वसन्त महर्जन
विश्वभरका बौद्ध स्मारकहरूमा गौतम बुद्धको जीवनसँग सम्बन्धित स्मारकलाई विशेष महत्त्वको मानिन्छ । ऐतिहासिक तथा पुरातात्विक दृष्टिबाट पनि यी महत्वपूर्ण नै हुन्छन् । बौद्धहरू बुद्धको जन्म, ज्ञानप्राप्ति, पहिलोपल्ट धर्म उपदेश र महापरिनिर्वाण गरी चार घटनालाई विशेषमहत्त्वका साथ लिन्छन् र यी घटनाहरू भएको ठाउँलाई चारधाम भनी अत्यन्त श्रद्धासहित भ्रमण गर्दछन् । यी चार स्थलसहित बुद्ध जीवनसँग सम्बन्धित अन्य चार स्थललाई पनि समावेश गरी समुच्चरूपमा अष्टमहास्थान भनी सम्बोधन गर्ने गरेको पाइन्छ । यी स्थलहरूमा वर्तमान नेपाल भूमिमा रहेको लुम्बिनी (जन्मस्थल) बाहेक अरू विभिन्न भारतीय भूमिमा छन् ।
आफ्नो अध्ययन–अनुसन्धानका क्रममा यो पङ्क्तिकार अष्टमहास्थानबाहेक अन्य ठाउँहरू पुगिरहनु स्वाभाविक हो । धेरैले सोध्ने एउटा प्रश्न हो, बुद्धको जीवनसँग सम्बन्धित बौद्ध स्थलहरूमा सबैभन्दा राम्रो र व्यवस्थित ठाउँ कुन हो ? नेपालमा लुम्बिनीको विकासमा सम्बन्धित निकायले ध्यान नै नदिएको भन्दै नकारात्मक टिप्पणी गरियोस् भन्ने आशयले यस्ता प्रश्न गर्ने गरेको बुझ्नन कठिन छैन तर उनीहरूको अपेक्षाविपरीत म यसरी जवाफ दिने गर्दछु, बुद्धको जीवनसँग सम्बन्धित ठाउँहरू सबैभन्दा राम्रो, व्यवस्थित, भव्य र सभ्य स्थलको रूपमा विकास भएको नै लुम्बिनी हो ।
आफ्नो देशको गौरव र त्यसको प्रशंसा गर्नु स्वाभाविक पनि हुन आउँछ । यहीक्रममा भावुक हुँदै लुम्बिनीलाई अतिशयोक्तिपूर्ण शब्दद्वारा प्रस्तुत गरेको कसैलाई लाग्छ भने त्यो गलत हो । वस्तुनिष्ठ भएर नेपाल र भारतका बौद्ध स्थलहरूको तुलनात्मक अध्ययन गर्दा पनि लुम्बिनीको तस्बिर यही रूपमा प्रकाश हुन्छ ।
गौतम बुद्ध र लुम्बिनी
बौद्धधर्म र दर्शनलाई सहज रूपमा सर्वसाधारणलाई समेत उपलब्ध गराउने एक ऐतिहासिक व्यक्ति हुन् गौतम बुद्ध । इ.पू. ५६३ मा उनको जन्म लुम्बिनी नामको एक उपवनमा शालवृक्षको रुखमुनि भएको थियो । तत्कालीन राजनीतिक परिदृश्यमा राज्यका रूपमा विभिन्न सोह्र वटा महाजनपद र पचासभन्दा बढी जनपदहरूको अस्तित्व थियो । अनेकौँ जनपदमा एउटा शाक्य जनपद थियो र त्यसको राजधानी कपिलवस्तुमा थियो । बुद्धको जन्मस्थल लुम्बिनी यही शाक्य जनपदअन्तर्गत कपिलवस्तुभन्दा करिब ३० किलोमिटर पूर्वमा पर्दछ । अनेक दृष्टिले यो स्थलको महत्त्वबोध गरेर संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । यही गौरवबाट गौरवान्वित हुँदै प्रदेशको नाम नै लुम्बिनी राखिएको छ ।
