logo
२०८१ जेष्ठ ५ शनिवार



स्थानीयको आयस्तर उकास्न रामकोटमा होमस्टे

प्रदेश |
पर्यटन |


स्थानीयको आयस्तर उकास्न रामकोटमा होमस्टे
रामकोटमा होमस्टेको शुभारम्भ कार्यक्रममा सहभागीहरु । तस्बिर–अमरराज नहर्की



अमरराज नहर्की
तनहुँ, माघ २९ गते । पर्यटनको माध्यमबाट स्थानीय वासिन्दाको आयस्तर उकास्न तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर गाउँपालिका–३ मा पर्ने रामकोटमा घरबास सञ्चालनमा ल्याएको छ । बन्दीपुर आउने पर्यटक रामकोट पनि घुम्न जाने क्रम बढेपछि पाहुनालाई खाने र बस्ने व्यवस्था गराई आयस्तर परिवर्तन गराउन घरबास (होमस्टे) सञ्चालनमा ल्याईएको बन्दीपुर गाउँपालिकाले जनाएको छ ।

मनमोहक प्राकृतिक दृश्य र मगर संस्कृतिमा रम्न सो ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्दै गएकाले पाहुनालाई त्यही बस्ने व्यवस्था गरी आयस्तर परिवर्तन गर्न होमस्टे सञ्चालनमा ल्याइएको बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले बताउनुभयो । ‘बन्दीपुर बजार मात्रै नभई यस आसपासको क्षेत्रलाई ग्रामीण र साँस्कृतिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम मार्फत घरबास सञ्चालनमा ल्याइएको हो’ उपाध्यक्ष गुरुङले भन्नुभयो । बन्दीपुर घुम्न आउने पर्यटकहरू रामकोट आउने क्रम बढेसँगै रामकोट होमस्टे भरिभराउ हुने गरेको होमस्टे सञ्चालक समितिकी अध्यक्ष बिहीसरा आलेले बताउनुभयो । घरबास प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारबाट प्राप्त २० लाख रुपियाँबाट गाउँभित्र रहेको अव्यवस्थित बाटोलाई व्यवस्थित गर्ने काम गरिएको छ होमस्टेकी अध्यक्ष आलेलेले जानकारी दिनुभयो ।

८८ घरधुरी मगरहरूको मात्र बसोबास रहेको रामकोटका ३० घरमा मात्र होमस्टे सञ्चालन गरिएको छ । होमस्टेमा हाल एकै साथ ६० जनासम्म पाहुना राख्न सक्ने क्षमता छ । स्थानीयस्तरमा उत्पादित साग, गुन्दु्रक, मकै, गिठा, भ्याकुर, तरुल पर्यटकले कोेदोको ढिंडो, कोदोको रोटी, फापरका परिकार, गुन्द्रुकको अचार आदिको स्वाद लिन पाउँछन् । यसैगरी कोदोको रक्सी, स्थानीय बाख्रा, सुँगुर, बङ्गुर, स्थानीय कुखुराको मासु लगायतको पनि । बन्दीपुर आउने अधिकांश पर्यटकहरू रामकोट पुगेकै हुन्छन् । विशुद्ध मगरहरूको बस्ती रहेको रामकोटमा मगरहरूका जोडिएका घरहरू पनि हेर्न लायक विशेषता हो । मगरहरूको कौरा नाच पर्यटकहरूले अत्याधिक मन पराउने गर्छन् । मगर समुदायको भाषा, संस्कृति, रहनसहनलाई पर्यटनसँग जोड्दै स्थानीयको आर्थिक उपार्जनको पाटो बलियो बनाउने उद्देश्यले घरबास कार्यक्रम अगाडि ल्याएको गाउँपालिकाले जनाएको छ ।

होमस्टेको गण्डकी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उद्घाटन गर्नुभयो । सो अवसरमा चुमानले यस होमस्टेले आयस्तरमा उकास्न मात्रै नभई कला र सस्कृतिको संरक्षणमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । घरबासमा स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्राथमिकता दिइएको छ । बन्दीपुरमा आउने पाहुनालाई रामकोटसम्म पु¥याउने गरी विभिन्न पर्यटन लक्षित पूर्वाधारहरु निर्माण कार्य अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो । मुख्यमन्त्री जैविक नमूना गाउँका लागि ७० लाख रुपियाँ र प्रदेश सरकारबाट घरबास प्रवद्र्धनका लागि १५ लाख रुपियाँ बजेट विनियोजन गरिएको अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । ‘स्थानीयवासीलाई स्वरोजगार बनाउन घरबासले थप सहयोग पुग्ने विश्वास गरिएको छ’ अध्यक्ष थापाले भन्नुभयो ।

रामकोट गाउँ मगरहरूको संस्कृति, परम्परागत शैलीमा निर्मित घर र वरपरका मनमोहक प्राकृतिक वातावरणमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा परेको छ । होमस्टे सञ्चालनको लागि तीन महिने तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । पहाडकी रानी उपनाम पाएको बन्दीपुरसँगै जोडिएको गाउँ हो रामकोट । बन्दीपुरबाट करिब तीन किलोमिटरको दूरीमा रामकोट रहेको छ । उत्तरतर्फ लहरै देखिने हिमाल र विशाल सुखौराफाँट पनि पर्यटकलाई आनन्दित तुल्याउने विशेषता हुन । सानो ठाउँमै व्यवस्थित रूपमा परम्परागत शैलीमा बनेका मगरहरूको मौलिक घुमाउने घर अर्को विशेषता हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?