logo
२०८१ मंसिर १२ बुधवार



कर्णाली लोकमार्ग: विकास र समृद्धिको ‘लाइफलाइन’

प्रदेश |


कर्णाली लोकमार्ग: विकास र समृद्धिको ‘लाइफलाइन’


राजन रावत

विकास र समृद्धिको बहसमा प्रायः कर्णालीको नाम लिइन्छ । पिछडिएको, राज्यले उपेक्षा गरेको, मानवसूचाङ्कमा कमजोर कर्णाली विकासको बाटोमा जुरुक्क उठ्ने प्रयत्न गर्दैछ । दुर्गमको अर्को नामका रूपमा लिइने कर्णालीले विकासको बाटो पहिल्याउँदै छ । त्यो विकासको ढोका खोल्ने काम ‘कर्णाली करिडोर’ ले गरिरहेको छ । लोकमार्गले कर्णालीको समृद्धिमा प्रमुख भूमिका खेल्ने अपेक्षा कर्णालीवासीको छ ।


उत्तर दक्षिणका दुई विशाल मुलुकलाई जोड्ने मुख्य सडक मार्ग हो, कर्णाली करिडोर । नेपाल–भारत सिमाना जमुनादेखि नेपाल–चीन सिमाना हिल्सासम्म जोड्ने सडकलाई कर्णाली प्रदेशको विकास र समृद्धिको मेरुदण्डका रूपमा हेरिन्छ । सो सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । छ वटा जिल्लाको भूभाग समेट्दै अगाडि बढ्ने पाँच सय छ किलोमिटर लामो सो सडकले लाखौँ जनताको ‘लाइफलाइन’ का रूपमा काम गर्नेछ । कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म १९६ किलो मिटर लम्बाइ रहेको छ । कालीकोटको खुलालुदेखि बाजुराहुँदै हुम्लाको सिमकोटबाट हिल्सा भएर मानसरोवर कैलाश यात्रासमेत सहज बनाउने छ ।


कर्णाली प्रदेश सरकारले कर्णाली करिडोरलाई जमुना सिमकोट हिल्सा प्रधानमन्त्री दु्रत मार्गका रूपमा नामकरण गरिसकेको छ । अहिले कालीकोटको खुलालुदेखि बाजुरा र हुम्लाको सिमाना कवाडीहुँदै सलीसल्लासम्मको १८४ किलो मिटरमा सडक निर्माण कार्य सम्पन्न भइसकेको छ । यसअन्र्तगत कालीकोटमा ४० किलो मिटर, बाजुरामा ४३ र हुम्ला खण्डमा १०१ किलोमिटर सडक पर्दछ ।

कुल १८४ किलो मिटरमध्ये ५१ किलोमिटरमा सडक विभागले निर्माण कार्य गरिरहेको छ । १२३ किलो मिटरमा नेपाली सेनाले निर्माण कार्य गरेको थियो । सुर्खेतको बाँगेसल्लादेखि दहीखोलासम्म १२६ किलोमिटर कर्णाली राजमार्ग नै पर्ने भएका सो खण्डमा पक्की सडक निर्माण गरिएको छ । कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक करिब १२२ किलोमिटर रहेको छ । जुन सडक निर्माण कार्य सेनाले सम्पन्न गरी बुझाई सकेको छ । अहिले यो खण्डमा यातायातसमेत सञ्चालन हुँदैआएको छ । कालीकोट खण्डको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि पचालझरना गाउँपालिकाको लैफुसम्मको ४० किलोमिटर क्षेत्रमा पर्ने खुलालु खोलामा १३० फिट लामो बेलिब्रिज निर्माण गरिएको छ । खुलालुकै करिब दुई किलोमिटर क्षेत्रको चट्टान फुटाउने काम सम्पन्न गर्न नेपाली सेनाको निर्माण कार्यदल सफल भएको थियो ।