बुद्ध जीवनीलाई प्रकाश पार्ने बौद्ध वाङ्मयमा एक प्रमुख ग्रन्थको नाम हो, ललितविस्तर । यस ग्रन्थअनुसार गर्भवती मायादेवीलाई लुम्बिनी वनमा विहार गर्ने इच्छा जागृत भएछ र त्यसका लागि उचित बन्दोबस्त गरेर लुम्बिनीका लागि प्रस्थान गरिएछ । लुम्बिनी शाक्यगण राज्य र छिमेकी कोलीय गणराज्यको बीचमा पर्दछ । मायादेवीको माइती कोलीय गणराज्यको राजधानी देवदहमा थियो । दुवै गणराज्यका घरानियाँहरू लुम्बिनी वनको विहार गरेर आनन्दित हुने भएका कारण मायादेवीलाई यस बेला लुम्बिनीमा जाने इच्छा जाग्नु नौलो कुरा थिएन । पहिलो सन्तान पाउनका लागि माइत जाने चलन भएको र त्यसैका लागि जाँदै गर्दा लुम्बिनीमा प्रसव पीडा भएको भन्ने कथन पनि पाइन्छ । तर यो कथनको पुष्टि प्राचीन बौद्ध वाङ्मयबाट हुँदैन ।
ललितविस्तर ग्रन्थ सुरुमा अन्य सम्प्रदायसँग सम्बन्धित भए पनि पछि महायानी बौद्ध सम्प्रदायको ग्रन्थ बन्न पुग्यो । यस ग्रन्थमा मायादेवी सीधै लुम्बिनीलाई गन्तव्य बनाए कपिलवस्तुबाट हिँडेको वर्णन पाइन्छ । यसदेखि बाहेक पालि वाङ्मयमा रहेका त्रिपिटक ग्रन्थहरूमा बुद्धको जन्मस्थल भनेर लुम्बिनीको नाम पटक–पटक उल्लेख भएको पाइन्छ तर माइत जाँदा बाटोमै सुत्केरी भएको भन्ने उल्लेख कहीँकतै पाइँदैन । यसको अर्थ माइत जान हिँडेको भन्ने कुरा पछि थपिएको मात्रै पनि हुनसक्छ । तत्कालीन समयमा पहिलो सन्तान जन्माउन माइत जानैपर्छ भन्ने अनिवार्य नभएको कुराको पुष्टि यशोधरा (गृहस्थ जीवनमा गौतम बुद्धकी पत्नी) ले छोरा राहुल माइतमा नभएर कपिलवस्तुमा नै जन्माएबाट थाहा हुन्छ ।
पैँतीस वर्षको उमेरमा इ.पू. ५२८ मा बुद्धत्व लाभ गरेको दुई वर्षपछि गौतम बुद्ध आफ्नो गृहनगर कपिलवस्तु फर्केका थिए । उनका अनुयायीहरू कपिलवस्तुमा मात्रै नभएर देवदह (कोलीय गणराज्यको राजधानी) मा पनि प्रशस्तै थिए । यही भएर कपिलवस्तु तथा देवदहमा बुद्ध बरोबर पुगिरहन्थे । यस क्रममा बुद्ध आफ्नो जन्मस्थल लुम्बिनी पुग्नु स्वाभाविक हो । बुद्धको महापरिनिर्वाण इ.पू. ४८३ मा कुशीनगरमा भएको थियो । अन्तिम क्षणमा बुद्धले आफ्नो निजी सचिव एवं नाताले भाइ भिक्षु आनन्दको प्रश्नमा तथागत (बुद्धले आफ्नोलागि सम्बोधन गर्न प्रयोग गर्ने विशेष शब्द) को जीवनसँग सम्बन्धित चार महत्त्वपूर्ण स्थलहरू संवेदनीय हुने र यी स्थलमा भ्रमण गरी ध्यान भावना गर्दा धर्म लाभ हुने कुरा भनेका थिए । यही भएर त्यस उप्रान्त बौद्ध उपासक–उपासिकाहरू लुम्बिनी पनि पुग्न थालेका हुन् ।
बुद्धको जन्म यही ठाउँमा भएको हो भनेर जनाउ दिनका लागि सुरुमा एउटा ढुङ्गा कतैबाट ल्याएर राखियो । पछि त्यही ढुङ्गा पनि श्रद्धाको विषय बन्यो । मौर्य सम्राट् अशोक इ.पू. २४९ मा यहाँ आएर उक्त ढुङ्गाको सुरक्षा गर्न चारैतिर इँटाको पर्खाल लगाए । बुद्ध जन्मेको बेलामा लुम्बिनी एउटा सुन्दर उद्यान मात्र थियो भने अशोक आउँदासम्ममा एउटा सानो गाउँ नै बसिसकेको थियो । लुम्बिनी परिसरमा रहेका ठूला–साना स्तूप, विहार तथा इनारलगायतका निर्माण संरचनाहरू मौर्य, शुङ्ग, कुषाण तथा गुप्तकालीन हुन् । त्यसपछि पनि लुम्बिनीमा अनेकौँ गतिविधि भइरहेका पाइन्छन् ।
