ । काभ्रेका १३ पालिकामध्ये धुलिखेल नगरपालिका, नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका र खानीखोला गाउँपालिकाले हिउँदे सभा सुरु गरेका छन् ।

माघ मसान्त हुन लाग्दासमेत बनेपा नगरपालिका, पाँचखाल नगरपालिका, पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, रोसी गाउँपालिका, तेमाल गाउँपालिका, महाभारत गाउँपालिका, भुम्लु र चौँरीदेउराली गाउँपालिकाले हिउँदे सभा सुरु गरेका छैनन् ।

अधिवेशनमा पालिकाहरूले पालिकाले बनाएका ऐन कानुनको कार्यान्वयन, आर्थिक वर्ष २०७८/७९ मा विनियोजित योजना कार्यक्रमको प्रगति साथै समस्या र चुनौतीका बारेमा समीक्षा गर्नेछन् । धुलिखेल नगरपालिकाको दशौँ विधेयक अधिवेशनमा पेस भएकामध्ये तीनवटा विधेयक सर्वसम्मतिबाट पारित गरेको छ ।

नगरप्रमुख अशोककुमार व्याञ्जू श्रेष्ठले नगरपालिकाको राजपत्रसम्बन्धी विधेयक २०७८, धुलिखेल नगरपालिकाको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७८ र आम सञ्चार विधेयक २०७८ सर्वसम्मते पास गरेको जानकारी दिनुभयो । धुलिखेलको नगरसभा जारी छ ।

प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले धुलिखेल नगरपालिकाले हालसम्म ८५ वटाभन्दा धेरै नियमावली, कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । नमोबुद्ध नगरपालिकाको एघारौँ नगरसभा जारी रहेको जनाएको छ । नगरका प्रेस सल्लाहकार विनोद न्यौपानेले संंस्था दर्तासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरिएको जानकारी दिनुभयो ।

नगरसभा बैठकमा विनियोजन विधेयक २०७८ माथिको संशोधन प्रस्ताव पेस गरिएको थियो । माघ २६ गते नगरसभा बस्ने न्यौपानेले जानकारी दिनुभयो । वार्षिक नीति तथा कार्यक्रम पेस भएको छ महिनाभित्रमा हिउँदे सभा पालिकाले गर्नुपर्ने हुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?