logo
२०८१ मंसिर १२ बुधवार



पहाडकी रानी पाल्पा

प्रदेश |


पहाडकी रानी पाल्पा


रेखीराम राना

पाल्पा अर्थात् पहाडकी रानी । पहाडी जिल्लामध्ये एउटा सुन्दर जिल्ला हो पाल्पा । पाल्पा भन्ने वित्तिकै जो कोहीको मनमा मनोरम, स्वच्छ र सुन्दरताको विम्ब खडा हुन आउँछ । बाह्रौँ/तेह्रौँ शताब्दीदेखि नै मगराँत, बाइसे, चौबीसे राज्यको छुट्टै अभ्यास थियो पाल्पामा । सेनकालीन र राणाकालीन शासन कालमा त पाल्पाले आफ्नै विशिष्ट इतिहास बनाएको थियो । विगतको यही ऐतिहासिक, सांस्कृतिक एवं राजनीतिक प्रभुत्वका कारण पाल्पा अहिले पनि स्वदेश तथा विदेशमा परिचित छ । विगतदेखि यहाँसम्म आइपुग्दा पाल्पाले फरक पहिचानलाई आधार बनाएर अघि बढ्ने प्रयास गरिरहेको छ । विभिन्न निकायले खासगरी पर्यटकीय गन्तव्यका रूपमा पाल्पालाई चिनाउने आधार तयार गर्दैछन् । पाल्पाको रानीमहल, पाल्पा दरबार सङ्ग्रहालय, भैरवस्थान, अमरनारायण मन्दिर, भगवती मन्दिरजस्ता ऐतिहासिक धरोहरहरूको विकासबाट नै जिल्लाले समृद्धिको यात्रा पूरा गर्नसक्छ भन्ने पाल्पालीलाई लागेको छ । त्यसैले पाल्पाले पर्यटन केन्द्रित योजना र कार्यक्रमलाई अगाडि बढाएको देख्न सकिन्छ ।

ताजमहलको झल्को दिने रानीमहल
रानीमहल अर्थात् प्रेमको प्रतीक । तत्कालीन पश्चिम कमाण्डका कमाण्डर अर्थात् बडाहाकिम जनरल खड्गशमशेर राणाले आफ्नी रानी तेजकुमारीको सम्झनामा रानीमहल बनाएका थिए । खड्गशमशेरले पत्नी तेजकुमारीको निधन भएपछि उनको सम्झनामा एक सय २८ वर्षअघि दरबार बनाएको इतिहासमा उल्लेख छ । रानीको प्रेम प्रतीकको रूपमा बनाएको दरबारलाई प्रसिद्ध ताजमहलको स्वरूपकै रूपमा लिइन्छ । कालीगण्डकी नदीको तटमा रहेको विशाल चट्टानमाथि बनाइएको दरबार प्यागोडा शैलीमा निर्माण गरिएको थियो । कालीगण्डकीको बहाव उत्तरबाहिनीतर्फ फर्किएको स्थानमा दरबार निर्माण भएकाले हिन्दु धर्मालम्बीहरूले यसलाई पवित्रताको प्रतीतकको रूपमा व्याख्या गर्दछन् । रानीमहलको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरीको दाहिनेतर्फ पहरा (सुरक्षा) दिने स्थल  छ ।

बायाँतर्फ एउटै किसिमका शिव र गङ्गाका दुई मन्दिर छन् । यसले रानीमहललाई थप आकर्षित बनाउन सहयोग पु-याएको छ । महलको पूर्वतिर खड्गशमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्गशमशेरका कोठाहरू सजिएका छन् । त्यस्तै, वरिपरि रहेको बगैँचा र रानी पोखरीले महललाई आकर्षक बनाउनमा भूमिका खेलेका छन् । रानीमहलको केही वर्षयता प्रेमको प्रतीकको रूपमा प्रचार–प्रसार हुनथालेपछि युवापुस्ताको आकर्षणको केन्द्रका रूपमा बदलिएको छ । यहाँ हरेक वर्ष फागुन २ अर्थात् ‘भ्यालेन्टाइन डे’का अवसरमा विशेष चहलपहल हुने गर्दछ । यसका साथै वर्षभरि नै रानीमहलमा आन्तरिक तथा बाह्य पर्यटकलाई घुम्ने अवस्था बनेको छ । प्रदेश सरकार, तानसेन नगरपालिकाले रानीमहललाई पर्यटकीय स्थल बनाउन पूर्वाधार निर्माण र संरक्षणमा विभिन्न काम गरेका छन् । दिउँसोको समयमा मात्र होइन, अहिले रातको समयमा समेत रानीमहल घुम्न दृश्यावलोकनसहितको छुट्टै आनन्द लिन सकिने बनाइएको छ ।