तर पछि क्रमशः लुम्बिनी ओझेलमा पर्दै गयो र अन्ततः उक्त लुम्बिनी भन्ने ठाउँ कहाँ हो भन्ने कुरा नै बिर्सन पुग्यो । यस्तो अवस्थामा लुम्बिनीको खोजी अनेक ठाउँमा हुनथाल्यो । सन् १८९६ मा लुम्बिनी खोज्दै हिँडेका जर्मन पुरातत्वविद् ए. फुहररलाई अभिलेख प्रमाणसहित लुम्बिनी प्राप्त भएपछि लुम्बिनीतर्फ विश्वको ध्यान आकर्षित भयो । त्यसउप्रान्त लुम्बिनीमा अनेकौँ दृष्टिले अध्ययन, अनुसन्धान, उत्खनन तथा संरक्षण कार्य हुँदै आइरहेका छन् ।
लुम्बिनी विकास गुरुयोजना
लुम्बिनी भनेर आजभोलि जो कसैको मानसपटलमा जुनखालका परिदृश्य नाच्छन्, केही दशक अघिसम्म त्यस्तो कुनै पनि दृश्य लुम्बिनीमा बिल्कुलै पाइँदैनथ्यो । लुम्बिनीसम्म पुग्ने बाटोकै अभाव थियो । लुम्बिनी जानका लागि नेपालीहरू नै पहिला भारत जानुपर्दथ्यो र भारतको बाटो भएर बल्ल लुम्बिनी पुग्नुपर्दथ्यो । लुम्बिनी पुग्नेलाई बास बस्नकै समस्या हुन्थ्यो । तिर्खाएको बेला पिउने पानीको अभाव हुन्थ्यो । यस्तो स्थितिमा सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्त काठमाडौँबाट हेलिकप्टर चढेर लुम्बिनी पुगेका थिए । लुम्बिनी भनेर मनमा एउटा दृश्य बोकेर आएका महासचिवलाई त्यहाँको उजाड र उराठलाग्दो वस्तुस्थितिले मर्माहत बनायो । लुम्बिनीको दुर्दशा देखेर द्रवीभूत हुँदै आँखाबाट आँसु झारेको दृश्य देख्नेहरू यस सन्दर्भमा सम्झना सुनाउँछन् ।
महासचिव फर्केर तत्कालीन राजा महेन्द्रलाई भेटी लुम्बिनीको विकासमा ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । उनकै पहलमा संयुक्त राष्ट्रसङ्घ अन्तर्गत ‘अन्तर्राष्ट्रिय लुम्बिनी समिति’ गठन भयो । सो समिति हाल सक्रिय नभए पनि विघटन पनि भएको छैन । यसलाई सक्रिय पार्नु आवश्यक छ । लुम्बिनीको विकासका लागि गुरुयोजना बनाउने जिम्मा प्रो. केन्जो टाङ्गेले पाए । उनले तयार पारेको गुरुयोजना सन् १९७८ मा पारित भयो । अहिले लुम्बिनीको जुन स्वरूप तयार हुँदैछ, त्यो उनकै परिकल्पना हो । लुम्बिनी क्षेत्रले तीन वर्गमाइल क्षेत्रफल उत्तर–दक्षिण ओगटेको छ । सम्पूर्ण क्षेत्रफललाई तीन भागमा बाँडी प्रत्येक एक वर्ग माइलको भूमिमा बेग्लाबेग्लै विशेषता दिन खोजिएको छ ।
