logo
२०८१ बैशाख २१ शुक्रवार



‘महाभियोग हठात् आएको होइन’

प्रदेश |


‘महाभियोग हठात् आएको होइन’


विराटनगर समाचारदाता

विराटनगर, फागुन ३ गते । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानन्यायाधीशले समयमै निकास नदिँदा महाभियोग लगाउनुपर्ने अवस्था आएको बताउनुभएको छ । नोना कोइराला स्मृति प्रतिष्ठानले नोना कोइरालाको १४औँ स्मृति दिवसको अवसरमा सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले आफूले पटकपटक निकास दिन सुझाव दिँदा प्रधानन्यायाधीशले नमानेको र अहिलेको समस्या आएको बताउनुभयो ।

“मैले धेरै पहिले नै निकास दिनुपर्छ भनेर प्रधानन्यायाधीशलाई भनेको थिएँ । निकास खोजेर पहिले नै अघि बढेको भए यो समस्या आउँदैनथ्यो,” डा. कोइरालाले भन्नुभयो, “महाभियोगजस्तो विषय सेक्रेट हुनुपर्छ, हल्ला गरेर अघि बढ्दा झन् समस्या हुने भएकाले यो हठात् आएको भन्ने कुरा होइन । ” महाभियोग आउनुमा सत्ता गठबन्धन, एमसीसीजस्ता विषयले पनि काम गरेको हुनसक्नेतर्फ उहाँले सङ्केत गर्नुभयो ।

उहाँले महाभियोग टुङ्गो लाग्न तीन/चार महिना लाग्ने बताउनुभयो । यद्यपि गठबन्धनसँग महाभियोग पारित गर्ने मत नभएकाले के हुन्छ भन्ने अहिले नै भन्न सक्ने अवस्था नरहेको उहाँको भनाइ थियो । सरकारका प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशहरूमा जवाफदेहिता, उत्तरदायित्व र पारदर्शिता नहुँदा समस्या आउने गरेको भन्दै लोकतन्त्रमा यी सबै कुराको महत्त्व रहेको उहाँको भनाइ थियो । शक्ति सन्तुलनका लागि निर्धारण गरिएका राज्यका अङ्गको सञ्चालन सन्तुलित नभएको उहाँको भनाइ थियो । नेता कोइरालाले भन्नुभयो, “प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश जवाफदेही, उत्तरदायी र पारदर्शी छन् कि छैनन् ? उनीहरूले त्यस ढङ्गले काम गर्न सकेका छन् वा शक्ति सन्तुलनको सही प्रयोग गरेका छन् ? हामीले हेर्नुपर्ने हुन्छ । ”

एमसीसीका सन्दर्भमा उहाँले संसद्मा पेस गरेर निष्र्कषमा पु¥याउनुपर्ने बताउनुभयो । एमसीसीलाई संसद्बाट पारित गराउने विषयमा पहिले काँग्रेस असहमत भए पनि पछि केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री युवराज खतिवडाले कानुन मन्त्रालयमार्फत यो विषय प्रवेश गराएको पनि उहाँले बताउनुभयो । कार्यक्रमका बीच साहित्यकार तथा समालोचक दधिराज सुवेदीलाई नोना कोइराला स्मृति प्रतिष्ठानले सम्मान गरेको छ । प्रतिष्ठानका संरक्षक डा. शेखर कोइरालाले सुवेदीलाई माला, दोसल्ला र सम्मान पत्र अर्पण गर्नुभयो । त्यस क्रममा समालोचक सुवेदीले नोना कोइरालाको योगदानका बारेमा चर्चा गर्नुभयो ।

२००७ सालको क्रान्तिका बेला हतियार ल्याउने र लुकाउने कामको नेतृत्व गरेको, बहादुरीपन र दूरदृष्टियुक्त महिला नेत्री भएकाले पनि उहाँलाई सधैँ स्मरण गर्नुपर्ने बताउनुभयो । कोइराला परिवारका पछिल्ला पुस्तामा नोना कोइरालामा जस्तो दूरदृष्टि नदेखिएको उहाँले बताउनुभयो ।

नोना कोइराला स्मृति प्रतिष्ठानको भवनमा निर्माण गरिएको केशवप्रसाद कोइराला र नोना कोइरालाको प्रतिमा पनि सोमबार अनावरण गरिएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?