पाल्पा दरबार सङ्ग्रहालय
पाल्पा दरबार अर्थात् सङ्ग्रहालय १९८२ सालमा वीरशमशेरका छोरा प्रतापशमशेरले निर्माण गर्न लगाएका थिए । २००७ साल अघिसम्म नेपालको पश्चिम क्षेत्र (राज्य)को प्रशासनिक एवं राजनीतिक काम यही दरबारबाट हुन्थ्यो । २००७ सालदेखि २०६२ सालसम्म भने यहाँ सरकारी कार्यालयहरूले नागरिकलाई सेवा दिने प्रशासनिक भवन बनेको थियो । झण्डै एक सय वर्षअघि निर्माण भएको पाल्पा दरबार बेलायती शैलीमा निर्माण भएको काठमाडौँको सिंहदरबारसँग पनि तुलना गर्न सकिन्छ । २०६२ माघ १८ गते तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणमा ध्वस्त भएको पाल्पा दरबार पुनर्निर्माणपछि छ वर्ष अघिदेखि पाल्पा दरबार सङ्ग्रहालयको रूपमा सञ्चालन भइरहेको छ । हाल पाल्पा दरबारलाई लुम्बिनी प्रदेश सरकारले प्रदेशकै महìवपूर्ण सङ्ग्रहालयको रूपमा विकास गरिरहेको छ । सङ्ग्रहालयभित्र प्रदेशभित्रका महìवपूर्ण जाति, जनजातिको ऐतिहासिक एवं सांस्कृतिक पहिचान झल्काउने भाँडाकुँडा राखिएको छ । यसका साथै तत्कालीन पाल्पा तैनाथ उजिरसिंह थापाले नेपाल–अङ्ग्रेज युद्धताका प्रयोग गरिएका युद्ध सामग्रीको समेत छुट्टै कक्ष निर्माण गरिएको छ । प्रदेश सरकार, नेपाल सरकार र नेपाली सेनाको लगानीमा सङ्ग्रहालयलाई व्यवस्थित बनाउने र सञ्चालन गर्ने कार्य भइरहेको छ । त्यसैले पछिल्लो समय पाल्पा आएका आगन्तुकको मन जित्न सफल भएको छ पाल्पा दरबार सङ्ग्रहालय ।

अमरनारायण मन्दिर
वि.सं. १९६३ मा पाल्पा राज्यको जिम्मेवारी सम्हालेर आएका काजी अमरसिंह थापाको चाहनामा अमरनारायण मन्दिरको निर्माण भएको थियो । पाल्पा दरबारदेखि पूर्वतर्फ यो मन्दिर रहेको छ । अमरनारायण मन्दिरका काठमा कुँदिएको वास्तुकलाले काठमाडौँ उपत्यकाको मन्दिरको झल्को दिन्छ । मन्दिरमा हातले कुँदेका झ्याल, ढोका, थाममा देवीदेवता, बाघका आकृति हेर्दा अचम्म र आनन्दको अनुभूति हुन्छ । मन्दिरका इँटाका पर्खालमा जोडीका आकृतिले अर्कै आनन्दको अनुभव गराउँछ । पछिल्लो समय मन्दिर जीर्ण भएकाले ऐतिहासिक स्वरूप नबिगार्ने गरी विश्व बैङ्कको सहयोगमा अमरनारायण बगैँचा र मन्दिरमा रङ्गरोगनको काम भइरहेको छ । भाद्र कृष्ण अष्टमीका दिन जाग्राम बस्ने र भोलिपल्ट रोहिणी नक्षत्र जुराएर तानसेन बजारमा रथ यात्रा गर्ने परम्परा रहँदैआएको छ । यसले पनि पाल्पाको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको छ ।

बग्गी छिर्ने मूलढोका
एसियाकै सबैभन्दा पुरानो ढोका हो मूलढोका । एउटै ठूलो काठको ढोका पाल्पाको मात्र नभएर नेपालकै ऐतिहासिक मूलढोका (बग्गी ढोका)का रूपमा समेत परिचित छ । तत्कालीन श्री ३ जङ्गबहादुरका भाइ तथा पाल्पामा तैनाथवाला भई आएका केदार नरसिंहका पिता बद्रीनरसिंहले पाल्पा दरबार क्षेत्रको मुख्य ढोका मुगलशैलीमा बनाएको उल्लेख छ । तानसेनमा आउने जो कोही पर्यटकको ध्यान मूलढोकाले तान्ने गरेको छ । पाल्पा दरबार सङ्ग्रहालयभित्र पस्न र बाहिरिनका लागि उत्तरतर्फ यो ढोका (द्वार)को निर्माण भएको थियो । तत्कालीन पाल्पा राज्य, (जुन भारतको कुमाउँ, गढवाल तथा देहरादून र सिक्किमसम्म फैलिएको थियो) का प्रमुखले बाहिर निस्कन र भित्र पस्न यही ढोकाको प्रयोग गरेको इतिहासमा उल्लेख छ । यो ढोका हाल जीर्ण अवस्था छ । यद्यपि, यसको संरक्षण र मर्मत–सम्भारका लागि भने कुनै निकायले ध्यान दिन सकेका छैन । जीर्ण रहेको मूलढोकाको पुनर्निर्माण र संरक्षण हुनसकेको खण्डमा यसले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने निश्चित छ ।