जसअनुसार सबैभन्दा उत्तरको भागलाई (१) नयाँ लुम्बिनी ग्राम, (२) विहार क्षेत्र र (३) पवित्र उद्यान क्षेत्रका रूपमा छुट्याइएको छ । यो संरचना आफैँमा बौद्ध दर्शन प्रतीत हुन्छ । प्रो. टाङ्गे बौद्ध परिवारमा हुर्केका वास्तुविद् हुन् भने उनको यो गुरुयोजना हेर्दा पनि बौद्ध दर्शनको गहिरो अध्ययन भएको र श्रद्धा पनि उत्तिकै भएको बुझिन्छ । लुम्बिनीका लागि आउने तीर्थयात्री तथा पर्यटकहरू सर्वप्रथम नयाँ लुम्बिनी ग्राममा बस्ने हुन्छन् । ग्राम भने पनि यो सुविधासम्पन्न सहर हो । गृहस्थहरू सांसारिक हुन्छन् र नयाँ लुम्बिनी गाउँ पनि सांसारिक नै बनाइन्छ । यहाँ होटेल, लज, रेस्टुरेन्ट तथा अन्य सुविधा उपलब्ध गराइन्छ । यसलाई प्रो. टाङ्गेले सहर भनेका भए पनि हुन्थ्यो तर गाउँ भन्नुको तात्पर्य बढीभन्दा बढी प्राकृतिक र सरल एवं सहज जीवनशैलीको क्षेत्र बनाउन खोजेको बुझ्न सकिन्छ । यहाँ बसेका तीर्थयात्री तथा पर्यटकहरू बुद्ध जन्मस्थल लुम्बिनी पुग्नका लागि सिधै दक्षिण लाग्नुपर्दछ । तर बीचमा अर्को वर्गाकारको ‘विहार क्षेत्र’ छ ।
झट्ट हेर्दा बीच बाटोबाट दक्षिणतर्फ लम्किरहेको नहरजस्तो देखिए पनि एउटा लामो पोखरी बनाइएको छ । हिँड्न नसक्नेहरूका लागि नौका विहार गरी बुद्ध जन्मस्थलसम्म पुग्न सकिन्छ । पोखरीको दायाँबायाँ फराकिलो बाटो छ । यसरी नै बाटोपछि ठूलठूला रुख रोपिएका छन् र त्यसपछिका दृश्य छोपिएका छन् । वास्तवमा यसको दायाँबायाँ विहारहरू निर्माण गरिएका छन् । पूर्वी दिशामा हीनयानी र पश्चिमतर्फ महायानी बौद्ध सम्प्रदायका विहार छन् । यी विहारहरू नेपाल, भारत, चीन, श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, भियतनाम, जर्मनीलगायतका दर्जनौँ देशले आ–आफ्नै वास्तुशैलीमा बनाएका छन् । एउटै विहारको अवलोकन गरेर पनि केही हदसम्म त्यस देशको बौद्ध कला, संस्कृति तथा इतिहास बुझ्न सघाउने हुन्छ । विहार भनेको शिक्षाकेन्द्र पनि हो र ज्ञानगुनका कुरा यहाँ सिकेर तथा ध्यान–साधना गरेर चित्तशुद्धि गर्न सकिन्छ । बौद्ध धर्म–दर्शनमा चित्तशुद्धिलाई प्रमुख रूपमा लिने गरिन्छ । यसैले चित्तशुद्धि गर्ने ठाउँ भएर बुद्ध जन्मस्थलमा पुगिन्छ ।
आफ्नो जीवनसँग सम्बन्धित चार ठाउँहरू संवेदनीय हुन्छन् भन्नुको अर्थ यहाँ एक खालको तरङ्ग आउने र ध्यान–साधना गर्दा मनचित्त चाँडै लाग्ने भनेको बुझ्नुपर्दछ । तर बौद्धदर्शनको ज्ञानको कमीका कारण आजभोलि यहाँ पुग्नेहरू यताउता घुम्ने, फोटो खिच्ने तथा होहल्ला गर्ने गर्दछन् । वास्तवमा यहाँ आर्यमौन धारण गर्नुका साथै विस्तारै पाइला चालेर हिँड्नुपर्ने हो । बुद्ध ध्यान र साधनामा जोड दिन्थे । अर्थात् ध्यान कसरी गर्ने भन्ने कुरा पहिल्यै सिकेर यहाँ पुग्ने र केही समय छुट्याएर ध्यानमा बस्ने गरेको भए लुम्बिनी पुग्नुको सार्थकता हुन्थ्यो । यस्तो तयारी नहुँदा यहाँ पुग्नेहरू तुरुन्तै फर्कने गरेको पाइन्छ । बुद्ध जन्मस्थलको सङ्केत गर्ने शिला र