कर्णाली करिडोरको बाँकी हुम्ला खण्डमा यतिखेर सुस्त गतिमा काम भइरहेको छ । कर्णाली करिडोरको विभिन्न खण्ड निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएपछि यो करिडोर निर्माणले गति लिएको हो । हुम्लाको सदरमुकाम सिमकोट सडक जोडिन अब ५० किलोमिटर मात्र बाँकी छ । यसमा सलीसल्लादेखि दुल्ली कुनासम्म सडकको ट्रयाक खोल्ने कार्य पूरा भइसकेको छ । यता करिडोरकै खार्पुबाट लालीबगरसम्मको सडक निर्माण कार्य पनि पूरा भएको छ । अब दुल्ली कुनादेखि लालीबगरसम्मको सात किलो मिटर चट्टानी भागमा काम गर्न बाँकी छ । सो खण्डको निर्माण कार्य नेपाली सेनालाई जिम्मा दिने निर्णयसमेत सरकारले गरिसकेको छ ।यता खार्पुबाट सिमकोटसम्मको १२ किलो मिटर सडकमा खार्पु–स्याम्नेसम्म सडक निर्माण कार्य सम्पन्न भइसकेको छ । स्याम्नेबाट सिमकोटसम्म स्थानीय जग्गा धनीको विरोधको कारण रोकिएको सडकको निर्माण कार्य अगाडि बढाउन जग्गा धनी सहमत भई सकेका छन् ।

हुम्ला जिल्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग अहिलेसम्म पनि जोडिएको छैन । हुम्ला जिल्लाका दक्षिणी क्षेत्रका ताँजाकोट, अदानचुली चङ्खेली र सर्केगार्ड गाउँपालिका कर्णाली करिडोरसँग जोडिएका छन् । यसका लागि २०७८ साल असार ३१ गते कालीकोटको खुलालुदेखि हुम्ला जिल्लाको सलीसल्लासम्मको १२२ किलो मिटर सडकको निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिएको थियो । यस खण्डमा हुम्ला जिल्लाको कवाडीदेखि सलीसल्लासम्म ३९ किलोमिटर सडक पर्छ । सलीसल्लामा अझै पुल बनेको अवस्था छैन । सो पुल बने चङ्खेली र सर्केगार्ड गाउँपालिका पूर्ण रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ । सलीसल्लाबाट सिमकोटसम्मको ४९ किलोमिटर सडक छिचोल्ने कार्य भइरहेको छ । उक्त खण्डको छारे खण्डको सबैभन्दा असजिलो चट्टानी भीर छिचोल्ने कार्यको जिम्मा नेपाल सरकारले नेपाली सेनालाई दिएको छ ।

सिमकोट–हिल्सा सडक
सडक विभागले हिल्सा–सिमकोट सडक आयोजनाको काम आर्थिक वर्ष ०६९/०७० बाट गर्दै आएको हो । आयोजनाले अहिलेसम्म दुई सय मिटरबाहेक अन्य सबै क्षेत्रमा सडक छिचोल्ने कार्य सम्पन्न गरेको छ । आयोजनाकै सबैभन्दा कठिन च्याछरा भीरमा चट्टान फुटाउने कार्य भइरहेको छ । सिमकोट–हिल्सा सडक आयोजनाको ९५ किलो मिटरमा ९४.८ किलोमिटर सडकको ट्याक खोल्ने कार्य पूरा भएको छ । बाँकीमा पनि काम भइरहेको छ । अर्को ६१.५ किलोमिटर सडकको विस्तार कार्य पनि सम्पन्न भइसकेको छ ।
त्यस्तै, यो खण्डका लागि छ वटा पुल निर्माण गर्नुपर्नेमा हिल्सा र तुम्कोटमा पुल निर्माण भइसकेको छ । हेक्पा खोला र ताग्रु खोलाको पुल पनि चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ ।

याङ्गार खोलाको पुल निर्माणको टेण्डर भएर निर्माण कम्पनी छनोट भइसकेको छ । सिमकोट हिल्सा सडक आयोजनाले हालसम्म नब्बे करोड खर्च गरिसकेको छ । यद्यपि, यो खर्च साबिकको जिल्ला विकास समितिले आफ्नो स्रोत र विश्व खाद्य कार्यक्रमअन्र्तगत ‘कामका लागि खाद्यान्न’ बाहेकको खर्च हो ।नाम्खा गाउँपालिकाको तुम्कोट केर्मीसम्म यातायात सञ्चालन भइरहेको छ । सल्ली खोलासम्म पनि यसअघि नै यातायात सञ्चालन भइसकेको थियो ।
कर्णाली करिडोरअन्र्तगत सिमकोट–सलीसल्ला खण्डको कुल लम्बाइ ५१.६७ किलोमिटर रहेको छ । जसअन्तर्गत हिल्सा–सिमकोट सडक आयोजनाले १६ किलोमिटर चट्टानी भागबाहेक अन्यत्र काम सम्पन्न गर्ने चरणमा छ । जसमा २९ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य पूरा भएको छ ।