भगवती मन्दिर
१८७१/०७२ सालताका कर्णेल उजिरसिंह थापाले नेतृत्व गरेको नेपाली सेनाले अङ्ग्रेज सैनिकमाथि विजय प्राप्त ग¥यो । उजिरसिंह थापाले युद्धमा जानुपूर्व देवी भगवतीलाई भाकल गरेअनुसार उनले भगवती मन्दिर स्थापना गरेको र खटयात्रा (रथ)को प्रचलन चलाएको इतिहासमा उल्लेख छ । नेपाली सेनाको नेतृत्व गरेका उजिरसिंहले बुटवल नजिकैको जितगढी किल्लाको रक्षार्थ खटेर अङ्ग्रेज सेनामाथि विजय हासिल गरेका थिए । त्यतिबेला उजिरसिंहले प्रदर्शन गरेको वीरता र रणकौशलको ऐतिहासिक पृष्ठभूमिसहित निर्माण गरिएको रणउजिरेश्वरी भगवती मन्दिरको आफ्नै छुट्टै ऐसिहासिक गाथा छ । खासगरी भगवतीको पूजा गर्न र आफूले चिताएको वर पूरा गर्न भगवतीको दर्शनका लागि आउने मानिस, नेपाल–अङ्ग्रेज युद्धको इतिहासबारे बुझ्न खोज्नेका लागि पनि भगवती मन्दिर उपयुक्त सम्पदा भएको छ । उजिरसिंह थापाले अङ्ग्रेज सेनामाथि गरेको विजयलाई उत्सवको रूपमा सम्झना गर्दै अहिले पनि हरेक वर्ष तानसेन बजारमा भगवतीको रथयात्रा गर्ने प्रचलन कायम छ ।

भैरवस्थान मन्दिर
हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र हो भैरवस्थान । तानसेनदेखि नौ किलोमिटर पश्चिम रिब्दीकोट गाउँपालिकामा भैरवस्थान अवस्थित छ । भैरवस्थान मन्दिरमा रहेको सबैभन्दा ठूलो त्रिशूल कुनै बेला एसियाकै ठूलो भनेर भनिन्थ्यो । प्राकृतिक रूपमा मनोरम स्थानमा रहेको भैरवस्थान मन्दिरको निर्माण पाल्पाका तत्कालीन राजा मुकुन्द सेनले १५८१ सालमा गर्न लगाएको इतिहासमा उल्लेख छ । १६औँ शताब्दीमा निर्माण भएको मन्दिरको पूर्वी मोहोडा, पेगोडा शैलीमा निर्माण भएको पाइन्छ । महाकालका देवता कालभैरवको मूर्ति मन्दिरभित्रको सबैभन्दा तल्लो तलामा राखिएको छ । यसको अवलोकन गर्दा डराएर दुर्घटना हुनसक्ने भन्दै कसैलाई पनि दर्शन गर्न दिने गरिएको छैन । मन्दिरको माथिल्लो तलामा राखिएको मूर्तिको भने यहाँ आउने सबै दर्शनार्थीले अवलोकन गर्न पाउँछन् । यहाँ स्वदेश तथा विदेशका मानिससमेत आउँछन् र भाकल, पूजाआजा गरेर फर्कन्छन् ।

हिन्दु धर्मालम्बीहरू भैरव मन्दिरमा आएर बलि चढाउने र मन्दिरको दर्शन गर्ने प्रचलन छ । यसलाई यस क्षेत्रकै धार्मिक पर्यटकीय गन्तव्य स्थल बनाउनका लागि पहल भइरहेको छ । सङ्घीय, प्रदेश र स्थानीय सरकारले मन्दिर वरपर बगैँचा बनाउने, मन्दिरको ऐतिहासिक बनावट नबिग्रने गरी पुनर्निर्माण गर्ने काम भइरहेको छ । भैरव मन्दिर क्षेत्रमा अहिले विभिन्न पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन् । यस्ता पूर्वाधार निर्माणले धार्मिक रूपमा मन्दिरको दर्शन गर्न आएका पर्यटकको बसाइ लम्ब्याउन र जिल्लाको पर्यटन विकासमा महत्वपूर्ण भूमिका रहने विश्वास गर्न सकिन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?