त्यस वरिपरि भेटिएका पुरातात्विक संरचनाहरूलाई छोपेर बनाइएको वास्तु बाहिरबाट झट्ट हेर्दा कुनै भवनजस्तो देखिन्छ । भित्र प्रवेश गरेपछि भने पुरातात्विक उत्खननबाट प्राप्त सबै कुरा खुला प्रदर्शनीमा राखिएका छन् । यसैलाई ‘मायादेवी मन्दिर’ नाम दिइएको हो । वास्तवमा बौद्ध इतिहास वा लुम्बिनीको सन्दर्भमा ‘मायादेवी मन्दिर’ सान्दर्भिक कुरा होइन । मन्दिर शब्दले पूजापाठ वा त्यस्तो कुनै क्रियाकलाप हुने स्थल भनेर अर्थबोध गर्दछ तर यहाँ त्यस्तो केही चल्दैन । मायादेवी मन्दिर भन्न थालेको पनि लुम्बिनी भेटिएको निकै वर्षपछि मात्रै हो । यस भवनभित्र ध्यान गरेर बस्नेहरू पनि देख्न पाइन्छ ।
गुरुयोजनाले मूर्तरूप लिँदै
लुम्बिनीको विकास निर्माणका सम्बन्धमा प्रायः सुनिने टिप्पणी हो– यहाँ केही भइरहेको छैन । तर त्यस्तो होइन । गुरुयोजना अनुसारको निर्माणकार्य उहिल्यै सकिनुपर्दथ्यो । सुरुमा काम कुरा तीव्रताका साथ अगाडि बढेको भए पनि पछि सुस्त हुनआयो । त्यही बेला गरिने टिप्पणीलाई नै आजभोलि शब्दशः पुनरुक्ति गरिरहेको मात्रै भनेर बुझ्न सकिन्छ । केही वर्षयता यहाँ विकास गुरुयोजना अनुरूपको कामले तीव्रता लिएको देख्न पाइन्छ र बाँकी थोरै काम पनि सम्पन्न हुने तरखरमा पुगिसकेको छ । लुम्बिनीमा गुरुयोजना अनुरूप विभिन्न संरचना बनाएपछि कार्य सम्पन्न हुने र त्यसपछि केही गर्नु नपर्ने भन्ने होइन । अर्थात् यो जीवन्त संरचना हो र यसलाई दिगोपना दिनका लागि श्वास–प्रश्वासजस्तै मर्मतसम्भार तथा संरक्षणलगायतका काम गरिरहनुपर्दछ ।
विश्वको नासो
गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपाल भूमिमा पर्नु र विश्व सम्पदा सूचीमा सूचीकृत हुनु गौरवको कुरा हो । यसलाई नेपालको मात्रै सम्पदा मान्नु मनासिव हुँदैन । गौतम बुद्ध नेपालमा जन्मेका अवश्य हुन् तर उनी विश्वकै सम्पत्ति हुन् । यस अर्थमा लुम्बिनी नेपालले नासोका रूपमा पाएको र उक्त नासोलाई सुरक्षितसाथ राख्नु नेपालको कर्तव्य हो । यो कर्तव्य निर्वाह गर्नु नेपालले आफ्नो पहिचान बनाउनु पनि हो । विश्वको डबलीमा वर्तमानमा नेपालले न आर्थिक शक्ति देखाउन सकेको छ, न सैन्य वा राजनीतिक शक्ति नै । यी कुराहरूलाई ‘हार्डपावर’ भनिन्छ तर ‘सफ्ट पावर’का रूपमा नेपालले देखाउन सक्ने केही कुरामध्ये एउटा लुम्बिनी पनि हो । लुम्बिनीलाई नेपालले यस रूपमा बुझ्दा राम्रो हुन्छ । नेपालले लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक तथा दार्शनिक महत्तालाई ‘सफ्ट पावर’का रूपमा प्रस्तुत गरेर विश्वकै मन जित्ने अवसर पाएको छ । बुद्धको जीवनसँग सम्बन्धित स्थलहरूमध्ये भव्य र सभ्य पनि यही लुम्बिनी हुनु सानो गौरवको कुरा होइन ।