विकासे योजनामा घट्यो लागत
स्थानीयवासीको जीवनमा मात्र होइन विकासे आयोजनामा समेत सडकले प्रभाव पारेको छ । विकासे आयोजनाको अनुमान लागत समेत घट्न थालेको छ । आठ हजार मूल्य पर्ने सिमेन्टको अहिले चौध सयमा झरेको छ । त्यसैगरी जस्तापाता, फलाम, छड, ग्याविनको मूल्य पनि घटेको छ । सामग्रीको मूल्य घटेपछि विकासले पनि फड्को मार्ने ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लको अपेक्षा छ । उहाँ भन्नुहुन्छ, “सडक नहुँदा ढुवानी नै बढी लाग्ने गरेको थियो । अब आयोजनामा ४० प्रतिशतसम्म लागत घट्छ । अब पनि कर्णालीले विकास नगरे कहिले गर्ने ?”

स्वास्थ्यमा बढ्यो पहुँच
हुम्लाबाट बाजुराको कोल्टी विमानस्थलहुँदै हवाई जहाजमा नेपालगञ्ज वा सुर्खेत पुग्न दुईदेखि तीन दिन लाग्ने गथ्र्यो । त्यो पनि बाजुराको कोल्टीमा टिकट पाइएमा मात्र । सदरमुकाम सिमकोटसम्म बिरामी ल्याउन चार दिन पैदल हिँड्नु पर्ने अवस्था थियो । त्यसैले कतिपय बिरामीले उपचारको अभावमा मृत्युवरण समेत गरेका घटना प्रशस्त छन् । त्यो पनि स्टेचर वा मानिसले बोकेर लैजानुपर्ने अवस्था थियो तर अहिले अवस्था त्यो रहेन । सडक सञ्जाल जोडिएसँगै बिरामीलाई गाडीमै लैजाँदा पनि एक दिनमै सुर्खेत वा नेपालगञ्ज पु¥याउन सकिने भएको छ ।

सहज खाद्यवस्तु
सडकले हुम्लाको खाद्यान्न समस्या समेत समाधानउन्मुख छ । कतिपय बेला जनताले खाद्यान्न नपाउने परिस्थिति थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढुवानी अनुदानमा बिक्री वितरण गर्ने खाद्यान्न हुम्लाका ग्रामीण बासिन्दाले पाउँदै थिए । दक्षिणी हुम्लामा अहिले जनताले आफूले चाहेका खाद्यान्न घरघरमै खरिद गरेर उपभोग गर्ने अवस्था छ । यसलाई एक प्रकारले खाद्यान्न समस्या समाधान भएको मान्न सकिन्छ ।

पर्यटक आगमन बढ्ने
यातायात पहुँच विस्तारसँग हुम्लाको पर्यटन क्षेत्रले फड्को मार्दैछ । यद्यपि, यो वर्ष कोरोना कारण पर्यटन क्षेत्र प्रभावित बनयो । अघिल्ला वर्षमा एक हजार पाँच सयसम्म पर्यटकहरू भित्रिने गरेका थिए । उनीहरूले केही मानसरोवर कैलाशको यात्रा गर्ने भए पनि अधिकांश भने हुम्ला जिल्लाकै पर्यटकीय क्षेत्रहरूको अवलोकन गर्ने गरेका थिए । अघिल्ला दुई वर्षमा १२ हजार पाँच सय र १० हजार नौ सय भारतीयहरूले सिमकोटहुँदै हिल्साबाट मानसरोवर कैलाशको धार्मिक यात्रा गरेका थिए । २०७५ सालमा भने सात हजार चार सयले हुम्लाहँुदै मानसरोवरको यात्रा गरेका थिए । यो सङ्ख्या सडक निर्माण कार्य सम्पन्न गरेर सञ्चालनमा ल्याउन सके बढ्ने निश्चित छ । किन कि महँगो यात्रा सस्तो हुनेछ । यस वर्ष पनि मानसरोवर कैलाशको धार्मिक यात्रा भएको थियो । कात्तिक र शिवरात्रिमा भारतीय पर्यटकहरूको दुई वटा समूहले नेपाली भूमि लाप्चाबाट कैलाश दर्शन गरेका थिए । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?